पुलसँगै विद्युत पुगेपछि सुस्तावासीले गरे नारायणीमा पूजा
परासी : नवलपरासीको सुस्ताबस्तीमा झोलुङ्ग पुल र विद्युत पुगेको खुसियालीमा स्थानीयले नारायणी नदीमा पूजाआजा गरेका छन्। पुल नहुँदा स्थानीयहरू आफ्नै देशमा आउन वर्षायाममा भारतीय भूमि भएर आउजाउ गर्नुपर्थ्यो भने हिउँदमा जोखिमपूर्ण डुंगाको यात्रा गर्नुपर्ने बाध्यता थियो।
सोलारबाट बिजुली लगिए पनि भरपर्दो नहुँदा नियमित विद्युत उपभोगबाट सुस्तावासी बञ्चित थिए। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले पुलसँगै राष्ट्रिय प्रसारण लाइनको उद्घाटन गरेपछि स्थानीयहरूले खुसियालीमा नारायणी नदीको पूजा गरेका हुन्।
उद्घाटन गरेर राष्ट्रपति फर्के लगत्तै हातमा दियोसहित पूजा सामग्री लिएर पुगेका स्थानीय महिलाहरूले पुलमुनि बसेर नारायणी नदीको पूजाआजा गर्न सुरु गरेका थिए। वर्षौदेखिको हाम्रो चाहना बल्ल पूरा भएको छ त्यसैले गंगा (नारायणी)माताको पूजा गरेका हौं’, स्थानीय माधुरी भरले भनिन्।
नदीमाथि बनाइएको पुल र पुल हुँदै पुर्याइएको बिजुलीका कारण दुर्घटना नहोस् र सुस्ताबासीको भलोको कामना गर्दै गंगा मातासँग प्राथना गर्न पूजा गर्न आएको अर्की स्थानीय गीता जयसवालले बताइन्। नवलपरासीको सुस्ता गाउँपालिका–५ सुस्तावासीलाई आफ्नै देशमा आउन पनि भारतीय भूमि भएर आउनुपर्ने बाध्यता भएपछि नारायणी नदीमाथि १ हजार ५७१ मिटर लामो पुल निर्माण गरिएको छ। सोही पुलमार्फत पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना हुने गरी ११ केभी लाइनको राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्याइएको छ।