हेटौंडा : अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३, सिस्नेरीमा ३० घर बगाएको छ । बाढीले प्रहरी चौकीसहित ३० घर बगाएको इलाका प्रहरी कार्यालय सिस्नेरीले जनाएको छ ।
त्यस्तै, इन्द्रसरोवर गाउँपालिका–२, खानीखेतस्थित २८ घर डुबानमा परेका छन् । बिहीबारबाट परेको अविरल वर्षाका कारण कुलेखानी जलाशय शनिबार बिहान भरिएको थियो । ड्यामको बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका दुई वटा ढोका खोल्नु परेको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिएका छन् ।
डुबान र बाढीमा परेर मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, स्थानीयहरुलाई सुरक्षित स्थानमा राखिएको छ ।
सिस्नेरीको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको प्रहरीले जनाएको छ । उनीहरुको उद्धार तथा खोजी कार्य भइरहेको समेत प्रहरीको भनाई छ।