पाठ्यपुस्तकमा महिला स्रष्टा

साहित्य

पाठ्यपुस्तकमा महिला स्रष्टा

विद्यालय पाठ्यपुस्तक कक्षा १ देखि १२ मा माथि उल्लिखत १० महिला साहित्यकारका रचना समावेश छन्।

नेपाल सरकार, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रले पनि दशकौंदेखि पाठ्यपुस्तकमा नेपाली विषयअन्तर्गत विभिन्न स्रष्टाका रचना समावेश गर्दै आएको छ। केन्द्रले प्रकाशन गरेको कक्षा १ देखि १२ सम्मका अनिवार्य नेपाली विषयका पाठ्यपुस्तकमा विभिन्न कालखण्डमा विविध प्रकारका साहित्यिक रचना समावेश गर्दै आएको छ। साहित्यका विभिन्न विधा कथा, कविता, नाटक, निबन्ध आदिलाई पाठ्यक्रममा समावेश गरेको पाइन्छ। लेखमा कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तकमा समेटिएका महिला स्रष्टाका साहित्यिक रचनाबारे चर्चा गरिएको छ।

कक्षागत रूपमा विश्लेषण गर्दा कक्षा १ देखि ३ सम्म कुनै पनि महिला साहित्यकारका रचना समावेश भएका छैनन्। कक्षा २ र ३ मा २/२ वटा गरी जम्मा चारजना स्रष्टाका कविता समावेश भएका छन्। कक्षा ४ मा ७ वटा साहित्यिक रचनामा कथाकार सुषमा आचार्यको कथा ‘सुनको मूर्ति’ र नीलम कार्की निहारिकाको कथा ‘साथी’ समावेश छ। कक्षा ५ मा विभिन्न १० वटा समाविष्ट साहित्यिक रचनामा नारी स्रष्टाका रूपमा टीका आत्रेयको कविता ‘अन्नदाता’ छ भने कक्षा ६ मा ८ वटा साहित्यिक रचनामा नारी स्रष्टाका रूपमा माया ठकुरीको कथा ‘मायाको घर’ समेटिएको छ।

कक्षा ७ मा विभिन्न ८ वटा साहित्यिक रचनामा एकमात्र नारीस्रष्टाको रचना छ। जसमा झमक घिमिरेको संस्मरण निबन्ध ‘सिर्जनाका कोपिला’ छ भने कक्षा ८ मा ८ वटा साहित्यिक रचनामा एउटा पनि नारी स्रष्टाको रचना समावेश छैन। विभिन्न विधाका ८ वटा साहित्यिक रचना समावेश भएको कक्षा ९ मा पद्मावती सिंहको कथा ‘समय पीडा’ र देवकुमारी थापाको कथा ‘भविष्य निर्माण’ समाविष्ट छ।

कक्षा १० मा नारी स्रष्टाका रूपमा कथाकार बिना थिङको कथा ‘आयाम’ छ जबकि कक्षा १० मा ९ वटा साहित्यिक रचना छन्। यसैगरी, कक्षा ११ मा ६ वटा साहित्यिक रचनामा डा. सुधा त्रिपाठीको निबन्ध ‘संस्कृतिको नयाँ यात्रा’ र कक्षा १२ मा पनि ७ वटा साहित्यिक रचना समावेश भएकोमा भागीरथी श्रेष्ठको ‘मातृत्व’ कथामात्र समावेश छ।

महिला तथा अल्पसंख्यक समावेशिता : पछिल्लो समयमा पाठ्यक्रमलाई समावेशी बनाउने चर्चा पनि उठ्यो तर त्यो चर्चामै सीमित बन्न पुग्यो। पाठ्यक्रमलाई समावेशीकरण बनाउने काम २०४६ सालपछि मात्र थालनी भएको हो तर २०६२/२०६३ पछि केही सुधार गर्ने जमर्को गरियो जुन नाममात्रको सुधार रह्यो। अझै पनि पाठ्यक्रम पर्याप्तमात्रामा भौगौलिक, क्षेत्रगत, लैंगिक आदि रूपमा समावेशी हुन सकेको छैन।

महिला लेखिकालाई पाठ्यक्रममा समेट्न नसकिएको तथ्य कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तकमा महिला साहित्यकारका रचना ज्यादै न्यून मात्रामा समावेश भएबाट पनि प्रस्ट हुन्छ। पाठ्यक्रममा समाविष्ट साहित्यिक रचनाबारे विज्ञहरूको मत एक छैन। आफन्त लेखकका रचनालाई समावेश गर्दा पाठ्यक्रमको गुणस्तरीयतामा ह्रास आएको डा. कुमारबहादुर कोइरालाको धारणा छ (मधुपर्क, २०६९ जेठ)।

मानक साहित्य रचनामा स्थापित स्पष्ट प्रवृत्ति भएका स्रष्टाका रचना पाठ्यक्रममा समावेश हुनुपर्नेमा कोइरालाको जोड छ। महिला स्रष्टा बढेको देखिए पनि सो अनुपातमा पाठ्यपुस्तकमा स्थान नमिलेको उनको बुझाइ छ। समावेशी भन्दैमा कम स्तरीय र चिन्तन नभएकालाई समेट्न नहुने तर्क उनी गर्छन्। डा. लक्ष्मण गौतम पछिल्लो समय उचाइ नभएका व्यक्ति वा नजिकका व्यक्तिको रचना पाठ्यक्रममा समावेश हुनुलाई लाजमर्दो ठान्छन्। महिला स्रष्टालाई कमै स्थान दिइएकोमा अब बन्ने पाठ्यक्रममा अरू राम्रा, स्थापित स्रष्टालाई समेट्नुपर्ने सुझाव भाषाविद् डा. माधव पोखरेलको छ।

समावेश महिला स्रष्टा : हाल विद्यालय पाठ्यपुस्तक कक्षा १ देखि १२ मा माथि उल्लिखत १० महिला साहित्यकारका रचना समावेश छन्। जबकि कक्षा १ देखि १२ सम्म ७५ जना साहित्यकारका लेखरचना समावेश छन्। महिला समावेशी र आरक्षणका जे जति नारा फुके पनि वास्तवमा पाठ्यपुस्तक लेखन तथा सम्पादन मण्डलको ध्यान त्यसतिर गएको देखिन्न।

अन्त्यमा, अझै पनि अल्पसंख्यक स्रष्टाका रचनाले पाठ्यपुस्तकमा उचित स्थान पाउन सकेका छैनन्। यसलाई कसरी लिने ? महिला अल्पसंख्यक साहित्यकारका रचना समावेश नहुनुमा अभाव हो वा अन्य कुन कारण हो। समावेशिता, आरक्षण वा राजनीतिक वादका आधारमा मात्र रचना छनोट हुने हो वा स्तरीयता र विषयवस्तुका आधारमा छनोट हुने हो ? सम्बन्धित निकायले त्यसमा गम्भीर भएर ध्यान दिनु आवश्यक छ।

आगामी दिनमा लेखन तथा सम्पादन मण्डल र नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ। अझ अल्पसंख्यक स्रष्टाका रचनालाई पर्याप्तमात्रामा समेट्न सकेको छैन। पाठ्यपुस्तकका लेखक तथा सम्पादकहरूले ती पाठ्यपुस्तकमा समावेशितालाई पूर्णरूपमा स्वीकार नगरे लोकतन्त्र शब्दमै सीमित हुने देखिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.