इतिहास खोतल्दै, आयाम थप्दै

इतिहास खोतल्दै, आयाम थप्दै

कृतिले इतिहास, संस्कृति र पुरातात्तिवक क्षेत्रमा उल्लेखनीय योगदान गरेको अनुभूत गर्न सकिन्छ।

ज्ञान सम्पदा साधनाबाट मात्र सम्भव छ। बिनासाधना कुनै पनि क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सम्भव हुन्न। सिर्जना कर्ममा पनि त्यही नियम लागू हुन्छ। चाहे त्यो कला सिर्जनाको विषय होस्, साहित्य सिर्जनाको क्षेत्र होस् अथवा अनुसन्धानकै विषय होस्। कला, साहित्य सिर्जनामा कल्पना, भावना, विचार प्रधान रूपमा रहेका हुन्छन् भने अनुसन्धानमा यस्ता भावात्मक विषय गौण हुन्छन्। त्यहाँ तथ्य र प्रमाण बोल्छन्। इतिहासका गहिरा खाडल खोतल्छन् अनि संस्कृतिको विशाल आकाशमा पहिचानको सुनौलो खाता खोल्छन्। नेपाली इतिहास, संस्कृति, पुरातत्त्वका क्षेत्रमा एउटा आयाम थपेर अन्तरंगका तरंगहरू आलोकित भएको छ। यसका लेखक प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ हुन्।

इतिहास, संस्कृति आदिका विषयमा कोठाभित्र विभिन्न पुस्तक पढेर लेख्ने थुप्रै लेखकसँग परिचित छु। तर सम्बन्धित पुस्तक पढ्दै, स्थलगत भ्रमण गर्दै, प्राप्त प्रमाणहरूको गहिरो अध्ययन गर्दै लेख्ने लेखक थोरै छन्। थोरै यस्तै लेखकमध्ये एक हुन् उनी। ‘अन्तरंगका तरंग’ उनको परि श्रमको प्रतिबिम्ब हो। जुन पुस्तकमा १०१ सांस्कृतिक एवं ऐतिहासिक निबन्ध छन्। अनन्तलिंगेश्वरका सम्पदाबाट प्रारम्भ भएर स्वन्ति (तिहार) मा गएर पुस्तक टुंगिएको छ। जसभित्र प्रमाणिक इतिहासका कुरा छन्। अभिलेखहरूलाई महत्त्वका साथ पुस्तकमा स्थान दिएका छन्।

पुस्तकका अभिलेखहरूले तत्कालीन नेपाली समाजको अवस्था र व्यवस्थाबारे बोलेको छ। भाज्यापुखुको प्राचीनता, नेपाल मण्डलको प्राचीनता, झौखेलमा फेला परेका लिच्छविकालीन अभिलेख, भक्तपुर तलेजु भवानीको अहिलेसम्म प्रकाशनमा नआएका तीन अभिलेख आदि लेखलाई उदाहरणका रूपमा लिन सकिन्छ। जसले इतिहासको मर्मलाई शिखरमा पुर्‍याएको देखिन्छ। पुस्तकको अर्को सबल पक्ष भनेको जात्रापर्वहरू हुन्। संस्कृति भनेको जीवन निर्वाह गर्ने पद्धति हो। मानव समाजले जीवन निर्वाहका क्रममा जे जति प्रक्रिया अपनाएका छन्, ती सबै संस्कृति हुन्। फरक यति हो कि हामीले कस्तो प्रकारको जीवन पद्धति अपनाएका छौं ? यो देखाउने काम चाडपर्वले गर्छन्।

अन्तरंगका तरंगहरूभित्रका सांस्कृतिक निबन्धतिर विचरण गर्दा त्यहाँ चाडपर्व मनाउने प्रक्रियामात्र बताइएको छैन, ती चाडपर्व मनाइनुको वैज्ञानिक कारणसमेत बताइएको छ। मूर्त सांस्कृतिक सम्पदा ढल्यो भने त्यसलाई फेरि खडा गर्न सकिन्छ, उठाउन सकिन्छ, पुनर्निर्माण गर्न सकिन्छ। तर हाम्रा चाडपर्व नासिए भने त्यसलाई पुनः सञ्चालन गर्न निकै कठिन हुन्छ भन्ने भाव पनि पुस्तकमा व्यक्तिएको देखिन्छ। हाम्रा सांस्कृतिक सम्पदा, तिनको ऐतिहासिक पृष्ठभूमि र पुराताŒिवक महत्त्वलाई उजागर गर्ने खालका निबन्ध उनका छन्। केही निबन्ध व्यक्ति विशेषमा लेखिएका छन्। धनबज्र बज्राचार्य मेरा गुरु, बन्धुदत्त को हुन् ? आदि।

यस बृहत् पुस्तकका निबन्धहरूमा विषयवस्तुलाई फरक अनि गहिरो दृष्टिकोणका साथ प्रस्तुत गरेको देखिन्छ। पुरातन विचारमा पनि नवीन दृष्टिकोण आवश्यक हुन्छ भन्ने कुरामा लेखक सजग रहेको दृष्टिगोचर हुन्छ। कसैले पुराना कुरालाई विचारै नगरी सहजताका साथ ग्रहण गर्छ भने कसैले त्यसलाई विविध दृष्टिकोणबाट हेर्ने प्रयास गर्छन्। पुस्तकमा व्यावहारिक र वैज्ञनिक दृष्टि रहेको आभास मिल्छ। लेखनमा लेखकको नवीन विचार, दृष्टिकोण पुस्तक पढ्दै जाँदा थुप्रै ठाउँमा अनुभूत गर्न सकिन्छ। भाषा र शैली लेखनको सौन्दर्य हो। भाषा र शैलीमा पाठकलाई आकर्षित गर्ने खुबी हुन्छ।

लेखनमा जतिसुकै खँदिला कुरा भए पनि, तथ्य र प्रमाणहरू रहे पनि लेखकलाई जीवन्त बनाउने र पाठकमाझ लोकप्रिय बनाइराख्ने काम भने लेखकको भाषा र उसले व्यक्त गर्ने शैलीमा भरपर्छ। कहिलेकाहीँ लेखकले भन्न खोजेको कुराको अर्थ अर्कै लाग्छ। भाषा र शैलीकै माध्यमबाट विषयवस्तुलाई गहन बनाउन सकिन्छ, मीठो बनाउन सकिन्छ, पाठकलाई तानिरहन सकिन्छ। अझ अनुसन्धानात्मक आलेखलाई ओजपूर्ण भाषाशैलीले सजाउन सके सुनमा सुगन्ध थपिएजस्तै हुन्छ। यो पुस्तकको सबल पक्ष भनेको ओजपूर्ण भाषाशैली हो। भाषाशैली सरल, स्पष्ट र रोचक देखिनु पुस्तकको विशेषता हो।

झट्ट हेर्दा पुस्तकको शीर्षक कुनै साहित्यिक कृतिको जस्तै लाग्छ, अन्तरंगका तरंगहरू। तर पुस्तकमा उल्लेख भएका विषयवस्तुको चिरफर गर्ने, त्यसभित्रको मूलभाव पक्रेर पस्कने काम लेखकले गरेका छन्। मूलभावमा मनसँग तर्कवितर्क गरेका छन्। अनि त्यसको निचोड निकालेका छन्। त्यसैले शीर्षक सार्थक देखिन्छ। कृतिले नेपालको इतिहास, संस्कृति र पुराताŒिवक क्षेत्रमा उल्लेखनीय योगदान गरेको अनुभूत गर्न सकिन्छ। खँदिलो भाषाशैलीको प्रयोग, सरल तर गाम्र्भीय विषयवस्तुको प्रस्तुति, नवीनतम विचारको प्रक्षेपणका कारण पुस्तकले पाठकलाई तान्न सफल देखिन्छ। भक्तपुरको मात्र धेरै रहेछ भन्दै विचारको सिस्नोपानी लगाउन चाहनेहरूले शिर उठाउन सक्ने सम्भावना छ। फूलको आँखामा फूलै संसार...। कर्मयोगी तालीमा पनि गालीमा पनि सही कर्म गरिरहन्छ निरन्तर।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.