प्रधानमन्त्रीको जोड, जलवायु क्षतिपूर्ति कोष

प्रधानमन्त्रीको जोड, जलवायु क्षतिपूर्ति कोष

अमेरिका : संयुक्त  राष्ट्रसंघको कुम्भमेला अमेरिकाको वित्तीय राजधानी न्युयोर्कमा चलिरहेको छ।  विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरूको यो कुम्भमेलाले विश्वको ध्यान  खिचेको छ। प्रधानमन्त्री केपी शर्मा ओली पनि आफ्नो प्रतिनिधि मण्डलसहित  कुम्भमेलाका लागि न्युयोर्कमा छन्। विभिन्न देशका राष्ट्रप्रमुख तथा  प्रतिनिधिहरूसँग भेटघाट तथा छलफलमा निकै व्यस्त छन्। सभाका विभिन्न बैठक तथा  साइडलाइन बैठकलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन्। 

ओलीले  मुख्यगरी विकसित मुलुकको कार्बन उत्सर्जनबाट नेपालका हिमाल पग्लिएको भन्दै  क्षतिपूर्तिको एजेन्डालाई जोड दिइरहेका छन्। प्रधानमन्त्री ओलीले बिहीबार  साँझ संयुक्त राष्ट्रसंघको ७९औं महासभालाई न्युयोर्कमा सम्बोधन गरे।  प्रधानमन्त्री ओलीले जलवायु परिर्वतन, भूराजनीतिक द्वन्द्व र आर्थिक असमानताको  सामना गर्न विश्वव्यापी एकताका लागि आह्वान गरे। प्रधानमन्त्री ओलीले विश्व  शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न नेपाल तयार रहेको  प्रतिबद्धता पनि जनाए।  प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय शान्ति अभियानमा सेना र  प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा सहयोग गर्न नेपाल सधैं तयार  रहेको प्रतिबद्धता व्यक्त गरे। 

प्रधानमन्त्री ओलीको प्रतिबद्धताले विश्व समुदायमा  सकारात्मक सन्देश प्रवाह भएको छ। यसो त नेपालले राष्ट्रसंघीय मिसनमा  वर्षांैदेखि योगदान पु¥याउँदै आएको छ। सम्बोधनका क्रममा प्रधानमन्त्री  ओलीले कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो  विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्व समुदायलाई आह्वान  गरेका छन्। ओलीको सम्बोधनका क्रममा नेपाल विश्व समुदायसँग सहकार्य, एकता  गर्दै हार्दिकताका साथ शान्ति, दिगो विकास र मानव मर्यादामा एक भएर काम गर्न  तयार छ भन्ने सन्देश दिएका छन्। विश्वभरका नेताहरू भेला भएको कुम्भमेलाको  सदुपयोग गर्दै, प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले संक्रमणकालीन  न्यायसम्बन्धी कानुनलाई संसद्बाट पारित गराएको अवगत गराएका छन्। 

नेपालमा १०  वर्षभन्दा लामो समय सशस्त्र युद्ध चलेकाले न्यायका लागि सरकारले काम गरिरहेको  समेत उल्लेख गरेका छन्। अब युद्धका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गरी  सबैले न्याय पाउने प्रधानमन्त्री ओलीले विश्व समुदायलाई जानकारी गराए।  सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले दुई ठूला राजनीतिक दलको सहकार्यमा  बनेको वर्तमान सरकारको खुलेर प्रशंसासमेत गरेका छन्। नेपालका दुई ठूला दल  कांग्रेस र एमालेको संयुक्त सरकारले नेपाली जनताको समावेशी र समतामूलक  समृद्धिका लागि हरपल काम गरिरहेको उल्लेख गरे। साथै प्रधानमन्त्री ओलीले  आर्थिक रूपान्तरणलाई अघि बढाउँदै स्थायित्व कायम गर्न आफ्नो नेतृत्वको सरकार  कटिबद्ध रहेको पनि उल्लेख गरे। राष्ट्रसंघको महासभा क्रममा प्रधानमन्त्री ओलीले  बहुपक्षीय विषयमा समेत बोलेका छन्। उनले नजिकका दुई ठूला देश र  छिमेकभन्दा परका अन्य देशहरूसँग राखिएका र भविष्यमा हुने सम्बन्धका बारेमा समेत  प्रस्ट पारेका छन्। प्रधानमन्त्री ओलीले नजिकका दुई ठूला देश (भारत र चीन)  आफ्ना असल मित्र भएको समेत बताए। 

त्यसक्रममा प्रधानमन्त्री ओलीले नेपालको  असंलग्न परराष्ट्र नीति अवलम्बन गरिरहेको र सोहीअनुसार आगामी दिनमा विभिन्न  देशहरूसँग सहकार्य गर्ने जानकारी दिएका छन्। विश्व समुदायले चासोपूर्वक  हेरिरहेको विषय समेत भएकाले प्रधानमन्त्री ओलीले भारत र चीनसँग नेपालले  कसरी सम्बन्ध राख्छ भन्ने बारेमा बोलेका छन्। यसबारेमा अन्य साइडलाइन बैठकहरूमा  समेत प्रश्न उठ्ेका थिए। प्रधानमन्त्री ओलीले केही दिनअघि कोलम्बिया  युनिर्भसिटीका विद्यार्थीसँग ‘नजिकका छिमेकीहरू फेर्न नमिल्ने र उनीहरू आफ्नो  देशका असल छिमेकी’ भएको भनेर प्रशंसा गरेका थिए।

सम्बोधनका क्रममा पारस्परिक  सम्मान, सार्वभौम समानता, क्षेत्रीय अखण्डता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा  रहेर नजिकका छिमेकी र अन्य मुलुकसँगको घनिष्ठ, सौहार्दपूर्ण र रचनात्मक  सम्बन्धलाई थप सुदृढ गर्न नेपाल प्रतिबद्ध रहेको त्यसक्रममा प्रधानमन्त्री ओलीले  उल्लेख गरेका छन्।  प्रधानमन्त्री ओलीले इजरायल–प्यालेस्टाइन द्वन्द्वमा दुई मुलुकबीचको शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्री  ओलीले नेपाल सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने तर सन्  २०३० भित्रमा दिगो विकास लक्ष्य हासिल गर्न २४ बिलियन अमेरिकी डलरको आर्थिक  खाडल रहेको उल्लेख गरेका छन्। उनले उल्लेख गरेको आग्रहपूर्वकको सम्बोधनले  विश्व समुदायको ध्यान खिच्न सक्ने आशा गर्न सकिन्छ। 

साथै दिगो विकास लक्ष्यका  लागि प्रधानमन्त्री सचेत रहेछन्, भन्ने स्पष्ट देखाएको छ। प्रधानमन्त्री ओलीले  राष्ट्रसंघको महासभा बैठकलाई सम्बोधन गर्दै, विश्व समुदायले चासोपूर्वक  हेरिरहेको जलवायु परिवर्तनका विषयमा विशेष समय दिएर बोलेका छन्। आफ्नो  देश हिमालहरूको देश भएकाले सोहीअनुसार विश्व समुदायबाट विशेष लाभ  पाउनुपर्ने उल्लेख गरे। साथै विश्वका विकसित मुलुकको कार्बन उत्सर्जनबाट नेपाल  प्रभावित हुनु परेको र जलवायु न्यायको लाभ नेपालले पाउनुपर्ने प्रधानमन्त्री  ओलीको दाबी रह्यो।  

प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रमुख तथा  प्रतिनिधिहरूसँग नेपालको बृहत्तर हितका बारेमा कुराकानी गरिरहेका छन्।  बिहीबारको सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपालको विभिन्न पक्षलाई समेटेर  सम्बोधन गरेका छन्। नेपालको सांस्कृतिक, धार्मिक तथा बहुआयामिक पक्षलाई  गहिरोसँग केलाउँदै नेपाल धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले सुन्दर  भएको भन्दै प्रशंसा गरे। संसारका नेताहरू भेला भएको मौका छोपेर ओलीले  ‘आफ्नो देश संसारकै उत्कृष्ट’ हो भने। सम्बोधनका क्रममा प्रथम महिला राधिका  शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार  विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, सहसचिव अमृतबहादुर  राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, राष्ट्रसंघका लागि नेपालको स्थायी  नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी थिए।

प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपतिबीच भेटवार्ता 

प्रधानमन्त्री केपी शर्मा ओली र  अमेरिकी राष्ट्रपति जो बाइडेनका बीच भेटवार्ता भएको छ। राष्ट्रसंघको  महासभामा भाग लिन अमेरिका रहेका प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति  बाइडेनका बीचमा भेटघाट भएको हो। 

भेटघाटका क्रममा प्रधानमन्त्री ओली र  अमेरिकी राष्ट्रपति बाइडेनबीच दुई देशको सम्बन्ध र आपसी हितका बारेमा  कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। भेटका अवसरमा  अमेरिकी राष्ट्रपति बाइडेनले नेपालको विकासका बारेमा चासो राखेको बताइन्छ।  

राष्ट्रसंघको बैठकका क्रममा अमेरिकी राष्ट्रपति र विभिन्न देशका राष्ट्रप्रमुखहरूका  बीचमा यसैगरी भेटवार्ता हुने चलन छ। प्रधानमन्त्री ओलीले कतारका प्रधानमन्त्री  मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी, लाओसका प्रधानमन्त्री सेनोक्साई  सिफानदोन र पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफसँग भेटवार्ता गरेका छन्।  

यसैगरी ओलीले हालैमात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गरिसकेका छन्। ओलीले चीनका विदेशमन्त्री वाङ वीसँग पनि भेटवार्ता गरेका छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.