गोरखामा पुल, टिपर, एक्साभेटर, जेसिबी बगायो
गोरखा : अविरल वर्षासँगै त्रिशूली नदीमा आएको बाढीले गोरखामा झोलुंगे पुल, टिपर, एक्साभेटर र जेसिबी बगाएको छ।
सहिद लखन गाउँपालिका-४ ठेउवाटार र पृथ्वीराजमार्ग जोड्ने झोलुंगे पुल बगाएको प्रहरीले जनाएको छ। त्यस्तै सहिद लखन ४ सिलिङ र पृथ्वीराजमार्ग जोड्ने झोलुंगे पुल, गण्डकी गाउँपालिका-६ को हिक्लुङ र पृथ्वीराजमार्ग जोड्ने झोलुंगे पुल र गण्डकी गाउँपालिका-७, धवादी र पृथ्वीराजमार्ग जोड्ने झोलुंगे पुल त्रिशूलीको बाढीले क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
‘सुपर त्रिशूली हाइड्रोपावरको कार्यक्षेत्रमा रहेको बाग्मती प्रदेश ०३–००१ क ६८५ नम्बरको टिपर, मधेश प्रदेश ०३–००१ ख ७५४२ नम्बरको टिपर, मधेश प्रदेश ०३–००१ ख ७५४८ नम्बरको टिपर, बा २ ख १४२७ नम्बरको जेसिबी र दुईवटा नम्बर खुल्न नसकेका एक्साभेटर बगाएको छ’, डीएसपी श्रेष्ठले भने, ‘त्यस्तै चारवटा झोलुंगे पुलको स्पान बाढीले लछारेर क्षतिग्रस्त बनाएको छ।’
ठेउवाटार र पृथ्वीराजमार्ग जोड्ने पुल भने बगाइसकेको उनले बताए। स्पानमा बाढीले हानेर मान्छे हिँडडुल गर्न नमिल्ने गरी बिगारेको उनले बताए।