बाढीपहिरोले घर तथा रिसोर्ट बगायो

बाढीपहिरोले घर तथा रिसोर्ट बगायो

नुवाकोट : तीन दिनदेखि परेको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। पहिरोका कारण मुख्य सडक अवरुद्ध भएको छ। 

अविरल वर्षाका कारण बाढी पहिरो जाँदा नुवाकोटका विभिन्न स्थानमा घर क्षति हुनुका साथै पशुचौपाया मरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। पहिरो जाँदा पासाङल्हामु मार्ग अन्तर्गत काठमाडौं–ककनी–त्रिशूली सडकखण्ड अवरुद्ध भएको छ। 

सो सडकमार्गको बीचमा रहेको ककनी गाउँपालिका-१ मा पहिरो गएर पासाङल्हामु मार्ग अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए। निरन्तर वर्षातका बीच पनि पहिरो पन्छाउने कार्य भइरहेको छ। पहिरोले नुवाकोटका झण्डै एक दर्जन स्थानमा विभिन्न सडकहरू अवरुद्ध भएका थिए। कतिपय पहिरो पन्छाइएको छ भने कतिपय खुलाउने क्रम जारी रहेको छ। 

पहिरोले सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई विकल्पको बाटो प्रयोग गर्न अनुरोध  गरिएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। पहिरो र पानी परिरहेका कारण अत्यावश्यक कामबाहेक यात्रा नगर्न नुवाकोट प्रशासनले सर्वसाधारणमा आग्रह गरेको छ। 

बाढीपहिरोले किस्पाङ गाउँपालिका-५ मा रहेको एउटा रिसोर्ट बगाएको छ। बाढीपहिरोले स्थानीय जलविद्युत योजनाका संरचनाहरूमा समेत क्षति पुर्‍याएको छ। 

बाढीपहिरोले अन्य दुई घर पुरिएको नुवाकोट प्रहरीले जनाएको छ। बेलकोटगढी नगरपालिका-७ स्थित भवनेश्वर खतिवडाको दुई तल्ले घर पहिरोमा परेको छ। 

पहिरोमा परि ४० वर्षीया सरस्वती खतिवडा घाइते भएको डीएसपी भारतीले जानकारी दिए। खतिवडाको चार बाख्रा, दुई गाईसमेत पहिरोमा पुरिएर मरेका छन्। 

पहिरोले ककनी गाउँपालिका-४ सिस्नेरीमा ४० वर्षीया सुनिता तामाङको एक तले घर बगाएको छ। उता, ककनी-१ मा घरटहरो बगाउँदा रामबहादुर बलामीका चारवटा बाख्रा मरेको प्रहरीले जनाएको छ। 

त्रिशूली र तादी नदीमा आएको बाढीले विदुर नगरपालिका-५ देवीघाटस्थित प्रसिद्ध जालपादेवी मन्दिर जलमग्न भएको छ। दुई नदीको संगमस्थलमा मन्दिर रहेको र बाढी आएको कारण मन्दिर जलमग्न हुनुका साथै भौतिक संरचनाहरूमा क्षति गरेको छ। 

त्रिशूली नदीमा बाढी आउँदा विभिन्न सामानहरू ओछ्याउने म्याट, कपडाहरू, ग्याँस सिलिन्डर, ठूलठूला रुख तथा अन्य सामानहरू बगाएर ल्याएको स्थानीय प्रत्यक्षदर्शी प्रज्वल सापकोटाले बताए। त्रिशूली नदीमा ३० वर्षपछि यति ठूलो बाढी आएको बुढापाकाहरू बताउँछन्। 

कतिपय स्थानमा पहिरो पन्छाउने कार्य भइरहेको छ। डीएसपी भारतीले भने, ‘पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको छ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.