भक्तपुरमा बाढीपहिरोका कारण ५ जनाको मृत्यु, ५६ को उद्धार
भक्तपुर : शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले भक्तपुरमा गर्भवतीसहित ५ जनाको मृत्यु भएको छ।
प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठका अनुसार बाढीपहिरोले ५ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन्। बाढीमा फसेका ५६ जनाको उद्धार भएको छ।
घाइतेहरूको भक्तपुरको दुधपाटीस्थित भक्तपुर अस्पतालमा उपचार भइरहेको उनले बताइन्। डुबानमा परेका विभिन्न स्थानमा उद्धारका लागि स्थानीय सरकार, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल खटेको थियो।
हनुमन्ते खोला, मनोहरा खोला र सहायक खोलाहरूले सतह पार गरेपछि भक्तपुर जिल्लाको विभिन्न स्थान डुबानमा परेका छन्। हनुमन्ते खोला, मनोहरा खोला र सहायक खोलाहरूले सतह पार गरेपछि भक्तपुर जिल्लाका ४ वटा नै पालिकाका विभिन्न स्थानमा बाढी पसेर जलमग्न भएको छ।
मुख्य गरी भक्तपुर नगरपालिकाको बाराही स्थान, लिवालीस्थित भित्री सडक खण्ड,राम मन्दिर, टूरिजम मार्केट, हनुमान घाट, सिद्धि स्मृति अस्पताल आसपासका क्षेत्र डुबानमा परेका छन्।
मध्यपूर थिमि नगरपालिकाका कौशलटार, कौशलटारस्थित सागबारी क्षेत्र, लोकनथलीस्थित लघलेश्वर खोला किनार बस्ती र राधे राधे क्षेत्र डुबानमा परेका छन्।
चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ स्थित कासंखुसी पुल वरीपरीका स्थान डुबानमा परेका छन्। त्यस्तै सूर्यविनायक नगरपालिकाका दधिकोट स्थित सृजनशिल टोल, मगरगाउँ, गोदावरी खोला किनारको बस्ती क्षेत्र, वडा नम्बर २ र ३ बालकोट क्षेत्र जलमाग्न भएको छ।
भक्तपुर जिल्लामा हनुमन्ते र मनोहरा खोला मुख्य खोलाको रूपमा बग्ने गर्दछन्। हनुमन्ते, मनोहरा बाहेक घटटे खोला, गोदावरी खोला, खास्राङ खुस्रुङ खोला सहायक नदी हुन।
डुबानका कारण डुबान भएका क्षेत्रमा जनजीवन नै प्रभावित भएको छ। सहरी क्षेत्रमा सञ्चालित बिभिन्न ब्यापरिक घर, पसल, सटरहरुमा खोला पसे पछि लाखौंको धनमाल क्षति भएको छ। बस्तीमा बाढी बसेपछि अधिकांश घरको भूमि तल्ला पानीले भरिएका छन्। नदीको जलसतह पार गरेपछि आसपासका कृषि बालीहरू पूर्ण रूपमा नष्ट भएको छ।