भूपरिवेष्ठित देशमा आवश्यक सहयोग गर्न जी-७७ र चीनलाई परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले विश्वका अतिकम विकसित एवं भूपरिवेष्ठित देशहरू पछिल्ला वर्षमा आर्थिकलगायत समस्यामा परेको बताएकी छन्। उनले ती देशहरूले ‘विकासको एजेण्डा २०३०’ समेत पूरा गर्नसक्ने अवस्था नरहेकाले आवश्यक सहयोगका लागि जी-७७ समूहमा आबद्ध देशहरू र चीनलाई आग्रह गरिन्।
जी-७७ समूह र चीनको वार्षिक बैठकलाई आज न्युयोर्कमा अतिकम विकसित राष्ट्रहरूको सङ्गठन एलडिसीको अध्यक्षका हैसियतले शुक्रबार सम्बोधन गर्दै उनले यी देशहरूले पछिल्लो समयमा महामारी, जलवायु परिवर्तनका कारण उत्पन्न प्राकृतिक बिपतजन्य विनाश, आर्थिक सङ्कट लगायतका समस्या झेल्नुपरिरहेकाले अतिरिक्त आर्थिक सहायताको आवश्यकतामा जोड दिइन्।
विश्वका द्विपक्षीय र बहुपक्षीय साझेदार तथा दाताहरूबाट अतिरिक्त आर्थिक सहयोग बिना दिगो विकासका लक्ष्यहरुरूपूरा हुन निकै गाह्रो पर्ने देखिएको उनको भनाइ छ। 'एलडीसी मुलुकहरूमा समावेशी आर्थिक वृद्धि गर्न, ‘२०३० एजेण्डा’लाई गति दिन, उनीहरूले भोगिरहेका स्वास्थ्य लगायतका समस्याको समाधान गर्न, जलवायु परिवर्तनको असर कम गर्ने कार्यक्रमहरूलाई प्रभावकारी बनाउन तथा ती देशले सामना गरिरहेका बहुआयामिक प्रकृतिका सङ्कटहरूलाई कमगर्न जी-७७ मा आबद्ध राष्ट्रहरू र चीनलाई यो मेरो आग्रह छ,' उनले भनिन्।
पछिल्ला वर्षहरूमा यी देशहरूका लगानीमा आइरहेको ह्रास, ‘इनोभेटिभ फाइनान्सिङ्’को अभाव, वैदेशिक सहायतामा देखिएको ह्रासोन्मुख अवस्थाले गर्दा एलडिसी र एलएलडिसी देशहरू समस्यामा पर्दै गएका पनि उनको भनाइ थियो।
उनले यस्तो समस्यामा नेपाल रहेको जानकारी पनि दिइन्। नेपाल आगामी सन् २०२६ मा एलडिसीबाट मध्यमस्तरको राष्ट्रका रूपमा स्तरोन्नति भएपछि हाम्रा द्विपक्षीय एवं बहुपक्षीय साझेदार एवं दाता राष्ट्रहरूबाट अतिरिक्त आर्थिक प्राविधिक सहायताको खाँचो रहने उनको भनाइ छ।
संयुक्त राष्ट्रसङ्घमा आबद्ध देशहरूको करिब ६० प्रतिशत जनसङ्ख्या ओगट्ने जी-७७ समूह र चीनले एलडिसी, एलएलडिसी देशहरूका यी समग्र समस्याको समाधानमा सघाउन र विकासको विश्वव्यापी अवधारणामा अग्रसताको भूमिका निर्वाह गर्न उनले आग्रह गरेकी थिइन्।
राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिकामा रहेकी मन्त्री राणा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)का विदेशमन्त्रीहरूको अनौपचारिक बैठकमा पनि सहभागी भएकी थिइन्। शुक्रबार न्युयोर्कमा भएको सो बैठकमा बिमस्टेक राष्ट्रका विदेशमन्त्रीहरू सहभागी थिए। बैठकमा बिमस्टेकका पछिल्ला क्रियाकलापहरू र हालसम्म गरेका प्रगतिका साथै यी देशमा आबद्ध रहेका देशका आपसी चासोका विषयमा कुराकानी भएको थियो।