बाढीपहिरोका कारण सिन्धुलीमा दुई जनाको मृत्यु
सिन्धुली : सिन्धुलीमा लगातार आएको बाढी र पहिरोको कारण दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) गोविन्दराज काफ्लेका अनुसार बाढीले बगाउँदा एक जना पुरुष र पहिरोका कारण बालकको मृत्यु भएको हो।
जिल्लाको कमलामाई नगरपालिका-९, भिमानमा स्थित सुके खोलाले बगाउँदा स्थानीय ४६ वर्षीय कृष्ण बहादुर बोगटीको मृत्यु भएको हो। काफ्लेका अनुसार बोगटीलाई शुक्रबार राति ८ बजेतिर खोला तर्ने क्रममा बाढीले बेपत्ता बनाएको थियो।
‘शुक्रबार बेपत्ता बोगाटीको शनिबार बिहान सुकेखोलाको दोभानमा शव भेटिएको हो,’ उनले भने। सुकेखोलामा पुल नहुँदा जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता छ। विपी राजमार्गको सिन्धुली–बर्दिबास खण्ड अन्तर्गत पर्ने उक्त खोलामा हालसम्म पुल छैन। बोगटी बर्दिबासबाट घर फर्कने क्रममा सुके खोलाले बगाएको थियो।
खोलाले बगाएको देखेका स्थानीय र प्रहरीले रातभर खोजी कार्य गरे पनि शनिबार बिहान कमला खोलाको किनारस्थित सुकेखोलाको दोभानमा शव भेटिएको थियो। यस्तै घरमाथिबाट पहिरो आएपछि भाग्ने क्रममा सुनकोशी गाउँपालिका-१ १२ वर्षीय बालकको मृत्यु भएको छ। बालक घरमाथिबाट आएको पहिरोबाट बच्न भाग्ने क्रममा पहिरोमा परेका हुन्।