विपी राजमार्ग अवरुद्ध
सिन्धुली : बिहीबारदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले पक्की सडक नै बगाएपछि विपी राजमार्ग अवरुद्ध भएको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका-१ नेपाल थोक नजिक रोशी खोलाले विपी राजमार्ग भत्काएर क्षति पुर्याएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।
सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार उक्त स्थानमा झण्डै ५० मिटर सडक रोशीको बाढीले पूर्ण रुपमा बगाएको छ। सडक डाइभर्सन नबनाएसम्म कुनैपनि सवारी साधन आवतजावत गर्न सक्ने अवस्था नरहेको उनले जनाए।
विपी राजमार्गको नेपालथोक, आँपघारी, भ्याकेरेखोला, बर्खेखोला, घ्याम्पेखोला लगायतका दर्जनौं स्थानमा बाढी र पहिरोले राजमार्गलाई क्षति पुर्याएको छ। यी स्थानमा सडक डाइभर्सन गर्न पनि केही दिन लाग्ने छ।
‘खोला तथा नदीमा बाढी कम नभएसम्म डाइभर्सन बनाउन सक्ने अवस्था छैन। डाइभर्सन बनाउन पनि केही दिन लाग्छ। सडक पूर्ण रुपमा सडक मर्मत गर्न कम्तीमा छ महिना लाग्ने अवस्था आएको छ,’ स्थानीयले भने।
यस्तै मध्यपहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्ग समेत बाढी र पहिरोका कारण अवरुद्ध भएको छ। मदन भण्डारी राजमार्गको सिन्धुलीमाढी–हरिहरपुरगढी खण्डमा समेत पहिरो खस्दा समस्या आएको छ भने मध्यपहाडी लोकमार्गमा समेत पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीयले जनाएका छन्।
राजमार्गहरु अवरुद्ध हुँदा सिन्धुलीमाढी र खुर्कोटमा सबै सवारीलाई रोकिएको छ। राजमार्ग अवरुद्ध हुँदा बिहीबारदेखि सयौं सवारी साधन र हजारौं यात्रुहरू बीच सडकमै अलपत्र परेका छन्। उनीहरूलाई सुरक्षित स्थानमा बस्न र सवारी साधनलाई सुरक्षित गर्न प्रहरीले आग्रह गरेको छ।