फल्यो स्याउ, बेच्नै झ्याउ
डोल्पा : साविकको कर्णाली अञ्चलका डोल्पा, जुम्ला, मुगु, हुम्लामा प्रत्येक वर्ष मेट्रिक टनको हिसाबमा स्याउ उत्पादन हुन्छ। हिमाली चिसो हावापानीमा उत्पादन हुने अर्गानिक स्याउको माग सहरीया क्षेत्रमा दिनप्रतिदिन बढ्दै गएको छ।
केही वर्ष पहिलासम्म बजार अभावमा बोटमै कुहिने डोल्पा र मुगुको स्याउ अहिले नेपालगञ्ज, सुर्खेत, दाङ हुँदै काठमाडौंंसम्म पुग्ने गरेको छ। प्रत्येक वर्ष वर्षात्को समयमा खोलानाला बढेर आधा दर्जन धेरै ठाउँमा ठाउँसारी गर्दै डोल्पाको स्याउ शहरिया बजारमा बिक्रीका लागि पुग्ने गर्छ।
जुम्लासम्म सिधा सडक पहुँच हुनुका साथै सडक कालोपत्रे भएकाले ट्रकमा सिधै सहरीया क्षेत्रमा स्याउ पु¥याउन सकिन्छ। तर, हुम्लामा भने सम्भव छैन। जिल्लामा उत्पादन भएको स्याउ भने अहिले पनि बेच्ने प्रयोजनका लागि जिल्ला बाहिरको बजारमा पुग्दैन।
हुम्ला अझै पनि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन। त्यसकारण पनि स्याउ ढुवानीमा समस्या हुने गरेको हो। पछिल्लो समय कर्णालीका किसानले ब्यावसायिक रूपमा स्याउ खेतीमा आकर्षण बढे पनि ढुवानीको समस्या, व्यापारीकै मूल्यमा स्याउ बेच्नुपर्ने बाध्यता, काँचो स्याउ बेच्नुपर्ने लगायतका समस्या स्याउ कृषकले भोग्नु परेको छ।
डोल्पामा सडक असुविधाले मूल्यमा गिरावट
हिमाली जिल्ला डोल्पाबाट यस वर्षमात्रै एक सय उनान्चालीस मेट्रिक टन स्याउ निर्यात भएको छ। भेरी करिडोर हुँदै डोल्पा भित्रने प्रमुख नाकामा रहेको इलाका प्रहरी चौकी खदाङ्का अनुसार २३ साउनदेखि हालसम्म यतिको परिमाणमा स्याउ जिल्ला बाहिरिएको हो।
डोल्पा २०७५ सालमै राष्ट्रिय सडक सञ्जालमा जोडिए पनि कच्ची साँघुरो बाटो र बीचबीचमा पुल नहुँदा प्रत्येक वर्ष वर्षात्को समयमा जिल्ला भित्रन र बाहिरिन आधादर्जन ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता छ। डोल्पाका बस्तीहरूमा प्रत्येक वर्ष लटलरम्म फलेका स्याउले रंगीए पनि भनेजस्तो मूल्य भने पाइँदैन।
सडक मार्गबाट स्याउ लैजाँदा धेरै ठाउँमा ठाउँसारी गनुपर्ने भन्दै व्यापारीले पनि जतिसक्दो कम मूल्यमा स्याउ लिन खोज्ने गरेको त्रिपुरासुन्दरी नगरपालिका ४ का वडाध्यक्ष तथा कृषक रन्जीत बुढाले दुखेसो पोखे।
‘तीन चार वर्षयता बारीमै व्यापारीहरू पुग्ने गरेका छन्, त्योभन्दा अघि स्याउ बिक्रीको चिन्ता कृषकलाई हुन्थ्यो, तर अहिले बिक्रीको चिन्ता नभए पनि व्यापारीले भनेकै मूल्यमा कृषकलाई स्याउ बेच्नु पर्ने बाध्यता छ।’
‘यस वर्ष डोल्पामा ३५ देखि ४० रुपैयाँ मूल्यमा कृषकहरूले स्याउ बेचेँ अघिल्लो वर्ष तीस रुपैयाँमा बेचेका थिए, सडक असुविधा देखाउँदै व्यापारीहरूले सस्तो मूल्यमा स्याउ लिने गरेका हुन्’, उनले भने।
डोल्पाबाट ३० देखि ४० रुपैयाँसम्म प्रति किलो खरिद गरेको स्याउ सहरीया क्षेत्रमा प्रतिकिलो १ सय ५० सम्ममा न बेच्ने गरेका छन्। राज्यले सडक स्तरोन्नति गरेर पुल बनाइ दिएको भए डोल्पाली स्याउले पनि सोचे अनुसारको मूल्य पाउने वडाध्यक्ष बुढाको आशा छ।
यी हुन्, डोल्पाका स्याउ पकेट
डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा न ३ पर्ने सुँ,जिँउ र वडा नं ४ मा पर्ने रंगमा कृषकहरूले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन्।
त्रिपुरासुन्दरी सँगै ठूलीभेरी नगरपालिकाकामा पनि व्यावसायिक स्याउ खेती गरिँदै आएको छ।
वडा नं ७ मा पर्ने जुफाल, ८ र ९ मा पर्ने डाँगीबाडा वडा नं ४,५ र ११ मा पर्ने लोचा, थाला, तिप्ला र रह गाउँमा प्रसस्त स्याउ उत्पादन हुने गर्छ।
स्याउ राम्रोसँग नपाक्दै डोल्पाली स्याउ कृषकहरूले बेच्ने गरेकोे कृषि विकास कार्यालय डोल्पाले जनाएको छ। यस वर्ष हालसम्म ८० प्रतिशत स्याउ बिक्री भइसकेको प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना अन्तर्गतको स्याउ जोन कार्यालयले जनाएको छ।
बजारको अभावमा प्रत्येक वर्ष कृषकहरूले उत्पादन गरेजतिको सबै स्याउ बिक्री नहुने भएकाले काँचै स्याउ व्यापारीहरूलाई प्रतिकिलो तीसदेखि चालीस रुपैयाँसम्म बेच्न बाध्य भएको कार्यालयको भनाइ छ। स्याउ किन्नका लागि प्रत्येक वर्ष व्यापारीहरू बगैँचामा पुग्ने गरेको कृषकहरू बताउँछन्।
स्याउ टिप्ने उपयुक्त समय भनेको असोज लागेपछि भएपनि बिक्रीको चिन्ताले प्रत्येक वर्ष राम्रोसँग नपाक्दै बेच्ने गरेको पाइएको कार्यालय प्रमुख गोबिन्द मल्लले बताए। डोल्पामा कुल ६ सय ५० हेक्टरमा स्याउ खेती हुन्छ भने करिब दुई सय मेट्रिक टन स्याउ उत्पादन हुने गरेको उनको भनाइ छ। सरकारले डोल्पासम्म सिधा सडक निर्माणसँगै अनि बेमौसममा पनि स्याउ बेच्नकालागि एउटा ठूलो क्षमताको सुविधायुक्त कोल्ड स्टोरको आवश्यक भएको प्रमुख मल्लको भनाइ छ। यससँगै प्रशोधनको पनि व्यवस्था भएमा डोल्पाली स्याउले राम्रो बजार पाउने बताइएको छ।
डोल्पाका स्याउ बगानहरूमा तीन वर्षयतादेखि नेपालगञ्ज, सुर्खेत, जाजरकोट, रुकुमलगायतका जिल्लाबाट स्याउ किन्न व्यापारीहरू घरमै पुग्ने गरेका छन्। बजार अभाव, सडकको असुविधा, ढुवानी समस्या लगायतको कारणले नपाक्दै सस्तो मूल्यमा व्यापारीलाई जिम्मा लगाउने बाध्यता हुने स्थानीय स्याउ कृषक हरि बुढाले बताए।
‘स्याउ राम्रोसँग अन्तिममा पाक्छ, तर व्यापारीहरू कृषकहरूको समस्याको फाइदा उठाउन साउन अन्तिममै गाउँमा आइपुग्छन्, कृषकहरू बाध्य भएर २०देखि ३० रुपैयाँमा स्याउ बगैंचा जिम्मा लाउन बाध्य हुनुपर्छ’, उनले दुखेसो पोखे।
‘राम्रो पाकेको स्याउको स्वादै मीठो हुन्छ, यहाँबाट सस्तो मूल्यमा लिएको काँचै स्याउ पनि व्यापारीले नेपालगञ्ज, सुर्खेत, काठमाडौंंलगायतका सहरमा प्रतिकिलो दुईसय भन्दा धेरैमा बेच्ने गर्छन्’, उनले थपे।
अर्का कृषक रुद्रि बुढाले यस वर्ष एघार क्विन्टल स्याउ जम्मा चालीस हजारमा बेचेको दुखेसो पोखे।
‘मेरो बगंैचामा तीनसय बोट स्याउ छ, पछि बिक्री हुँदैन कि भन्ने चिन्ताले साउन अन्तिममा नै सस्तो मूल्यमा स्याउ बगैँचा नै जिम्मा लाइसके’, बुढाले थपे।
‘व्यापारीले बोटमै प्रतिकिलो पचास रुपैयाँ किलोसम्म पाए कृषकहरूलाई केही राहत हुन्छ, तर व्यापारीले बढीमा ३० रुपैयाँभन्दा धेरै हाल्न मान्दैनन्, बेचौँ घाटा छ, नबेचौँपछि बिक्री गर्न समस्या हुन्छ’, उनले दुखेसो पोखे।
त्यसैगरी वडा नं ३ जिँउका कृषक रामबहादुर गुरुङले पनि ३ सय बोट स्याउ रोपेका छन्। उनको बगैंचामा प्रत्येक वर्ष ३० क्विन्टलसम्म धेरै स्याउ फल्ने गर्छ। तर, उनलाई पनि प्रत्येक वर्ष उत्पादित सबै स्याउ बिक्री नहुने चिन्ताले पिरोल्ने गर्छ।
‘बगैंचा नै राताम्य हुने स्याउ फलेको छ, डोल्पामा सबै स्याउ खपत हुने ठूलो बजार छैन, जिल्ला बाहिरका बजारमा लैजाउँ भने कच्ची बाटो र ठाउँ ठाउँमा पुल नहुँदा एक दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्नुपर्छ, यसरी लैजाँदा स्याउको मूल्य भन्दा ढुवानी रकम धेरै हुन्छ’, उनले भने।
उत्पादन भएजतिको सबै स्याउ उचित मूल्यमा बिक्री हुने हो भने स्याउबाट मात्रै डोल्पामा प्रत्येक वर्ष लाखौंं रुपैयाँ भित्रने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ।
डोल्पाबाट सिधा नेपालगञ्ज, सुर्खेतसम्म सिधा गाडी पुग्ने व्यवस्था नहुञ्जेलसम्म स्याउ कृषकहरू सधैं मारमा पर्ने कार्यालयको भनाइ छ। डोल्पामा प्रत्येक वर्ष तीन हजार दुई सय छयानब्बे मेट्रिकटन स्याउ उत्पादनहुने गरेको जिल्ला कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए।
जुम्लामा १५ हजार मेट्रिक टन उत्पादनको लक्ष्य
साविकको कर्णाली अञ्जालका पाँच जिल्ला मध्ये सबैभन्दा धेरै स्याउ उत्पादन जुम्लामा हुने गर्छ। जुम्लामामात्रै चार हजार ५ सय हेक्टरमा स्याउ रोपिएको छ। यस वर्षमात्रै कुल १५ हजार मेट्रिक टन स्याउ उत्पादन गर्ने लक्ष्य राखिएको छ भने कृषकहरूले ४० करोड भिœयाउने लक्ष्य राखेका छन्।
यस वर्ष जुम्लाबाट मात्रै दश हजार मेट्रिकटन स्याउ निर्यात भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले जानकारी दिए।
पछिल्लो समय जुम्लामा स्याउ खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको देवकोटाको भनाइ छ। उनका अनुसार जुम्ली कृषकहरू अन्य धान, मकै, चिनो लगायतका रैथाने बाली छोडेर स्याउ उत्पादनमा जुटेकाछन्। उनका अनुसार यस वर्ष सत्तरी रुपैयाँसम्म स्याउ प्रतिकिलो जुम्लामै बिक्री भएको छ।
वर्षात्को समयमा प्रत्येक वर्ष कर्णाली राजमार्ग बाढी पहिरोले अवरोध हुने भएकाले करोडौंको स्याउ बाटोमा अलपत्र पर्ने गरेको छ।
मुगुमा पनि बिक्रीकै चिन्ता
हिमाली जिल्ला मुगुमा पनि प्रत्येक वर्ष हजारौँ क्विन्टल उत्पादन हुने गर्छ। स्याउ किन्नका लागि साउनमै सहर बजारबाट बिचौलिया व्यापारीहरू मुगु पुग्ने गर्छन्। डोल्पा जस्तै मुगुका कृषकहरूले पनि व्यापारीले चाहेको मूल्यमा स्याउ बेच्न बाध्य छन्।
सुर्खेत दैलेक कालिकोट जुम्ला हुँदै मुगु सडक सञ्जाल जोडिएको छ। मुगुमा प्रतिहेक्टर तीन मेट्रिक टन स्याउ उत्पादन हुने गरेको स्याउ जोन कार्यालय मुगुका प्रमुख तेजबिक्रम मल्लले जानकारी दिए। मुगुमा कुल ३ सय ९० हेक्टरमा स्याउ उत्पादन हुने र ३१ सय मेट्रिक टन स्याउ फल्ने उनको भनाइ छ।
अघिल्लो वर्षमात्रै १ सय ८० मेट्रिक टन निर्यात भएपनि यो वर्षको तथ्यांक नआएको उनको भनाइ छ। अघिल्लो वर्षमात्रै ७५ लाखको स्याउ निर्यात भएको कार्यालयले जनाएको छ।
मुगुमा चर्को ढुवानी रकम तिरेर नासोका रूपमा जहाजबाट पनि उत्पादन भएको पाँच प्रतिशत स्याउ ढुवानी हुने गरेको बताइएको छ। यस वर्ष पनि अघिल्लो वर्षकै हाराहारीमा स्याउ उत्पादन हुने अनुमान गरिएको कार्यालयको भनाइ छ।
हुम्लाको स्याउ : नासो र स्थानीय बजारकै भर
हिमाली जिल्ला हुम्लामा गुणात्मक हिसाबमा राम्रो स्याउ फल्छ। हुम्लामा कुल दुई हजार ८ सय हेक्टरमा स्याउ उत्पादन हुने गरेको कृषि विकास कार्यालय हुम्लाका प्रमुख बखत खड्काले जानकारी दिए।
प्रत्येक वर्ष चार हजार मेट्रिक टन स्याउ उत्पादन हुने गरेको उनको भनाइ छ। उनका अनुसार हुम्ला सडक सञ्जालमा नजोडिएकाले त्यहाँको स्याउ बर्सेनि नासो र स्थानीय बजारहरूमा खपत हुने गरेको छ।
कृषकहरूले मेहनतका साथ उत्पादन गरेको स्याउले बजार नपाउँदा कृषकहरू चिन्तित समेत हुने गरेका छन्। स्याउ, सिमीलगायतका स्थानीय उत्पादनको बजारीकरण गर्ने जतिसक्दो छिटो सडकको पहुँच विस्तार गरिनुपर्ने कार्यालय प्रमुख खड्काको भनाइ छ।
हुम्लामा यातायातको प्रमुख साधन भनेको जहाजमात्रै भएकाले प्रतिकिलो २ सयसम्म तिरेर स्याउ ढुवानी हुने गरेको छ। उत्पादन भएजतिको सबै स्याउ स्थानीय बजारमा खपत नहुने भएकाले पचास प्रतिशतमात्र खपत हुने गरेको कृषि विकास कार्यालयको भनाइ छ। बाँकी ५० प्रतिशत नासो बाँडेर, कुहिएर खेर जाने गरेको बताइएको छ।
हुम्लामा यस वर्ष प्रतिकिलो ४० रुपैयाँ मूल्य तोकिएको र प्रतिकिलो २० रुपैयाँ ढुवानी अनुदान दिइएको स्याउ जोन कार्यालय हुम्लाका प्रमुख लक्ष्मी अधिकारीले जानकारी दिए।