मुस्ताङमा स्याउ टिप्ने चटारो
मुस्ताङ : मुस्ताङमा स्याउ टिप्ने चटारो चलेको छ। यसअघि जिसस, कृषि ज्ञान केन्द्र र परियोजना कार्यान्वयन एकाइ स्याउ जोनको संयुक्त बैठकले असोज १ गतेदेखि मुस्ताङमा सबै जातका स्याउ टिप्न पाइने निर्णय गरेकाले स्याउ संकलन गर्ने व्यापारीहरू कृषकको बगैंचामा पुगेर स्याउ संकलन गर्न थालेका छन्।
मुस्ताङमा छिटो पाक्ने उच्चघनत्व प्रविधिमा आधारित हाइब्रिट जातका गाला, किङ रोट र रेड डेलिसियस प्रजातिका स्याउ भदौ १५ गते टिप्न पाइने र स्थानीय जातका स्याउ असोज लागेपछि मात्रै टिप्ने पाइने निर्णय गरेको थियो। मुस्ताङी स्याउ बगैंचामा पूर्णरूपमा विकशिथ नहुँदै स्याउ व्यापारीले बजारमा पु¥याउने र त्यसले मुस्ताङी स्याउको गुणस्तरमा नकारात्मक असर पर्ने भएकाले जिसस लगायत सरोकारवाला कार्यालयले यस्तो नियम तोकेको थियो।
मुस्ताङमा स्याउ टिप्ने समय तालिका सुरु भएसँगै जिल्लाका ५ वटै स्थानीय तहमा स्याउ टिप्न थालिएको हो। बर्सेनि साउन भदौ महिनामा जिल्ला बाहिरका स्याउ व्यापारी मुस्ताङ आएर कृषकको बगैंचा अवलोकन गरी स्याउको बैना पट्टा गर्ने प्रचलन छ।
स्याउको बैना पट्टा गरेका व्यापारीहरूको समूह अहिले कृषको बगैंचामा स्याउ संकलन गर्न व्यस्त छन्। मुस्ताङमा स्याउको ४२ प्रजाती भए पनि मुख्यतया रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस, रिचारेड डेलिसियस र फुजी प्रजातिका स्याउ उत्पादन हुने गर्छ।
मुस्ताङका बगैंचामा फलेका राताम्मे स्याउलाई बजारीकणका लागि पोस्ट हार्भेस्टको काम धमाधम भइरहेको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। केन्द्रले मुस्ताङको वारागुङ, थासाङ र घरपझोङमा व्यापारीले धमाधम स्याउ संकलन गरेर बजार पठाउने काम भइरहेको उल्लेख गरेको छ। त्यसो त मुस्ताङका स्थानीय व्यापारीले पनि कृषकको स्याउ संकलन गरेर बजार पठाउने काम गरेका छन्।
घरपझोङ–५ चिम्लेका कृषक कर्मा गुरुङले आफूले करिब ६ सय रोपनीमा उत्पादन गरेको लोकल हाइब्रिट स्याउ हार्भेस्ट गरेर काठमाडौं पठाउँदै गरेको बताए। व्यापारीले मनपरी ढंगले हाभेस्ट गर्ने र स्याउ नपाक्दै बजार पु¥याउने गर्दा मुस्ताङको स्याउमा प्रश्न चिन्ह उठ्ने गरेको उनले खुलाए।
शितोष्ण हावापानीमा उत्पादन हुने मुस्ताङको स्याउ जिल्लाको महत्वपूर्ण नगदेबाली हो। पछिल्लो समय स्याउ खेतीतर्फ मुस्ताङका किसानको आकर्षण बढ्दो छ। निजी जग्गा र सार्वजनिक खाली जग्गा र कालीगण्डकी तटीय खेर गएका बाँझो जग्गामा स्याउ खेती विस्तार हुने क्रम बढेको हो
मुस्ताङमा पोहोर साल ६ हजार ५९६ मेट्रिक टन स्याउ फलेको थियो। तर, गतवर्ष स्याउमा रोगकिराको संक्रमण तथा स्याउमा पोलिनेसन नहुँदा ४ हजार ९७५ मेट्रिक टन स्याउ उत्पादन हुँदा २४ दशमलव ५८ प्रतिशत स्याउ उत्पादन घटेको थियो।