पहिरोले एम्बुलेन्स बीचमै रोकिँदा २ बिरामीको मृत्यु : तीन दिनदेखि शव एम्बुलेन्समै
सिन्धुली : सिन्धुलीबाट बिरामी बोकेर काठमाडौंतर्फ जाँदै गरेका एम्बुलेन्सहरू बाढी र पहिरोका कारण बीच सडकमै रोकिंदा दुई जना बिरामीको मृत्यु भएको छ।
सिन्धुली सदरमुकामबाट बिरामी लिएर काठमाडौं हिँडेका पाँच वटा एम्बुलेन्समध्ये दुईवटाका बिरामीको मृत्यु भएको हो।
सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जानजिकै बाढी र पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध हुँदा बिहीवारदेखि बीचबाटोमै एम्बुलेन्स रोकिएको थियो। बाटोमा अलपत्र पर्दा अन्य तीनवटा एम्बुलेन्सका बिरामीको अवस्थासमेत नाजुक बन्दै गएको प्रहरीले जनाएको छ।
बीच बाटोमा नै एम्बुलेन्स रोकिएपछि कमलामाई नगरपालिका ४ मल्लागाउँ सिन्धुलीका एक जना करिव ९५ वर्षकी वृद्धा टीका कुमारी भुजेल र बर्दिवास नगरपालिका ८ महोत्तरीका करिव ४५ वर्षका मानबहादुर सिंजालीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी अनिलकुमार खड्काका अनुसार भुजेलको शुक्रबार र सिँजालीको शनिबार बिहान एम्बुलेन्समै मृत्यु भएको हो।
ब २१ च ७५२३ नम्बरको एम्बुलेन्स मार्फत लगिएको भुजेलको शरीरमा रगत कमी र दम बढेपछि सिन्धुली अस्पतालबाट थप उपचारका लागि काठमाडौं लगिँदै थियो। सिंजाली भने मृर्गौला पीडित थिए। सिजाँलीलाई महोत्तरीको बर्दिवासबाट ज १ च १७०८ नम्बरको एम्बुलेन्स मार्फत उपचारका लागि काठमाडौं लगिँदै थियो।
बाढी र पहिरोका कारण एम्बुलेन्सहरू बीचबाटोमै फसेपछि बिरामीको मृत्यु हुँदा आफन्तहरू समेत अफ्ठेरोमा परेका छन्।
बिरामीको समयमा उपचार हुन नसकेर मृत्यु भएको र मृ्त्यु भएपछि पनि समयमा शव निकाल्न नसक्दा एम्बुलेन्समै गनाउन थालेको एम्बुलेन्स चालकहरू बताउँछन्।
एम्बुलेन्स चालक सुमन तामाङका अनुसार बिपी राजमार्गमा पहिरो खसेपछि बिहीवारदेखि बीचबाटोमै अलपत्र पर्दा बिरामीको मृत्यु भएको र तीनदिनदेखि शव निकाल्न नसक्दा एम्बुलेन्समै शव गनाएर दुर्घन्धित हुन थालेको छ।
‘हामीसँगै अन्य एम्बुलेन्स र सयौं गाडीहरू जाममा परेका छन्। अघिपछि सर्ने अवस्था छैन। अरु गाडीका सयौं यात्रुहरूको पनि बिजोग छ । मृतकको शव निकाल्न नसक्दा झनै कठिनाइ भयो,’ उनले भने।
अर्का एम्बुलेन्स चालक उमेश आलेका अनुसार एम्बुलेन्सका बिरामीको समयमा अस्पताल पुर्याउन नसक्दा मृत्यु भएपछि थप समस्या भएको बताउँछन्। ‘एम्बुलेन्स र हामीहरू समेत पहिरोको जोखिममा परेका थियौं। हामी बाँचे पनि बिरामीलाई बचाउन सकेका छैनौं। हाम्रो हार गुहार कतैबाट सुनुवाई भएको छैन। सबैतिर बाटो अवरुद्ध हुँदा शव फर्काउने अवस्था समेत भएन,’ उनले थपे।
अन्य पाँच वटा एम्बुलेन्सहरु सँगै फसेका छन्। सर्लाही, महोत्तरी, सिन्धुलीबाट बिरामी बोकेर काठमाडौंतर्फ हिँडेका एम्बुलेन्सहरू बीचबाटोमै तीनदिनदेखि फस्दा अन्य बिरामीहरूको अवस्थासमेत नाजुक बन्दै गएको छ।
बाटोमा सयौं गाडीहरू अलपत्र हुँदा र नजिकका होटेलहरू समेत बाढी र पहिरकोका कारण क्षति हुँदा खाना, खाजा तथा पानी खानसमेत कठिनाइ भएको उनले गुनासो गरे। ‘बिरामीको त मृत्यु हुन थाल्यो, हाम्रो पनि खान खानै नपाएर मर्ने अवस्था आउला भन्ने चिन्ता थपिएको छ,’ उनले गुनासो गरे।
थापाका अनुसार त्यस आसपासमा सयौं गाडीका हजारौं यात्रुहरू तीनदिनदेखि अलपत्र छन्। उनीहरूले तीनदिनदेखि खाना खान पाएका छैनन्। बीच सडकमा फसेका यात्रु र सवारीको उद्धारका लागि अहिलेसम्म कुनै निकायले पहल नगरेको उनीहरूको गुनासो छ। ‘बिरामीहरूको हेलिकोप्टरबाट उद्धार भएको भए बचाउन सकिन्थ्यो होला, उनीहरूको समयमा उपचार नभएर नै ज्यान गयो,’ उनले थपे।
रोशी र सुनकोसी नदीमा आएको बाढीले विपी राजमार्गका दर्जनौं स्थानमा क्षति पुर्याउँदा यस्ता एम्बुलेन्स तथा राजधानी काठमाडौं जाने र फर्कने सयौं सवारी साधनहरू अलपत्र छन्।
अवरुद्ध सडक सुचारु गर्न अझै केही दिन लाग्ने बताइएको छ। आइतबार बिहानदेखि वर्षा कम हुँदा अवरुद्ध राजमार्गहरू सुचारु गर्न पहिरो पन्छाउने तथा नदीले कटान गरेको सडकको डाईभर्सन बनाउने काम थालिएको स्थानीय प्रशासनले जनाएको छ।