सिन्धुलीमा फसेका ३९ जनालाई हेलिकोप्टरबाट उद्धार
सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिका-१ नेपालथोक गजुरीदह बाढीमा फसेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
अविरल वर्षासँगै रोशी खोलामा आएको बाढी र पहिरोका कारण तीन दिनदेखि बनेपा-सिन्धुली-बर्दिवास (बिपी) राजमार्ग अवरुद्ध हुँदा बीच बाटोमा फसेका ३४ जनलाई नेपाली सेन र पाँच जना बेलायती नगारिकलाई निजी कम्पनीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार रोशी खोलामा आएको बाढीले राजमार्ग भत्काएर क्षति गर्दा अपलपत्र विदेशी नागरिकसहित, विरामी, वृद्ध तथा बालबालिकाहरू गरी ३४ जनालाई आइतबार साँझ ६ बजे हेलिकोप्टरमार्फत धुलिखेल पठाइएको हो।
त्यस्तै निजी कम्पनीको हेलिकोप्टरमार्फत सुनकोशी गाउँपालिकाको रातामाटाबाट पाँच जना बेलायती नागरीकको उद्धार गरेर काठमाडौं पठाइएको छ। राजमार्गको नेपालथोक-धुलिखेल खण्डको दर्जन बढी स्थानमा रोशीको बाढी र पहिरोले क्षति पुर्याएपछि तत्काल राजमार्ग सूचारु गर्न असम्भव छ।
तीन दिनदेखि सयौं सवारी साधनका हजारौं यात्रुहरू अलपत्र थिए। अलपत्र यात्रुहरूमध्ये विरामी, अशक्त, वृद्ध तथा बालबालिकाहरूलाई हेलिकोप्टरबाट उद्धार थालिएको प्रहरी प्रमुख काफ्लेको भनाइ छ।