विपद्को प्रभाव

तरकारी आपूर्ति ह्वात्तै घट्यो

तरकारी आपूर्ति ह्वात्तै घट्यो

काठमाडौं : अविरल वर्षाका कारण संघीय राजधानी काठमाडौंमा ताजा तरकारी आपूर्ति ह्वात्तै घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार दैनिक ६ सयदेखि ७ सय टन तरकारी भित्रिने गरेकोमा डेढ सय टनमा सीमित भएको छ। तरकारीको आपूर्ति घटेसँगै मूल्यमा भार पर्ने संकेत देखिएको छ। 

बाहिरबाट तरकारी भित्रिने मुख्य बजार कालीमाटीमा असोज ११ गते मात्रै ५ लाख ७१ हजार ९ सय १२ किलोग्राम तरकारी भित्रिएको थियो। तर असोज १२ गते भने ह्वात्तै ७२.५६ प्रतिशतले घटेर १ लाख ५६ हजार ९ सय ९२ किलोग्राम मात्रै ताजा तरकारी भित्रिएको समितिले जानकारी दिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बजारमा दैनिक ७ सय टन हाराहारीमा तरकारी भित्रिरहेकोमा अहिले १ सयदेखि डेढ सय टनमात्रै भित्रिँदा धेरै अभाव देखिएको बताउँछन्। 

उनी भन्छन्, ‘ग्राहकहरूको माग जस्ताको तस्तै छ तर आपूर्ति कमजोर हुँदा मूल्यमा पनि प्रभाव पर्नु स्वाभाविक हो। विशेष गरेर ताजा तरकारीको मूल्य बढेको छ तर आलु, प्याजको मूल्य धेरै बढेको छैन।’ अब लामो समयसम्म सामान कम आयो भने पनि यसको असर मूल्यमै पर्ने श्रेष्ठ बताउँछन्। 

कुन–कुन तरकारीको आपूर्ति घट्यो ?

कालीमाटी बजारमा विशेष गरेर गोलभेंडा सानो, आलु रातो, प्याज सुकेको, बन्दा, भन्टा लाम्चो, बोडी, घिउ सिमी, तीतेकरेला, घिरौला, भिण्डी, रायो साग, च्याउ, काँक्रो, अदुवा, भेडेखुर्सानी र हरियो धनियाँ धेरै कम छन्।

अघिल्लो दिनको तुलनामा यी तरकारीहरू अधिकतम ९६.७७ प्रतिशतले कम आएका छन्। यतिबेला भेडेखुर्सानी अभाव छ। किनभने गत असोज ११ गते १ हजार ५ सय ५० किलोग्राम भेडेखुर्सानी कालीमाटीमा बिक्रीका लागि ल्याइएकोमा १२ गते भने ५० किलोमात्रै ल्याइएको छ। जसको औसत मूल्य प्रतिकिलो ग्राम १ सय २५ रुपैयाँ रहेको छ।

कालीमाटीमै तरकारी आपूर्ति कम हुँदा समग्रमा अभाव हुन थालेको हो। ताजा तरकारीबाहेकको रातो आलु र सुकेको प्याजसमेत कालीमाटीमा कम भित्रिएको छ। यी वस्तुको आगमन क्रमशः ६७.२१ र ६३.१७ प्रतिशतले घटेको छ। रातो आलुको मात्रै थोक मूल्य प्रतिकेजी औसत ७८ रुपैयाँ छ भने सुकेको प्याजको औसत १ सय १९ रुपैयाँ हाराहारीमा छ। यस्तै, गोलभेंडा सानो १५ हजार ३ सय ४० किलोग्राम भित्रिएकोमा ४.६६ प्रतिशतले घटेर १४ हजार ६ सय २५ केजीमात्रै आपूर्ति भएको छ। 

यसको मूल्य प्रतिकेजी १ सय रुपैयाँसम्म छ। यसैगरी अन्य ताजा तरकारीमा बन्दाको आपूर्ति ९३ प्रतिशतले घटेको छ। यसैगरी क्रमशः लाम्चो भन्टा ८६.४० प्रतिशत, बोडी ७५.२२ प्रतिशत, घिउ सिमी ९५.३५ प्रतिशत, तीतेकरेला ५४.३३ प्रतिशत, घिरौला ९५.१४ प्रतिशत, भिण्डी ९१.१६ प्रतिशत, रायो साग ३५.६६ प्रतिशत, च्याउ ८७.८६ प्रतिशत, काँक्रो ९०.१७ प्रतिशत, अदुवा ४० प्रतिशत र हरियो धनियाँ ९४.३३ प्रतिशतले आपूर्र्ति घटेको छ। 

यसका बाबजुद पनि चिचिण्डो, फर्सी हरियो, स्कुस, तोफु र खुर्सानी हरियोको आगमन भने राम्रो गतिमा बढिरहेको छ। यतिबेला बढी सिजनमा रहेको यी तरकारीको आपूर्ति बढेसँगै मूल्य पनि तुलनात्मक रूपमा कम देखिन्छ। स्कुस, हरियो फर्सीको प्रतिकेजी ५० रुपैयाँदेखि ६० रुपैयाँसम्मको थोक मूल्यमा बिक्री भइरहेको छ। 

कृषि क्षेत्रको क्षतिको तथ्यांक संकलन गर्न मन्त्रीको निर्देशन
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालैको बाढीले कृषि क्षेत्रमा पारेको वास्तविक क्षतिको यकिन गरी आगामी रणनीति बनाउन मन्त्रालयका अधिकारीहरूलाई निर्देशन दिएका छन्।

शनिबार आएको बाढीले कृषि क्षेत्रमा पारेको क्षतिका सम्बन्धमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा बसेको आकस्मिक बैठकमा मन्त्री अधिकारीले बाढीले कृषि क्षेत्रमा के, कति क्षति पुर्‍याएको छ यसको वास्तविक तथ्यांक छिटो संकलन गर्न निर्देशन दिएका हुन्। 

यसैक्रममा मन्त्री अधिकारीले भने, ‘बाढीले थुप्रै कृषि उपजहरूमा क्षति पुर्‍याएको सुनिएको छ, यसलाई सम्बोधन गर्न आवश्यक छ।’ बैठकमा क्षतिको यकिन तथ्यांक छिटो संकलन गरी आगामी रणनीति बनाउने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.