आफैंले सिकेको गाडीमा अस्ताए

आफैंले सिकेको गाडीमा अस्ताए
झ्याप्लेखोलामा पुरिएको बस निकाल्दै सुरक्षाकर्मी । तस्बिर : अभिषेक महर्जन

गोरखा : गोरखा फुजेलका ३८ वर्षका नवराज तिवारीले २०५८ सालदेखि नै बसको खलासी बन्न सिकेका हुन् । १६ वर्षको उमेरमा खलासी बनेर उनी जुन बसको ढोकामा झुन्डिन सिके, त्यही बसको सहचालक बनेर काम गर्दागर्दै गत शनिबार बिहान उनको जीवन समाप्त भयो ।

ना ४ ख २२७० नंबरको बसमा गोरखाबाट काठमाडौं जाँदै गर्दा धादिङको झ्याप्लेखोला पहिरोमा पुरिएर उनको अरु दुई साथीहरूसँग एकै चिहान भयो । उनको यातायात पेशा सरल रेखामा कुदेन । जब बूढीगण्डकी जलविद्युत् आयोजनाले मुआब्जा बाँड्यो, उनले पनि केही रकम हात पारे । जुन बसमा खलाँसी बनेर २० वर्ष बिताए, त्यही बस किनेर बसको साहु बन्ने घरसल्लाह मिल्यो । उनले २६ लाखमा अर्जुन भट्टसँग सो बस किने । हिजोसम्मको खलासी आजै गाडी साहु बने । साहुमात्र बनेनन्, सो गाडीको चालक पनि आफैं बनेर स्वरोजगार बने । केही समयपछि नामी ड्राइभर रिठ्ठे कालेलाई ड्राइभर नियुक्त गरे । 

भीमसेनथापा गाउँपालिका ४ धावाका उनको लाइसेन्सको नाम भने मदन परियार थियो । कोभिडका कारण बिजनेस नपाएपछि किस्ता तिर्न सकेनन् । यही मेसोमा अढाइ वर्षअघि ड्राइभर मदन परियारले १९ लाख ५० हजारमा सो बस किनेका थिए । २६ किस्ता तिरिसक्दा पनि उनले गाडीको छ लाख ३० हजार अझै तिर्न बाँकी नै थियो ।

‘गाडी बेचेपछि फाल्टु भएर बसिरहेका नवराजलाई रिठ्ठे कालेले पार्टटाइम कन्डक्टरको काम दिने गरेका रहेछन् । अस्ति शुक्रबार पनि जाम काठमाडौं भनेर कन्डक्टर बनाएर लगेका रहेछन्’, सोही बसका संस्थापक साहुजी अर्जुन भट्टले भने, ‘भर्खर एक महिनादेखि खलाँसी सिक्दै गरेको विनय भट्टराई पनि त्यही बसमा थियो । आखिरीमा एउटै बसभित्र तीनै जनाको एकै चिहान भयो ।’ पहिरोमा पुरिनुअघि रिठ्ठेकाले ड्राइभरले राती साँढे १० बजेतिर लापुवेशीबाट काठमाडौँ जाने नाइट बसका ड्राइभर दीपक सुनारलाई फोन सम्पर्क गरेका थिए ।

‘हामी बिहान साँढे सातबजे त्यहाँबाट आएको त अहिलेसम्म यहीँ जाममा छौँ । तपाईँ त यहाँ आइपुग्दा भोलि बिहान हुन्छ होला भनेको रहेछ’, अर्जुन भट्टले भने, ‘दीपकले सरकारले नाइट बस नहिँडाउनु भनेको छ । हामी त आउँदैनौं भन्ने जवाफ फर्काएका रहेछन् ।’ आफै साहु, आफै ड्राइभर बनिरहेका मदन, यसअघिका खलाँसी, कन्डक्टर र गाडी साहुसमेत बनेका नवराज र भर्खर एक महिनादेखि खलासी सिक्दै गरेका विनय तीनैजनाको एउटै चिहान बन्यो सोही बस ।बसमा जम्मा दुई जना अरु यात्रु थिए । धार्चे गाउँपालिकाका ७ खानीगाउँका सुकबहादुर गुरुङ र उनकै साथी । 

सुकबहादुरले मुग्लिनमा सो गाडी चढाएका साथीको भने अझै सनाखत हुन सकेको छैन । अन्नपूर्ण पदमार्गमा पर्यटकको सहयोगी बनेर जान लागेका धार्चे ७ खानिगाउँका सुकबहादुर गुरुङ सोही बसभित्र थिए । १०, १२ दिन ट्रेकिङमा हिडेर दसैँअघि घर फर्किने योजना बनाएर गएका उनी अब कहिल्यै फर्कन पाएनन् । उनले राती दुई बजे दिदी मल्ली गुरुङलाई जाममा परिरहेका बेला सम्पर्क गरेका थिए । ‘हामी त अहिलेसम्म सुरुङको मुखभनेर जाममा छमभनेर दिदीलाई फोन गरेका रहेछन्’, भाउजु आइती माया गुरुङले भनिन्, ‘त्यसपछि तीनबजेतिर त घटना भएको रहेछ ।’ झ्याप्लेखोला पहिरोमा पुरिएको बसभित्र रहेका पाँचैजनाको शव भेटिएको छ । चालक दलका ३ र २ यात्रुको शव भेटिएको गोरखा दरौंदी यातायात सेवा प्रालिका अञ्जन खत्रीले बताए ।

आइतबार उद्धारका क्रममा बसभित्र ना ४ ख २२७० नंबरको बस र सोका धनी तथा चालक मदन परियारको शव पहिचान भएको हो । उनी भिमसेन थापा गाउँपालिका ४ धावाका हुन् । साथै चालक धावा निवासी विनय भट्टराई र फुजेलका नवराज तिवारीको शव फेला परेको खत्रीले बताए । दुईजना यात्रुमध्य एकजना धार्चे गाउँपालिका ७ खानीगाउँका २७ वर्षका सुकबहादुर गुरुङ रहेको त्यहाँका वडाअध्यक्ष राकेश गुरुङले पुष्टि गरेका छन् । अर्का यात्रु सुकबहादुरकै सम्पर्कमा मुग्लिनबाट सो बसमा चढेका थिए । गत शुक्रबार धार्चे ७ लापुवेशीबाट काठमाडौँका लागि छुटेको सो बस आइतबारसम्म सम्पर्कविहीन थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.