प्रधानमन्त्री ओली स्वदेश फर्किँदै, आजै मन्त्रिपरिषद् बैठक बस्ने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन्। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिएर प्रधानमन्त्री आज दिउँसो चार बजे स्वदेश काठमाडौं आइपुग्ने कार्यतालिका छ। स्वदेश फिर्ताका लागि अमेरिकाबाट उनी कतार आइपुगेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली स्वदेश ओर्लिएलगत्तै मन्त्रिपरिषद्को बैठक बस्ने गरी बैठक आह्वान गरेका छन्। ओलीले आजको बैठकमा बाढी पहिरोको क्षति र हालसम्म भएका कामका बारेमा मन्त्रीहरूसँग ब्रिफिङ लिनेछन्। त्यसपछि बाढी पीडितको सम्बन्धमा थप निर्णय हुने बताइएको छ। शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु र ३० जना बेपत्ता भएका छन्।
गत असोज ४ गते अमेरिका गएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभा असोज १० गते सम्बोधन गरेका थिए। अमेरिकामा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्तासमेत गरेका थिए।