सुन्दर नगर बनाउन ‘क्लिन बागलुङ’ अभियान

सुन्दर नगर बनाउन ‘क्लिन बागलुङ’ अभियान

बागलुङ : बागलुङ नगरपालिकाले बजार क्षेत्रलाई सुन्दर बनाउनका लागि ‘क्लिन बागलुङ’ अभियान सुरु गरेको छ। 

नगरपालिकाले फोहोरको दिगो व्यवस्थापन गर्नको लागि क्लिन बागलुङ अभियान आइतबारदेखि सञ्चालन गरेको छ। नगरपालिकाले कुहिने, पुनः प्रयोग गर्न मिल्ने र हानिकारक/ पुनः प्रयोग गर्न नमिल्ने फोहोर छुट्टाछुट्टै राख्नका लागि बाल्टी वितरण गरेको छ। 

नगरप्रमुख वसन्त कुमार श्रेष्ठले बागलुङ नगपालिकाको नगर क्षेत्र वडा नम्बर १ रामरेखादेखि वडा नम्बर ४ भित्रका सबै घरमा बाल्टी वितरण गरिने बताए। उनले घर–घरमा उत्पादन हुने कुहिने, नकुहिने तथा जोखिमयुक्त फोहोरलाई घर–घरबाटै छुट्याएर व्यवस्थापन गरिने बताए। 

‘कुहिने, पुनः प्रयोग गर्न मिल्ने र हानिकारक/पुनः प्रयोग गर्न मिल्ने फोहोरलाई छुट्टाछुट्टै राख्नको लागि तीन वटा बाल्टी वितरण अभियान सुरु गरेका छौं,’ नगरप्रमुख श्रेष्ठले भने,‘क्लिन बागलुङको अभियानलाई कडाइको साथ लागू गरेर सुन्दर बागलुङ निर्माण बनाउन लागिपर्नेछौं।’

नगरपालिकाले आइतबारदेखि उपभोक्ताहरुलाई बाल्टी वितरण सुरु गरेको छ। नगरप्रमुख श्रेष्ठले १० दिनभित्र वडा नम्बर १ देखि वडा नम्बर ४ सम्मका ५ हजार उपभोक्ताहरूलाई बाल्टी वितरण गरिने बताए। ‘५ हजार उपभोक्ताहरूलाई तीन थरी बाल्टी वितरण गर्दैछौं,’ नगरप्रमुख श्रेष्ठले भने, ‘एक वटा बाल्टी उपभोक्ताले ४५० रुपैयाँमा खरिद गर्नुपर्छ। एक वटा बाल्टी खरिद गर्दा दुई वटा फ्रिमा उपलब्ध गराउछौं।’

१५ हजार बाल्टी वितरणका लागि नगरपालिकाको जनशक्ति अपुग हुने भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट १०/१० जना जनशक्ति स्वयंसेवकको रूपमा खटाइने भएको छ।’

नगरपालिकाले कुहिने फोरलाई सकेसम्म घरकै करेसाबारीमा प्रयोग गर्न सुझाव दिएको छ। ‘सकेसम्म कुहिने फोहोरलाई करेसाबारीमा प्रयोग गर्नुहोस् भनेका छौं,’ नगरप्रमुख श्रेष्ठले भने, ‘करेसाबारीमा प्रयोग नगरे नगरपालिकाले पठाउने हरियो गाडीमा दिनुपर्नेछ। त्यसका लागि हरियो रंगकै बाल्टी घरघरमा दिइएको छ। नगरपालिकाले कुहिने फोहोरलाई नगरपालिकाले कम्पोस्ट मल बनाउने छ।’ नगरपालिकाले कम्पोस्ट मल बनाउनको लागि वडा नम्बर ४ कुँडुलेमा जग्गा भाडामा लिइएको जनाएको छ। 

प्लाष्टिक र ओभानो कागज लगायतका नकुहिने फोहोर नगरपालिकाको नीलो गाडीमा उठाउने भएको छ। त्यसको लागि निलो रंगको बाल्टी उपभोक्ताहरूलाई वितरण गरिएको छ। यस्तै नगरपालिकाले वितरण गरेको रातो बाल्टीमा फुटेका सिसा, अस्पतालजन्य फोहोर र विशेष विधिले मात्र सडाउनुपर्ने फोहोर संकलन हुने नगरप्रमुख श्रेष्ठले बताए। उनले निलो रंगको बाल्टीको फोहोर र रातो रंगको बाल्टीको फोहोर संकलनका लागि नगरपालिकाले सोही रंगका ट्याक्टर परिचालन गरेको बताए। 

नगरप्रमुख श्रेष्ठले फोहोर संकलनका लागि हरेक टोलमा दैनिक फरक फरक रंगको सवारी पठाइने बताए। नगरपालिकाले पुनः प्रयोग हुन सक्ने र प्रयोग हुन नसक्ने फोहोर वडा नम्बर १ को डम्पिङ साइडमा फाल्ने र त्यसको उचित सदुपयोग गर्ने जनाएको छ। 

नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/०८२ मा ‘क्लिन बागलुङ’ अभियानको लागि १ करोड रुपैयाँ बजेट विनियोजित गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.