अग्रिम टिकट बुकिङका लागि सर्वसाधारणको भीड
काठमाडौं : गोगंबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकटका लागि भीडभाड लागेको छ। दसैंमा घर जानका लागि सर्वसाधारणहरूको भीड लागेको हो।
गत शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला गरिएको थियो। देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरिएको हो।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बिहान ६ बजेदेखि नै अग्रिम टिकट बुकिङ खुला भएको र सर्वसाधारणहरूले झरीका बाबजुत पनि उत्साहका साथ टिकट काटेको बताए। उनले शुक्रबारदेखि परेको अविरल वर्षाका कारण देशभरका राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण यात्रुलाई मर्का परेकाले अवरुद्ध सडक सूचारुका साथै ममर्त गर्न सरकारले ढिलाई गर्न नहुने बताए।
सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारीसाधनको टिकट भने घटस्थापनाबाट खुल्ने बताइएको छ।