अदालतमा देवकुमारको बयान सकियो, थुनछेक बहस भोलि

अदालतमा देवकुमारको बयान सकियो, थुनछेक बहस भोलि

बागलुङ : सहकारी ठगी मुद्दाका आरोपी इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीको सोमबार अदालतमा बयान सकिएको छ। 

सहकारी गठीको आरोप लागेपछि फरार रहेका नेपालीलाई गत शुक्रबार भारतको नयाँ दिल्लीमा पक्राउ गरेर काठमाडौं ल्याइएका नेपालीलाई आईतबार साँझ हवाई मार्ग हुँदै पोखरा ल्याइएपछि नेपाल प्रहरीले राति नै सडक मार्ग हुँदै बागलुङ ल्याएको हो। सोमबार कार्यालय खुला भएपछि जिल्ला प्रहरी कार्यालय बागलुङले नेपालीलाई बयानको लागि जिल्ला अदालत बागलुङमा हाजिर गराएको थियो।

बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका ५१ वर्षीय नेपालीलाई सहकारी ठगी र संगठित अपराधको आरोप छ। उनीसँगै सोही सहकारी ठगीमा संलग्न ५८ वर्षीय ओमबहादुर नेपाली भन्ने ओमप्रसाद दर्जीलाई पनि बागलुङ ल्याई अदालतमा बयान लिइएको छ। 

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशवबहादुर थापाले नेपाली र दर्जीले सोमबार अदालतमा बयान दिएको बताए। ‘सहकारी ठगीका आरोपित नेपाली र दर्जीको सोमबार जिल्ला अदालत बागलुङमा बयान लिइएको छ,’ उनले भने, ‘बयान लिने काम सोमबार सम्पन्न भयो। मंगलबार जिल्ला अदालत बागलुङको इजलासमा थुनछेकको बहस हुनेछ।’

नेपाली र दर्जीलाई पुर्पक्षको लागि कारागार पठाउने वा धरौटीमा रिहा गर्ने बारे मंगलबार अदालतको बहसपछि थाहा हुने प्रहरीले बताएको छ। इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन्भने पोखरा सिर्जनाचोकमा समेत इमेज सहकारी खोलिएको छ। सहकारीका संस्थापक अध्यक्ष नेपालीले बचतकर्ताको रकम अपचलन गरी १६ महिनादेख फरार रहेका थिए। 

२०८० बैशाख ७ गते सहकारीमा तरलता अभाव देखाएर सहकारी बन्द भएपछि जेठ ४ गतेदेखि सम्पर्कविहीन भएका थिए। जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो। नेपालीविरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोपमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालतमा १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो।

१२ माघ २०८० मा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो। इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो।

यो मुद्दामा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन्। उनीहरूलाई जिल्ला अदालत बागलुङको २०८० साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ। भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.