४ दिन हिँडेरै राजधानी

बीपीका यात्रु हिँडेरै राजधानी, पृथ्वी राजमार्गका यात्रुका सास्ती पनि उस्तै

बीपीका यात्रु हिँडेरै राजधानी, पृथ्वी राजमार्गका यात्रुका सास्ती पनि उस्तै
बीपी राजमार्ग अबरुद्ध भएपछि हिँडेरै राजधानीतर्फ जाँदै यात्रुहरू ।

बिहीबारदेखि  परेको अविरल वर्षाले राजधानी जोड्ने मुख्य नाका अबरुद्ध भए। काम विशेषले  राजधानी हिँडेका र छोडेका यात्रु बीच बाटोमा अलपत्र परे। त्यस्तै, राजधानी  जोड्ने अर्को मुख्य बीपी राजमार्गका विभिन्न खण्ड पहिरोले अबरुद्ध भए। यात्रु  अलपत्र परे। तत्काल सडक सुचारु हुने अवस्था नदेखेपछि चार दिन हिँडेरै यात्रु  काठमाडौं आइपुगे। यात्रामा उनीहरूले भोगेका दुःख र पीडा भने भनिसाध्य छैनन् । उता, मुग्लिन– नागढुंगा–पृथ्वी राजमार्गका यात्रुले भोगेका सास्ती पनि कम  छैनन्।

धुलिखेल पुगेपछि श्वास फेरें 

खुट्टामा फोकै फोका। पिँठ्युमा मैलो न मैलो झोला। ताप्लेजुङका राजेश थापा चार दिन हिँडेर सोमबार धुलिखेल पुगे। अनि, खुइय, गर्दै भने, ‘धन्न बाँचियो।’

थापा असोज १० गते घरबाट हिँडेका थिए। सुमो चढेर काठमाडौं हिँडेका थापा बीपी राजमार्गअन्तर्गतको रोशी–११ मा आएको पहिरोले थुनिएका थिए। त्यसपछि सुमो बाटोमै छोडेर हिँडेरै राजधानी काठमाडौंसम्म पुग्ने निधो गरे। किनभने, सोमबार बिहान १० बजेको दुबईको टिकट थियो। अनि, पहिरो छिचोल्दै, बाढी तर्दै, पानीमा भिज्दै धुलिखेल पुगे। तर, फ्लाइट भने भेट्टाउन सकेनन्। ‘म र श्रीमती १० गते ताप्लेजुङबाट हिँडेका थियौं,’ थापाले भने, ‘रोशीको–११ मा पहिरोेले थुन्यो। राजमार्ग खोलाले बगाएपछि स्कुलमा बास बस्यौं। शनिबार दिनभरि तेमालको उकालो चढ्न सफल भयौं। बल्ल धुलिखेल आउन सकियो।’

बाटोमा अलपत्र परेपछि भोकै रात बिताएको उनले बताए। धुलिखेल नआइपुग्दासम्म उता, घरपरिवारमा रुवाबासी चलेको थापाले सुनाए। चार वर्ष दुबईमा बसेर एक महिने बिदामा थापा घर आएका थिए। बिदा सकेर फर्कने क्रममा यस्तो कष्ट व्यहोर्नुपरेको उनले बताए। थापाकी पत्नी निमा शेर्पाले पनि अलपत्र पर्दाको पीडा सुनाइन्।

‘विदेश हिँडेका छोरा र पुर्‍याउन हिँडेकी बुहारी ५ दिनसम्म सम्पर्कमा नआएपछि घरमा सासू–ससुरा निकै चिन्तामा पर्नुभएको रहेछ,’ उनले भनिन्, ‘धुलिखेल पुगेपछि घरमा सम्पर्क गर्न पाइयो। बल्ल, श्वास फेरेको अनुभूति भयो।’ पति थापालाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्न आफु काठमाडौं जान लागेको उनले बताइन्। 

सल्यानका दीपक भण्डारी काम विशेषले विराटनगर गएका थिए। काठमाडौं फर्किंदै थिए। तर, बाढी–पहिरोले सडक अवरुद्ध भएपछि बाटोमा निकै कष्ट व्यहोर्नुपरेको बताए। ‘कठिन यात्राका बारेमा भन्न सक्ने अवस्था छैन,’ सोमबार धुलिखेल पुगेका भण्डारीले भने। आफू अलपत्र परेपछि तीन दिनसम्म परिवारका सदस्य सुत्नै नसकेको उनले बताए। धुलिखेल पुगेपछि घरमा रहेकी आमासँग फोनमा कुरा गरे। ‘आमा म धुलिखेल आइपुगेँ। अब बाँचिन्छ होला।’ त्यसपछि फोनमा आमाले रुँदै गरेको स्पष्ट सुनिन्थ्यो। सर्लाहीका रमेश श्रेष्ठ सुमो चालक हुन्।

जीवनमा उनले धेरै यात्रुलाई ओहोर दोहोर गराए। तर, जीवनमा यसपटक जस्तो सास्ती कहिल्यै नभोगेको बताए। बिहीबारदेखि परेको अविरल वर्षाले बीपी राजमार्गका विभिन्न ठाउँमा क्षति पुर्‍यायो। ठाउँ–ठाउँमा पहिरो खस्यो। गाडी गुड्नै नसक्ने भएपछि चार दिन हिँडेर यात्रीहरू सोमबार धुलिखेल पुगेका थिए। यात्राका क्रममा उनीहरूले भोगेका पीडा भनिसाध्य छैनन्। बीपी राजमार्गको रोशी गाउँपालिका खण्डमा पहिरो खस्दा हिँड्न पनि निकै कठिन भएको यात्रुले सुनाए। बाटो खोलाले बगाए पछि मान्छे हिँड्ने बाटोसमेत नभएकाले धेरै यात्रुहरूबीच बीचमा फसेका थिए।

सोमबार बेलुका धुलिखेलदेखि भकुण्डेसम्म बाटो खुलाएको छ। बीपी राजमार्गको रोशी गाउँपालिका खण्ड खुलाउनको लागि अझै समय लाग्ने सडक विभागले जनाएको छ। बीपी राजमार्गका फसेका यात्रुलाई आइतबार र सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो। तर, उद्धार नभएका यात्रुहरू हिँडेरै धुलिखेल पुगेका थिए। 

बीपीमा अझै छन् अलपत्र यात्रु 

सिन्धुलीको कमलामाई नगरपालिका–३ चपौलीका विशाल सतशंकर चार दिनदेखि काभ्रेको बीपी राजमार्गमा अलपत्र परेका छन्। कालघार सिन्धुलीका कलाकार सतशंकर असोज ११ गते बागमती प्रदेश सरकारद्वारा काठमाडौंमा आयोजित पर्यटन दिवसको एक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा शुक्रबादेखि सिन्धुली र काभ्रे जिल्लाको सिमानामा फसेका हुन्। उनीसँगै कलाघरका १० जना कलाकार बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्ग रोशी र सुनकोशी नदीमा आएको बाढी र पहिरोका कारण अबरुद्ध भएपछि सतशंकरसहित हजारौं व्यक्तिबीच सडकमै अलपत्र परेका छन्।null

सिन्धुलीको फिक्कल गाउँपालिका ४ खाङसाङमा मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी खण्ड पहिरोका कारण अबरुद्ध हुँदाबीच बाटोमै फसेको सयौं यात्रुहरूको बिजोक छ। उनीहरूमध्ये सोमबार दिउँसो १६ जना बिरामीसहित वृद्ध तथा बालबालिकालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिए पनि अन्य व्यक्तिहरूको उद्धार हुन सकेको छैन।

काभ्रेको पात्लेखेतदेखि यात्रुहरू पैदल हिँडेरै भए पनि काठमाडौं र सिन्धुलीतर्फ फर्कन थालेका छन्। बाढी र पहिरोका कारण राजमार्ग अबरुद्ध भएपछि चारदिनदेखि यात्रुहरू भोकभोकै पैदल यात्रा गरेर गन्तव्यतर्फ फर्कन थालेका छन्।

झापाबाट काठमाडौंतर्फ हिँडेका द्रोणप्रसाद गौतम ३ दिनदेखि बीपी राजमार्गको बीचबाटोमै अलपत्र पर्दा राजमार्ग खुल्ने कुनै सम्भावना नभएपछि हिँडेरै काठमाडौंतर्फ लागेको दुखेसो पोख्छन्। ‘हामीहरू चार दिनदेखि फसेका छौं। हामीसँगै भएको तीन जनाको बाढी र पहिरोले बगाउँदा मृत्यु भएको छ। बीपी राजमार्ग खुल्ने सम्भावना अझै छैन। त्यहीँ भएर हिँडेरै भए पनि गन्तव्य पहिल्याउन थालेका हौं,’ उनले भने।
ओखलढुंगा, विराटनागर, झापादेखि सिन्धुली हुँदै बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गबाट काठमाडौं तर्फ हिँडेका सयौं सवारी साधनका हजारौं यात्रुहरूबीच सडकै अलपत्र छन्। 

बीपी राजमार्ग अबरुद्ध हुँदा पाँच हजार बढी यात्रु अलपत्र छन्। तीमध्ये नेपाली सेनाको हेलकिप्टरबाट ६ सय बढीलाई उद्धार गरिए पनि अझै चार हजार बढी यात्रुबीच सडकमै अलपत्र छन्।
अलपत्र यात्रुहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार कार्य जारी रहेको र खुर्कोट–नेपालथोकसम्मका यात्रु र सवारीहरूलाई सिन्धुलीतर्फ फर्काउन थालिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।

राजमार्ग खुल्ने कुनै निश्चित नभएपछि अलपत्र यात्रुहरू १८ घण्टादेखि पैदल हिँडेरै अबरुद्ध राजमार्ग पार गर्न थालेका छन्। ‘राजमार्ग खुला र गन्तव्यतर्फ हिँडौला भन्दाभन्दै चार दिन विति सक्यो, तर अबरुद्ध राजमार्ग खुल्ने कुनै छाँटकाँट छैन, बरु हिँडेरै भए पनि अबरुद्ध स्थल पार गर्ने गरी पैदल नै हिँड्नु पर्ने अवस्था आएको छ,’ कलाघर सिन्धुलीका कलाकार सुमन थापामगरले भने।

राजमार्ग अबरुद्ध हुँदा अलपत्र परेका यात्रुहरूले चार दिनदेखि खाना खानसमेत पाएका छैनन्। चाउचाउ र बिस्कुट खाएर जीवन बचाएकाहरू समयमा उद्धार नहुँदा वृद्ध र बालबालिका तथा बिरामीहरूको बिजोग भएको बताउँछन्।

राजमार्ग अबरुद्ध हुँदा बिरामी बोकेर हिँडेका एम्बुलेन्सहरूसमेत जाममा पर्दा दुई जनाको बीच बाटोमै मृत्यु भएको छ। उनीहरूको शव फर्काउनसमेत निक्कै समस्या भएको थियो। 

रोशी र सुनकोशी नदीमा आएको बाढी र पहिरोका कारण सिन्धुली तथा काभ्रे जिल्लाअन्तर्गत बीपी राजमार्गको दर्जनौं स्थानमा क्षति पुगेको छ। अबरुद्ध राजमार्ग खुर्कोट–नेपालथोक खण्ड अस्थायी रूपमा सञ्चालन भए पनि नेपालथोक–धुलिखेल खण्ड सञ्चालन हुन अझै केही दिन लाग्ने बताइएको छ।

धादिङ छिचोले, दाउन्नेमा फेरि फसेँ 

धादिङका विभिन्न स्थानका पहिरो छल्दै नवलपरासी पुगेका यात्रु फेरि दाउन्नेमा फसेका छन्। सोमबार साँझ पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिँदा सडक अवरुद्ध भएको हो। पूर्व र पश्चिमको एकमात्रै सडक रहेकाले सयौं यात्रुहरू सडकमै अलपत्र परेका छन्। चितवन काठमाडौं सडकको कष्टकर यात्रा गरेका यात्रुहरूले पुनः दाउन्नेको जाम झेल्नुपर्दा थप सास्ती व्यहोर्नुपरेको छ। दाउन्नेमा सडक एक फिट तल भासिएको छ भने, हाइटेन्सन लाइनको पोल ढलेर सडकमाथि झरेको छ।null

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेमश बोहोराका अनुसार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा सडक चर्केर भासिएको छ। सडक किनाराको रिर्टनिङ पर्खाल पनि चर्केको छ। सडक खुलाउने प्रयास जारी राखिएको भए पनि पानी निरन्तर परेकाले कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेशमा बितेको चार दिनयता भएका विपद्का घटना बाढी–पहिरो तथा डुबानबाट १ करोड ४३ लाख रुपैयाँ बराबरको क्षति भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार विगत चारदिनमा विपद्का ३२ वटा घटना घटेका थिए। ती घटनामा १ करोड ४३ लाख बराबरको क्षति भएको उल्लेख छ। यो अवधिमा अधिक वर्षा, पहिरो, बाढी तथा डुबान भएको छ।

विपद्मा परेर ३ जनाको मुत्यु, २ जना घाइते र दुई जना बेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेले जानकारी दिए। बाढीमा परेर रुपन्देहीमा दुई जना र पानीमा डुबेर बाँकेमा एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यो अवधिमा १९ वटा घर भत्किएका छन् भने १ सय ६८ वटा घर र ७ वटा गोठमा आंशिक क्षति भएको छ। ३ वटा सरकारी भवनमा पनि आंशिक क्षति पुगेको छ। लुम्बिनी प्रदेश सरकारले प्राकृति विपद्को सम्भावित घटनाबाट हुन सक्ने क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको थियो।मुख्यमन्त्री चेतनारायण आचार्यले विपद्को प्रतिकार्यमा जुट्न सबैलाई निर्देशन समेत दिएका छन्। उनले उद्धार र क्षति न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरेका हुन्।

यता, रुपन्देहीमा बाढीमा हराएको जीप फेला परेको छ। रुपन्देहीमा शनिबारदेखि बेपत्ता भएको चालक र सहचालकको शव घघरा खोलामै फेला परेको हो। 

कृषि विज्ञ बन्ने नवीनको सपना झ्याप्लेखोलामै बिलायो 

नागढुंगा चेक पोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोला नजिक पुग्दा शुक्रबार राति धेरै यात्रुले ‘अब त राजधानी प्रवेश गरियो’ भन्ने सोचेका थिए। झ्याप्ले खोला कटे लगत्तै काठमाडौं सुरु हुन्छ।

काठमाडौं आइपुगियो भन्दै ढुक्क भएका ती यात्रुलाई कतिखेर झ्याप्ले खोलाको पहिरोेले पुर्‍यो, थाहै पाएनन्। सोही पहिरोमा पुरिएर ज्यान गुमाउनेमध्ये बझाङको जयपृथ्वी नगरपालिका–१ चिउरीका नरेन्द्रबहादुर सिंहका जेठा छोरा नवीन सिंह पनि थिए। उनी कलिलै उमेरमा अस्ताउन पुगे। चितवनस्थित रामपुर कृषि क्याम्पसमा कृषि विज्ञानमा स्नातक पढिरहेका उनको सपना कृषि विज्ञ बन्ने थियो। 

अन्तिम वर्षको पढाइ सकेर डोल्पा जिल्लामा ओजेटी गरेका नवीन त्यही रिपोर्ट बुझाउन क्याम्पस गएका थिए। नवीनका आफन्त सुन्दर सिंहका अनुसार आइतबार साँझ उनी चढेको गाडी पहिरोमा पुरिएको हो। पढाइमा जेहेन्दार नवीन पूर्ण छात्रवृत्तिमा रामपुर क्याम्पसमा पढिरहेका थिए।

मिलनसार र मिजासिलो व्यवहारले गाउँमा पनि सबैको प्यारो नवीनको मृत्युको खबरले वडा नै शोकमग्न भएको छ। स्नातक तहको अध्ययन सकिएकाले दुई वर्ष विदेश गएर पढ्ने र भविष्यमा कृषि विज्ञ बन्ने सपना बुनेका नवीनको मृत्युले परिवारमा मात्रै नभएर सिंगो गाउँलाई नै क्षति पुगेको कैलाशपति आधारभूत विद्यालयका शिक्षक गोपाल विष्टले बताए। २५ वर्षीय नवीनको शव बुझ्न उनका बुवा नरेन्द्र सिंहलगायत आफन्त काठमाडौं पुगेका छन्। उनका बुबा नरेन्द्र सिंह घचाया माविका शिक्षक हुन् भने नेपाल शिक्षक महासंघ मष्टा गाउँपालिकाका संस्थापक अध्यक्ष पनि हुन्।

ओलम्पियार पुग्ने सपना अधुरै, गल्याङ शोकमा
स्याङ्जाको गल्याङ शोकमा डुबेको छ। गल्याङ नगरपालिका ३ लल्याङका एकाघरका ३ जनाको पहिरोमा परी मृत्यु भएपछि गाउँ नै शोकमा परेको हो।

धादिङको झ्याप्ले खोला पहिरोमा परी आमा सीता भट्टराईसँगै उनका १५ वर्षका जुम्ल्याहा छोराछोरा दिपेश र दिपिका भट्टराईको निधन भएको थियो। बुटवलस्थित कालिका माविमा कक्षा १० मा अध्ययनरत उनीहरू बंगलादेश जाँदै थिए। बंगलादेशमा हुने नेशनल एस्ट्रोनोमी ओलम्पियारमा भाग लिन जाने क्रममा उनीहरू चढेको बस पुरिएपछि उनीहरूसँगै अन्य यात्रुको पनि ज्यान गएको छ। 

उनीहरूले अनलाइनबाट फर्म भरेर नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा भएको नेसनल एस्ट्रोनोमी ओलम्पियार २०२४ मा भाग लिएका थिए। पहिलो चरणमा छनोट भएर दोस्रो चरणको लागि बंगलादेश पुग्नुपर्ने थियो। बंगलादेशमा आयोजना हुने उक्त कन्फ्रेन्समा ३२ राष्ट्रका विद्यार्थी सहभागी हुने बताइएको छ।

अध्ययनमा उत्कृष्ट उनीहरू कक्षा १० अर्थात् एसईईको तयारीमा जुटेका थिए। यद्यपि, ओलम्पियारमा जाने उनीहरूको सोचमा विद्यालयले समर्थन गर्‍यो। विद्यालयले बिदा दिने भएपछि उनीहरू शुक्रबार काठमाडौं हिँडेका हुन्। गन्तव्यमा नपुग्दै उनीहरू बीचमै अस्ताए। 
बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस शुक्रबार साँझ पुरिएको र शनिबार साँझमात्रै खबर आएको नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए।

घटना सुनेर असह्यै पीडा भएको बताउँदै प्रमुख भट्टराईले भने, ‘पढ्नमा निकै मेधावी थिए बाबुनानी। अब्बल पढाइका कारण उनीहरू बंगलादेश जाने छनौटमा परेका हुन्। साह्रै दुखद् घटना भो।’ ज्यान गुमाउने प्रमुख भट्टराईका भाइबुहारी र छोराछोरी हुन्। 

जुम्ल्याहा बाबुनानीका हजुरवुवा मेघनाथ भट्टराई गल्याङमा बस्छन्। आमा सीता छोराछोरी पढाउनका लागि बुटवल बस्थिन्। उनीहरूका बाबु हुमनाथ भट्टराई वैदेशिक रोजगारका लागि कोरियामा छन्। 

लल्याङमात्र होइन सिंगो गल्याङवासी शोकमा छन्। ‘जुम्ल्याहा बाबुनानी हरेक क्रियाकलापमा उत्कृष्ट थिए। गल्याङको एक उज्वल नक्षेत्र थिए। अब, सम्झना मात्र रह्यो’, उपप्रमुख हेमा न्यौपाने भन्छिन्। 
विलक्षण प्रतिभाका धनी थिए, दिपेश–दिपिका

विद्यार्थीको नियमित दैनिकी हो विद्यालय जानु र पढ्नु। यो सवै विद्यार्थीले गर्ने दैनिक क्रियाकलाप हो। तर, कक्षा १० मा पढ्दै गरेका जुम्ल्याहा दाजुबहिनी १५ वर्षीया दिपेश र दिपिकाको दैनिकी यत्तिमै सीमित थिएन। पढाइमा त अब्बल थिए नै, अतिरिक्त क्रियाकलापनमा पनि कम थिएनन्। 
बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा उनीहरूले कक्षा २ देखि पढ्दै आएका थिए। दुई कक्षादेखिका सँगै पढेका ६ सय बढी साथीभाइ, सुरुदेखि पढाइरहेका शिक्षकशिक्षिका सबैको मनमुटुमै बसेका थिए, यी जुम्ल्याह दाजुबहिनी।

कक्षा ९ देखि १० सम्म नियमित रूपमा नेपाली विषय पढाइरहेका शिक्षक ज्ञानेश्वर आचार्य भन्छन्, ‘जुम्ल्याह यी दाजुबहिनी पढाइमा तीक्ष्ण थिए। अबको एसईईमा फोर जीपीए ल्याउने गरी तयारी राम्रो थियो। ९ कक्षाबाट १० मा जाँदा पनि फोर जीपीए आएको छ। मैले पनि उनीहरूलाई राम्रोसँग वाच गरिरहेको थिएँ’, उनी भन्छन्, ‘पढाइमा मात्र होइन अतिरिक्त क्रियाकलापमा उनीहरूले कहिल्यै तेस्रो हुनु परेन। दाइ प्रथम भए बहिनी द्वितीय, बहिनी प्रथम भए दाइ द्वितीय भएर पुरस्कार लिएर आउँथे।’ 

बुटवल उपमहानगरपालिकाले सञ्चालन गर्ने पालिकास्तरीय कविता प्रतियोगितादेखि जिल्लास्तरीय निवन्ध प्रतियोगितामा दाजुबहिनीले सधैं प्रथम, द्वितीय पुरस्कार लिएर विद्यालयकै प्रतिष्ठा बढाइरहेका आचार्य स्मरण गर्छन्।

जुम्ल्याहा कलिला यी मुनाहरू झ्याप्ले खोलाको पहिरोमा पुरिएर सधैंका लागि अस्ताए भन्ने खबर उनै नेपाली शिक्षक आचार्यले अप्रत्यासित रूपमा सुने। बुटवलबाट काठमाडौं जाँदै गर्दा धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएर आमा सीता भट्टराईसँगै जुम्ल्याहा दाजुबहिनी सदाका लागि अस्ताएको उक्त खबरले उनीमात्रै नभई सिंगो विद्यालय परिवारलाई नै स्तब्ध तुल्यायो।

शिक्षक आचार्य मात्र होइन, खबर सुने लगत्तै समग्र विद्यालय परिवार शोकमा छ। बाल्यकालदेखि सँगै पढेका विद्यार्थी र पढाएका शिक्षकहरूको आँखाको आँसु अझै ओभाइसकेको छैन। केही दिन त सँगै पढेका विद्यार्थीहरू कक्षाकोठामै उपस्थित भएनन्। ‘कतिपय विद्यार्थीलाई त सम्हाल्नै गाह्रो भइरहेको छ’, आचार्य भन्छन्, ‘अशैय पीडा भइरहेको छ। सम्हालिनुको विकल्प रहेन। विलक्ष्ण क्षमताका ती भाइ बहिनीहरूको चिर शान्तिको कामना गर्छु।’ 

पहिरोले दाजुको परिवारै लग्यो, २ वर्षीय भदालाई अब कसरी हुर्काऊँ ’ 

भीमेश्वर नगरपालिका–६ मैदानेमा एकै परिवारका ३ जनाको मृत्यु भएको। दुई वर्षीय एक बालक भने पहिरोभित्रै सशुकल भेटिएका छन्। उक्त घटनापछि परिवार शोकमा डुबेको छ। शुक्रबार र शनिबारको अविरल वर्षाले राजकुमार भुजेलको परिवार नै सखाप पारेको हो। ४१ वर्षीय राजकुमार भुजेल, उनकी श्रीमती ३७ वर्षीया राधिका भुजेल र १५ वर्षीया छोरा सुजन भुजेलको पहिरोमा पुरिएर मृत्यु भएको हो। २ वर्षीय बालकलाई भने पहिरोबाट सकुसल उद्धार गरिएको छ। 

बालक अहिले फूपुको संरक्षणमा छन्। प्रतिमा भुजेल २ वर्षीय भदाहालाई कसरी हुुर्काउने भन्ने चिन्तामा छिन्। दिउँसो दाइ सुतिरहेको र भाउजू सानो भदालाई खाजा खुवाउँदै गरेको र ठूलो भदा पढ्दै गरेको अवस्थामा एक्कासि पहिरोले पुरेको प्रतिमाले बताइन्। 


छानबिन समिति गठन गर्न माग 

गत शनिबार पहिरोमा परी मृत्यु भएका नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका विद्यार्थीको परिवारले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समितिको माग गरेका छन्। एन्फाले लापरबाही गर्दा बच्चाहरूको अनाहकमा ज्यान गएको पीडित परिवारका सदस्यले बताएका छन्।

पहिरोमा परि मृत्यु भएका हेटौंडा उपमहानगरपालिका–१२ का अनुपम घलानका आफन्तले भने, ‘अविरल वर्षा भइरहेको थियो। सञ्चार माध्यमदेखि सबैतिर अघिल्लो दिन नै सुरक्षित स्थानमा बस्नु भनेको थियो। अघिल्लो दिन नै लगेको भए वा सोही स्थानमै बसेको भए पनि घटना नहुने रहेछ। एन्फाले गम्भीर त्रुटि गर्दा हाम्रो कलिलो बच्चाको ज्यान गयो। विपद् त बाहाना मात्र भयो व्यवस्थापन पक्षले गल्ती गर्दा हाम्रो बच्चाको ज्यान गएकोको छानबिन हुनुपर्छ। दोषीलाई कारबाही गर्नुपर्छ।’ 

यस्तै हेटौंडा –१३ का रामबहादुर वाइवाले घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संग्लनलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने बताए। त्यहाँको भैगोलिक अवस्था, सुरक्षाको स्थितिलगायत केही पनि अध्ययन नै नगरी त्यहाँ एन्फा एकेडेमी सञ्चालन गरेको उनले बताए। यस्तै जिल्ला फुटबल संघ मकवानपुरका पूर्व उपाध्यक्ष सुविन घिमिरेले एकेडेमीको गैरजिम्मेवार पूर्ण हर्कतले उनीहरूको ज्यान गएको बताए। अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वअध्यक्ष गणेश थापाले समेत उक्त घटनामा प्रतिक्रिया जनाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत एन्फाको खुलेर विरोध गरेका छन्। उनले नेपाल सरकारले अलर्ट गराउँदा पनि एन्फा तथा स्कुल व्यवस्थापनले समयमा नै उद्धार नगर्ने तथा उद्धार गर्दा पनि लापरवाही गरिदाको कारणले ६ जना निर्दोष युवा खेलाडीहरूले पहिरोमा परी अकालमा ज्यान गुमाएको बताए। उनले त्यसमा जबसम्म निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही तथा उचित क्षतिपूर्ति हुँदैन तबसम्म मृत युवा खेलाडीहरूको आत्माले शान्ति प्राप्त गर्दैनन् भन्दै असतुष्टि जनाए। 

यस्तै एन्फाकै पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालेसमेत उक्त घटनाबारे प्रतिक्रिया दिँदै सामाजिक सञ्जाल फेसबुकमा गम्भीर लापरबाही कस्सको हो ? भन्दै पोष्ट गरेका छन्। उनले भनेका छन्, ‘आज नेपाली फुटबलमा कालो दिनको रुपमा रह्यो। ६ जना कलिला खेलाडीहरू नेपालको राष्ट्रिय स्तरको खेलाडीको रूपमा स्थापित हुन्छु भन्ने आकांक्षामा पूर्णविराम मात्रै लागेन कि, जीवन नै गुमाउन पुग्यो। सामान्य उपचारको व्यवस्था नभएको ठाउमा के एन्फा एकेडेमी सञ्चालन गर्न सम्भव छ ? एन्फा एकेडेमी सञ्चालन गर्न के –के सुविधा चाहिन्छ? कार्यविधिअनुसार गर्नुपर्ने होईन? एन्फाले क्लबले झैँ मासिक हजारौं रुपैयाँ असुल गरी एकेडेमी चलाउन मिल्छ ? ’ 

‘जे होस् खोजनिय विषय त हो। तर, राज्यको निकय त मौन नै होला ? जति गल्ती गरे पनि समान्य लिने परम्परा यहाँचाहिँ तोडियोस्। जुन दिन दुर्घटना भयो प्रशिक्षकहरू कता थिए ? यथार्थता र सत्य लुक्नेवाला छैन’, उनले भनेका छन्। 

रोजन तामाङ/काभ्रे, लक्ष्मण पोखरेल/बुटवल, भवानी अधिकारी/ स्याङ्जा, केशरराज क्षेत्री/बुटवल, राजन गाउँले/सिन्धुली, प्रताप ओली/बझाङ, भवानी खड्का/दोलखा, सरोज पौडेल/मकवानपुर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.