कांग्रेसको संसदीय दलको बैठक बस्दै
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ। दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक बस्ने तय भएको हो।
संसदीय दलको बैठक बस्नुअघि दिउँसो १ बजे कांग्रेसको कार्य समिति बैठक बस्दैछ। दुवै बैठकमा अविरल वर्षापछिको बाढी-पहिरो र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा छलफल हुने जनाइएको छ।
बाढी-पहिरोबाट पीडित नागरिकहरूको राहत,उद्दार र पुनर्निर्माणका बारेमा छलफल गर्न बैठक बोलाएको कांग्रेसले जनाएको छ। कार्यसम्पादन समितिको बैठकले बाढी- पहिरो पीडितको राहतका लागि प्रत्येक सांसदको एक महिनाको तलब सहयोग गर्ने निर्णय गरेको छ। आज बस्ने संसदीय दलको बैठकले कार्यसम्पादन समितिको सो निर्णयलाई अनुमोदन गर्ने जनाइएको छ।
बाढी- पहिरो र डुबानले गर्दा देभभरको जनजीवन प्रभावित बनेको छ। केही जिल्लाहरूमा मानवीय क्षति भएको छ। सडक पुलपुलेसा पनि भत्किएका छन्।
वर्षाका कारण विभिन्न स्थानमा बाढी -पहिरोमा परी हालसम्म २१७ जनाको मृत्यु भएको छ भने २८ बेपत्ता छन्। १४३ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बाढी पहिरोमा फसेका ४ हजार ३३१ जनाको उद्दार गरिएको छ।