सेयर बजारमा उछाल : ११४ अंकले बढ्यो नेप्से,७ अर्ब बढीको कारोबार
काठमाडौं : लामो समयदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा एकाएक उछाल देखिएको छ। कारोबार साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा उक्लिएको हो। सेन्सेटिभ इण्डेक्स ४.३१ अंकले बढेर ४७०.८१ विन्दुमा अडिएको छ।
उच्च अंकले बढेको सेयर बजारमा करिब २० बढी कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यसदिन ३०७ स्क्रिप्सको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २५८ रुपैयाँमा खरिदबिक्री भए।
कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्सको २८ करोड ८२ लाख मूल्य बराबरको सेयर कारोबार भयो। हिमालयन रिइन्स्योरेन्सको २३ करोडको कारोबार हुँदा नेपाल फाइनान्सको २० करोड,सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको १९ करोड र अपी पावरको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
सबै समूहको परिसूचक सकारात्मक देखिएका छन्। यसदिन फाइनान्स समूहको उपसूचक सर्वाधिक ९.७४ प्रतिशतले बढ्यो। कारोबारमा आएका २४३ स्टक्सको मूल्य बढ्दा एउटा स्टकको मूल्य मात्रै घट्यो।