दुर्गा प्रसाईलाई धरौटीमा छाड्न जिल्ला अदालतको आदेश
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले एक लाख धरौटी माग्ने फैसला गरेको हो।
उनीविरुद्ध साइबर सम्बन्धी दुईवटा कसुरमा एकसाथ थुनछेक भएको थियो। प्रसाईंविरुद्ध प्रहरीको साइबर व्युरोमा उजुरी दर्ता भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
उनलाई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसारको कसुर गरेको अभियोगमा ५ वर्ष कैद सजायको मागदावीसहित मुद्दा दायर भएको छ।
बिनाकारण आफूलाई हिरासतमा राखेको भन्दै उनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटसमेत दिएका थिए। रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई थुनामा राख्नुको कारण सरकार र प्रहरीलाई सोधेको छ। उनले आफूलाई गैरकानुनी ढंगले थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए।