खण्डहर बनेको भूमिडाँडा र त्रसित स्थानीय (फोटो फिचर)
पनौती : बाढीले सिंगो गाउँ नै डुबाएपछि भूमिडाँडाका स्थानीय त्रसित बनेका छन्। राजधानी काठमाडौंबाट करिब ३२ किलोमिटर दक्षिण-पूर्वमा अवस्थित पनौती नगरपालिकाको भूमिडाँडामा आएको बाढीले चार जनाको ज्यान लिएको छ। धेरै जना घाइते भएका छन्।
पनौती-१२ का वडाध्यक्ष जयराम केसीका अनुसार दर्जनौं घर बगाएपछि स्थानीयहरू त्रासमा जीवन बिताउनुपरेको छ। गाउँ जोड्ने मुख्य सडक र ओत लाग्ने घर नै बगाएपछि स्थानीयहरू मर्कामा परेको वडाध्यक्ष केसीको भनाइ छ।
मंगलबार भूमिडाँडा पुग्दा घर बगेकाहरू धेरै जना टोलाएर बसेका थिए। कतिपयले लडेका घरबाट सरसामान निकालिरहेका थिए। विद्युत आपूर्ति र खानेपानीको स्रोतसमेत बन्द हुँदा गासबासमै समस्या आएको उनीहरूको गुनासो छ। राहत उपलब्धमा ढिलाइ गरेकोप्रति उनीहरूले सरकारप्रति असन्तुष्टिसमेत पोखेका छन्।
वडाध्यक्ष केसीले राहत सामग्री, खाना, अस्थायी बास, बिजुलीको व्यवस्था मिलाउने काम भइरहेको बताए।