पसलमा अखाद्य वस्तु बरामद
नुवाकोट : चाडपर्वको समयमा बजारमा गुणस्तरहीन वस्तुको बिक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटमा बजार अनुगमन गरिएको छ।
संयुक्त बजार अनुगमन टोलीले नुवाकोटको विदुर नगरपालिकाको विभिन्न बजारमा रहेका किराना पसल तथा खाद्यान्न सप्लायर्सहरूको स्थलगत अनुगमन गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंको नेतृत्वमा गएको संयुक्त टोलीले एकै दिन विभिन्न पाँचवटा किराना पसलहरूमा अनुगमन गरिएको उद्योग वाणिज्य कार्यालय नुवाकोटले जनाएको छ।
संयुक्त बजार अनुगमन समितिद्वारा विदुर नगरपालिका १ ढुंगे, त्रिशूली र विदुर ९ कोलोनीमा संयुक्त बजार अनुगमन गरिएको हो। पसल अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेपछि जफत गर्नुका साथै नगद जरिवानासमेत गरिएको छ।
टोलीले अनुगमनका क्रममा शुभलाभ स्टोरबाट ३३ बोरा पूर्ण लेवल नभएको चामल बरामद गरिएको अनुगमन टोलीका सदस्य सचिव तथा उद्योग वाणिज्य कार्यालय नुवाकोटका प्रमुख किशोर सापकोटाले जानकारी दिए। उनका अनुसार ५२ हजार आठसय रुपैयाँ बराबरको अखाद्य चामल बरामद गरिएको हो।
सो किराना पसललाई नगद १० हजार रुपैयाँ जरिवाना गरिएको प्रमुख सापकोटाले बताए। यसका साथै एसके स्टोर्सबाट २ बोरा लेबल नभएको अखाद्य केराउ बरामद गरिएको सापकोटाले बताए।
उनका अनुसार अन्य किराना पसल तथा सप्लायर्सलाई पहिलो पटक सचेत गराइ सुधार गर्ने आवश्यक निर्देशन दिइएको छ। सरोकारवालासहितको संयुक्त बजार अनुगमन टोलीले किराना पसलको स्थलगत अनुगमन गरिएको कार्यालयका प्रमुख किशोर सापकोटाले जानकारी दिए।
उनका अनुसार अनुगमनका क्रममा अखाद्य वस्तु फेला परेपछि त्यसलाई नियन्त्रणमा लिइएको छ। बरामद गरिएका अखाद्य वस्तुहरू खाल्डो खनेर नष्ट गरिने अनुगमन टोलीका संयोजकसमेत रहेका सहायक प्रजिअ हुमागाईले जानकारी दिए।
अनुगमनका क्रममा अधिकांश पसल तथा व्यवसायले न्यूनतम मापदण्डसमेत पुरा नगरेको पाइएको अनुगमन टोलीमा सहभागी उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष इन्द्रबहादुर पण्डितले जानकारी दिए। उनका अनुसार पसलमा मूल्य सूची नराखेको, बिलबिजक जारी र नवीकरण नगरेको पाइएको थियो।
अनुगमनका क्रममा अधिकांश पसल मापदण्डविपरीत रहेको पाइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ। अधिकांश पसलहरू मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको र पहिलो पटकलाई सचेत गराइएको सहायक प्रजिअ कृष्णप्रसाद हुमागाईंले बताए।
पसल व्यवसायमा मूल्य सूची, खरिद तथा बिक्री बिल, साइन वोर्ड लगायत मापदण्डको पालना गर्न सचेत गराइएको छ। जनगुनासो धेरै आएपछि चाडपर्वको समयमा अनुगमन कार्य गरिएको प्रशासनले जनाएको छ।
पसल तथा व्यवसायमा मूल्य सूची राख्न र म्याद नाघेका सामानहरूको पहिचान गरेर छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ। अनुगमनका क्रममा टोलीले फर्म दर्ता गर्न तथा नवीकरण गर्न, पसलको सरसफाइमा ध्यान दिन र सुरक्षित रुपमा सामग्री राख्न सुझाव दिएको छ।