बाढीले मुसहर समुदायको बिजोग
मलंगवा : बागमती नदीको बाढी बस्तीमा पसेपछि सर्लाहीको बलरा नगरपालिका–३ का मुसहर समुदाय बिचल्लीमा परेका छन् । शनिबार बेलुका बागमती नदीको बाढी बस्तीमा पसेपछि उनीहरू घरबारविहीन भएका हुन् । पानीको निकास नभएपछि बस्तीमा पसेको पानी जस्ताको त्यस्तै छ । बाढीले घरमा रहेका अन्न, लत्ताकपडा चौपायासमेत बगाएर लगेपछि आफूहरू बिचल्लीमा परेको उनीहरूको गुनासो छ ।
पालिकाबाट पाएका चिउरा र चाउचाउको भरमा दुई दिनसम्म गुजारा गरेका मुसहर समुदाय राहतको पर्खाइमा छन् । कहीँ कतैबाट राहत नपाएपछि कसरी बाँच्ने भन्ने चिन्ताले सताउन थालेको उनीहरूले गुनासो गरेका छन् । बाहिरको कोही व्यक्ति बस्तीमा पस्नेबित्तिकै बालबालिका तथा महिला राहत लिएर कोही आएको भनेर दौडेर पुग्ने गरेका छन् । बागमती नदीको बाढी घरमा पसेपछि अन्न, लत्ताकपडा नष्ट भएको ८५ वर्षीय शहदेव माझीले बताए ।
बाढीले केही पनि बाँकी नराखेको शहदेवले दुःखेसो पोखेका छन् । ‘बाढी बस्तीमा पसेपछि ज्यान जोगाउन मात्र सफल भयौं’, शहदेवले भने, ‘घरमा रहेको सामान जोगाउन सकेनौं ।’ सम्पत्तिको नाममा फुसको सानो झुप्रो र घडेरी मात्र छ । अब कसरी गुजारा गर्ने भन्ने चिन्ताले सताउन थालेको छ उनलाई ।
बालबालिकालाई लिएर अरूको घरमा भाग्दा उनको ज्यान जोगियो । उनको आँखै अगाडि अन्न र बाख्रा बाढीले बगायो । बस्न, खान र लगाउन केही छन । बालिकालाई लिएर अरूको घरमा शरण लिएर बसेको मीनाले बताइन् । ‘साँझबाट बाढी आउँदा भागेर ज्यान जोगाउन भ्यायांैं । रातमा आएको भए मानवीय क्षति पनि हुन्थ्यो’, उनले भनिन् ।
जलसीदेवी माझीका अनुसार बस्तीमा ५० घर छन् । अधिकांशको घरमा बाढी पसेको छ । अहिलेसम्म पनि घुँडासम्म घरभित्र पानी छ । पुरुष दिनभरि अरू ठाउँमा बस्न जान्छन् । महिला र बालबालिकालाई दिनभरि पानीम बस्नुपर्ने हुन्छ । होइन भने घरको छानोमा जानुपर्छ । अरू जातको घरमा बस्न जाँदा बस्न नदिने उनीहरूले बताए । छोइन्छ भनेर अरूले घरमा बस्न नदिएको जलसीको गुनासो छ ।
‘ह्यान्ड पाइपबाट पानी पनि भर्न दिँदैनन् । कोही कोहीले त ह्यान्ड पाइपको ह्यान्डिल निकालेर लुकाएर राख्छन् । डुबानमा रहेको ह्यान्ड पाइपको फोहर पानी खाएर गुजारा गर्नु परेको छ । घरमा पैसा पनि छैन । पसलेसँग उधारोमा सामान ल्याउन जाँदा सामान दिँदैनन् ।
निकै हारगुहार गरेपछि १० किलो चामल ल्याएर बालबालिकालाई खुवाउने गरेको छु । खाना बनाउन र सुत्न अरूको घरमा जानु परेको छ’, जलसीले दुःखेसो पोखिन् । उनका समुदायको केहीको घर जोगिएको छ । सबको सहारा अहिले त्यही घर बनेको छ । बिजुली बत्ती नहुँदा राति सर्प र किराको निकै डर लाग्छ उनलाई ।
आफूहरूलाई अन्यत्र सारिदिए निकै राहत हुने उनीहरूको भनाइ छ । ‘हाम्रो बस्ती होचो ठाउँमा छ । वर्षात्को समयमा जहिले पनि डर लाग्छ’, उनले भनिन् ।