पुलमा रूख, स्थानीयलाई दुःख
गोरखा : छँदाखाँदाको झोलुंगेपुल त्रिशूलीले भत्काइ दिएपछि गोरखाको सिलिङटारका बासिन्दा समस्यामा परेका छन्। मनकामना केबलकारको फेदीमा अवस्थित सिलिङटार र केवरपानी गाउँका बासिन्दालाई त्रिशूली पारिवारि गर्न सास्ती भएको स्थानीयको भनाइ छ।
सहिद लखन गाउँपालिका–३ का करिब १ सय घरधुरीका बासिन्दा काठमाडौं, पोखरा जान मात्र होइन, दैनिक उपभोग्य सामान किन्न पनि राजमार्गको बजारमा जाने गर्दथे। बालबालिका पढ्न पनि सोही पुल तरेर कुरिनटार जान्थे। तर, पुल नभएपछि ठूलो संकटमा परेको वडाध्यक्ष दीपक पाण्डे बताउँछन्। दैनिक ज्यालादारीमा निर्भर यहाँका बासिन्दा काम गर्न जाने बाटो पनि त्रिशूलीले क्षत विक्षत पारेपछि समस्यामा परेको उनले बताए।
केही दिनअघि अविरल वर्षासँगै त्रिशूली नदीमा आएको बाढीले सिलिङटार र पृथ्वी राजमार्ग जोड्ने पुल लगेको थियो। बाढीले झोलुंगेपुलको लठ्ठा बटारेको छ। बारको तारजाली, स्ल्याबहरू पनि लगेको छ। ‘पुलमा अजंगको रूख ल्याएर अड्काएको छ’, पाण्डेले भने, ‘त्यसलाई पन्छाउन भनेर सशस्त्र प्रहरी, नेपाल प्रहरी आएर प्रयास गरे। तर सकेका छैनन्। चाडबाड आइसक्यो। गाउँलेलाई साह्रै सकस भएको छ।’
पुल तरेर पारि नगई त्यस सिलिङटार र केवरपानीका बासिन्दालाई सुख्खै छैन। ‘पारि नगई केही काम हुँदैन। वारपार गर्नलाई पुल छैन’, उनी भन्छन्, ‘स्कुल, कलेज पढ्ने बालबालिकाको कथा उस्तै, जागिर खानेहरूको व्यथा पनि उस्तै छ।’ विकल्पमा अर्को पुल पनि नजिक छैन, डेढ घण्टा पैदल हिँडेर लेबाटारस्थित अर्काे पुल पुग्नुपर्छ।’
पुल नभएपछि बालबालिकाको नियमित पठनपाठन पनि प्रभावित बनेको उनले बताए। त्यहाँका विद्यार्थी पठनपाठन गर्न कुरिनटार जानुपर्छ। ‘हाइस्कुल पढ्न पनि कुरिनटार जानुपर्छ। सानासाना नानी बाबुहरूलाई बोर्डिङ पठाउन पनि उतै लान्छन्। पुल तरेर राजमार्गमा पुगेपछि गाडी चढेर स्कुल जानुपर्ने बालबालिका पुल नहुँदा समस्या भएको छ। आजभोलि लेबाटारको पुलसम्म पुग्न पनि ताक्लुङ खोला तरेर जानुपर्छ। साना नानी बाबुहरूले ताक्लुङ खोला पनि तर्न सक्दैनन्।’
पुल नहुँदा मनकामना दर्शन गर्न आउने दर्शनार्थीलाई पनि समस्या भएको छ। ५ बजेपछि केबलकार बन्द हुन्छ। ‘केबलकार नचल्ने बेलामा आएका भक्तजनहरू यही पुल तरेर सिलिङटारबाट जिपमा पारि तरेर गाडीमा मनकामना पुग्थे। अब त्यो पनि नमिल्ने भयो’, उनले भने, ‘इमर्जेन्सी कोही बिमारी परिहाल्यो भने पनि हस्पिटल लैजान समस्या छ।’ पुल हुँदा पाँच मिनेटमा वारिपारि गर्न सकिनेमा अहिले एक डेढ घण्टा पैदल हिँडेर पारि पुग्नुपर्ने बाध्यता रहेको उनले बताए। ‘चाडबाड नजिकिँदै गर्दा मनकामना मन्दिरको तल बसेर फुल माला बेच्ने ठेलामा प्रसादहरू बेच्नेहरूलाई पनि समस्यामा परेको उनको भनाइ छ। सो पुल २०६० सालमा निर्माण गरिएको थियो।