कृषि तथा पशुपन्छी क्षेत्रमा ६ अर्बको नोक्सानी

कृषि तथा पशुपन्छी क्षेत्रमा ६ अर्बको नोक्सानी

काठमाडौं : अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले कृषि तथा पशुपन्छी क्षेत्रमा ६ अर्बभन्दा बढीको नोक्सानी भएको छ। मुलुकभर बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन, कृषिसम्बन्धी पूर्वाधार, आपूर्ति शृंखलाले ठूलो क्षति व्यहोर्नु परेको छ। 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रारम्भिक विवरणअनुसार धान, उखु, अलैंचीजस्ता कृषिजन्य बालीमा मात्रै ४ अर्ब ५७ करोड रुपैयाँबराबरको क्षति भएको छ। मत्स्यपालन क्षेत्रमा १ अर्ब १३ करोडबराबरको क्षति भएको छ। 

मुलुकभर ५८ हजार ४ सय ७६ हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा ३ अर्ब ५० करोड रुपैयाँबराबरको क्षति भएको छ। यो क्षति विशेष गरेर सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ््जा, सिन्धुली, मकवानपुर र काभ्रेपलाल्चोकको हो। यसैगरी, खोटाङमा मात्रै १३ हजार हेक्टरमा रहेको अलैंची नष्ट भई ७० करोड रुपैयाँबराबरको नोक्सानी भएको छ।

यसैगरी, वर्षाले पर्साको ८५ हेक्टरमा रहेको उखुमा क्षति पुगेको छ। जहाँ उखुको मात्रै करिब ३४ करोड रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको छ। यससँगै तराई क्षेत्रमा माछा पोखरीले ठूलो नोक्सानी भएको मन्त्रालयले जनाएको छ। धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साका ४ सय ५८ हेक्टर माछापोखरीमा १ अर्ब १३ करोड रुपैयाँबरावरको क्षति भएको मन्त्रालयले बताएको छ। यसबाहेक पाँचथर, धनकुटा, तेह्रथुमका २४ पशुगोठमा क्षति पुगेको छ। मुलुकभरबाट प्राप्त तथ्यांकअनुसार हालसम्म २६ हजार २ सय ५ पशुपन्छीको मृत्यु भएको छ। यो तथ्यांक पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, रामेछाप, दोलखा, ललितपुर, मधेस प्रदेशका सबै जिल्लाको हो। 

यसैगरी, कास्की, नवलपरासीपूर्व, कञ्चनपुर रौतहटका २२ हेक्टर फलफूल बगैंचामा क्षति भएको छ। यसबाहेक खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिरहा, धनुषा, बारा, पर्सामा थुप्रै तरकारी नोक्सानी भएको छ। जसमध्ये ४ हजार ७ सय ४३ हेक्टर तरकारी बाली नष्ट भएको तथ्यांकमा उल्लेख छ। यसैगरी दुई वटा कोल्डस्टोरमा समेत क्षति पुगेको छ। मन्त्रालय र मातहतको कार्यालयको भौतिक तथा अन्य संरचना गरेर करिब १६ करोड बराबरको क्षति व्यहोर्नु परेको मन्त्रालयले जनाएको छ। यो क्षति विशेष गरेर लालबन्दी, नक्टाझिज, गोदावरी, खुमलटार, मुसीकोट, फिकल, कीर्तिपुर, मार्फा, नवलपुरको हो। 

गत १० गते देखि देशका अधिकांश स्थानमा परेको अविरल वर्षाले बाढी, पहिरो र डुबानका कारण बाली तथा पशुपन्छी क्षेत्रमा परेको हाल प्राप्त क्षतिको विवरण अपूर्ण भएकाले अझ अन्य क्षतिको विवरण प्राप्त हुने क्रममा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। हालसम्मको तथ्यांक संकलन फर्मेटमा राष्ट्रिय विपद्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जिल्ला विपद्् व्यवस्थापन समितिमार्फत प्राप्त हुने फर्मेटमा कृषि बाली तथा माछामा भएको क्षतिसमेतलाई तथ्यांक संकलनको नियमित प्रक्रियामा समावेश गरिदिनका लागि अनुरोध गरिएको मन्त्रालयले बताएको छ। 

मन्त्रालयका अनुसार कृषि तथा पशुपन्छी क्षेत्रमा क्षतिको विवरण प्रदेशअन्तर्गत कृषि तथा पशुपन्छी क्षेत्र हेर्ने मन्त्रालयसँग माग गरियो र प्राप्त विवरणअनुसार मुख्यतया कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा बढी क्षति भएको र अन्य प्रदेशहरूमा तुलनात्मक रूपमा कम क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको र विस्तृत विवरण प्राप्त हुने क्रममा रहेको छ।

क्षतिपछि पुनर्स्थापना र राहतमा जोड दिँदै
 वर्षाबाट ठूलो क्षति भइरहेकाले मन्त्रालयमा आकस्मिक बैठक बसी वर्षाका कारण बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन, कृषिसम्बन्धी पूर्वाधार, आपूर्ति शृंखलालगायतका क्षेत्रमा परेको क्षतिको तत्काल मूल्यांकन गरी आवश्यक तत्कालीन र दीर्घकालीन रूपमा मन्त्रालयले आगामी दिनमा चाल्नुपर्ने पुनर्स्थापनालगायतका कार्यक्रमहरू मातहतका निकायबाट प्रस्ताव गर्न निर्देशन भएको छ। ‘मन्त्रालयको आयोजनामा खाद्य सुरक्षा क्लस्टरको बैठक बसी सम्पूर्ण साझेदार संस्थाद्वारा खाद्य सुरक्षा क्षेत्रमा तत्काल गरिरहेको कार्य र दीर्घकालीन रूपमा गर्नुपर्ने पुनर्स्थापनाका कार्यहरूको बारेमा छलफल भएको छ,’ मन्त्रालयले भन्यो।

मन्त्रालयले साझेदार संस्थाहरूलाई सम्पूर्ण राहत वितरणका कार्यक्रमहरू एकद्वार प्रणालीबाट सम्बन्धित पालिका र जिल्ला विपद्् व्यवस्थापन समितिको समन्वयमा वितरण गर्न अनुरोध गरेको छ। उक्त संस्थाहरूबाट तत्काल राहत वितरण गर्न तयारी अवस्थामा रहेको भए पनि जिल्ला विपद् व्यवस्थापन समितिबाट निर्देशन प्राप्त नभएकाले वितरण गर्न नसकिएको र प्रभावितलाई छिटो राहत वितरण गर्न तत्काल समन्वय हुनुपर्ने सुझाव प्राप्त भएको मनत्रालयको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.