ससूराको हत्यामा संलग्नलाई भगाएको आरोपमा महिला पक्राउ

ससूराको हत्यामा संलग्नलाई भगाएको आरोपमा महिला पक्राउ
ससूराको हत्यामा संलग्न रविन र उनलाई भगाएको आरोपमा पक्राउ परेकी सुष्मा । तस्बिर : अन्नपूर्ण

विराटनगर : ससूराको हत्यामा संलग्नलाई भगाएको आरोपमा मोरङबाट एकजना महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–७ की ३० वर्षीया सुष्मा राईलाई पक्राउ गरिएको हो । 

पथरीशनिश्चरे–७ मायालु चोकमा ससुराको हत्या गर्ने युवकलाई भाग्न सहयोग गरेको आरोपमा सुष्मालाई पक्राउ गरिएको उनले बताए ।  घरभित्रै हत्या गरिएको अवस्थामा ६० वर्षीय चन्द्रबहादुर तामाङको शव गत असोज ५ गते बिहान फेला परेको थियो । 

आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा चन्द्रबहादुरको विभत्स शव भेटिएको हो । टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरी उनको हत्या गरिएको डीएसपी दाहालले बताए । उनका अनुसार चन्द्रबहादुरको हत्या आफ्नै ज्वाइँ २७ वर्षीय रविन राईले गरेका हुन् । 

घरमा सँगै मादक पदार्थ सेवन गरेपछि सामान्य विवाद भएको र रविनले ससूराको हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि फरार भएका रविन भोलिपल्ट धनकुटाको मूलघाटबाट पक्राउ परेका थिए ।  तर, ससुराको हत्यापछि उनलाई सुष्माले भगाएको जानकारी डीएसपी दाहालले दिए । 

‘ससुराको हत्या गरेपछि सुष्माको घरमा पुगेर रविनले घटनाको जानकारी गराएछन् । त्यसपछि सुष्माले नै उनलाई भगाउन भूमिका खेलेको पत्ता लाग्यो । गाडी भाडाबापत २ सय रूपैयाँसमेत दिएर पठाएको यकिन भएको छ । रविनलाई भागेर आफन्तको घरतिर जाँदै गर्दा फेला पारिएको थियो,’ उनले भने । 

दाहालले घटनाका बारेमा प्रहरीलाई खबर गर्नुपर्नेमा चुपचाप बसेर उल्टै हत्यामा संलग्नलाई भगाउन भूमिका खेलेका कारण पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको बताए । उनका अनुसार सुष्माविरुद्ध कर्तव्य ज्यान कसुरको मतियारका रूपमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको छ । 

रविनकै बयानका आधारमा सुष्मालाई प्रहरीले मंगलबार घरबाटै पक्राउ गरेको हो । उनीहरुबीचमा त्यसअघिदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनका पति जमकुमार राई वैदेशिक रोजगारीमा दुबईमा छन् । सुष्माका १ छोरा र २ छोरी छन् । रविन आफ्नै ससुराली घरमा ससुरासँगै बस्दै आएका थिए । रविनको घर पनि ससुराली घरनजिकै छ । 

चन्द्रबहादुरकी छोरी (रविन)की पत्नी विदेशमा रहेको प्रहरीले जनाएको छ । चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी छन् । पत्नी र छोराछोरी सबैजना विदेशमा रहेको डीएसपी दाहालले बताए । 

मृतक चन्द्रबहादुरको शवको पोस्टमार्टम बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो । उनको हत्यामा संलग्न ज्वाइँ रविनविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अनुसन्धान भइरहेको जानकारी डीएसपी दाहालले दिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.