बाढी-पहिरो पीडित किसानलाई छिटोभन्दा छिटो राहत उपलब्ध गराउन मन्त्रालयले काम गरिरहेको छ : कृषिमन्त्री
काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले हालैको बाढी पहिरोका कारण अन्नबालीमा करिब ५ अर्बको नोक्सान भएको बताएका छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री अधिकारीले बाढी पहिरोका कारण कृषि क्षेत्रमा ठूलो असर परेको भन्दै करिब ५ अर्बको नोक्सान भएको बताएका हुन्।
चाडवाडका बेला ठूलो नोक्सानी हुँदा किसानहरू चिन्तित देखिएको उनको भनाइ छ। उनले दातृ निकायको समेत सहयोगमा किसानलाई छिटो भन्दा छिटो राहत प्रदान गर्न मन्त्रालयले आवश्यक काम गरिरहेको जानकारी बताए।
बैठकमा समिति सदस्यहरूले कृषकलाई प्राथमिकतामा राखेर राहतको काम सुरु गर्न सुझाव दिएका थिए । बैठकले पीडित किसानलाई छिटो भन्दा छिटो राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको थियो ।