बाढी पहिरोले गोरखाको चुम्चेतमा ६ घर बगायो
गोरखा : गत शनिबार अविरल वर्षापछि आएको पहिरोले चुमनुब्री गाउँपालिका-६ मा एक होटलसहित ६ घर बगाएको छ।
चुमभ्याली पदमार्गको चुम्लिङस्थित गोपाल लामाको होटल पहिरोले बगाएको हो। घरमाथिबाट झरेको पहिरोले होटलको १४ कोठा भएको लज र किचन बगाएको उनले बताए। ‘१४ वटा कोठा भएको लजमा माथिबाट आएको पहिरो पसेर सबै लगेको छ’, लामाले भने, ‘किचनतर्फ पनि पहिरो पसेको छ। लजको सामान केही पनि निकालेको छैन।’ होटल पहिरोले लगेपछि परिवार टेण्टमा बस्ने गरेको उनले बताए।
‘पानी नपरेका बेला होटलकै नभत्केको पाटोमा सुत्ने बस्ने गरेको छु। पानी परेका बेला टेण्टमा बस्छौं’, उनले ‘पर्यटकको सिजन सुरु भएको छ। ८०, ८५ लाख खर्च गरेर बनाएको होटल बन्द गरेर टेण्टमा बस्ने गरेको छु।’
त्यस्तै सोही दिनको पहिरोले वडा नं. ६ कै ताजुका ङवाङ तेञ्जिङ लामा र लाक्पा दोर्जे लामाको घर भत्काएको छ। दुवै जनाको घर पहिरोले पूर्णरूपमा बगाएर लगेको प्रहरीले जनाएको छ। सोही वडाको खारगुम्बाका ङवाङ तेञ्जिन लामा र उनकी आमा छिरिङ छेदम लामाको घर पनि बगाएको छ। उनीहरू दुवै जनाको घर पूर्णरूपमा क्षति भएको प्रहरीले जनाएको छ।
खारगुम्बाकै नुर्बु लामाको घरमा पनि पहिरोको लेदो पसेर क्षति पुर्याएको प्रहरीको भनाइ छ। खारगुम्बाका उनीहरूको घर गत वर्षको पहिरोले पनि बगाएको थियो। फेरि बनाएर बसेको नयाँ घर पनि यसपटक पहिरोले बगाएको गोपाल लामाको भनाइ छ।
त्यस्तै बाढी पहिरोले चुम्चेत, चुम्लिङ लघु जलविद्युत आयोजनामा फेरि क्षति पुगेको छ। गत साउन महिनामा बगाएको सो लघु जलविद्युत आयोजना स्थानीयबासीले दुईसाता अघि मर्मत सम्भार गरेका थिए। मर्मतपछि १० दिन बालेको सो विद्युत गत शनिबार फेरि क्षतिग्रस्त बनाएको उनले बताए अहिले गाउँ विजुली बत्तिविहीन बनेको छ। मोबाइलसमेत चार्ज गर्न नपाउँदा सञ्चार सम्पर्कमा समस्या आएको छ।