स्वास्थ्य संस्थाभित्रै पस्यो बाढी, रोग फैलने जोखिम  !

स्वास्थ्य संस्थाभित्रै पस्यो बाढी, रोग फैलने जोखिम  !
फाइल तस्बिर।

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार, स्वास्थ्य संस्थाहरू यतिबेला किटाणुयुक्त बन्न पुगेका छन्। ‘ज्ञात/अज्ञात संक्रमण फैलने जोखिम छ। सरसफाइमा ध्यान दिनुपर्ने जरुरी छ,’ डा.पुन भन्छन्, ‘स्वास्थ्य संस्थाहरूलाई संक्रमणरहित बनाउनुपर्ने पहिलो आवश्यकता छ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं जनसंस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी अस्पतालहरू नै डुबानबाट प्रभावित भएकाले संक्रामक रोग फैलने जोखिम रहेको बताउँछन्। डा. मरासिनी भन्छन्, अस्पतालभित्र जमेको पानीमा डेंगु फैलाउने लामखुट्टेले फुल पार्न सक्छ। बासस्थान बनाउन सक्छ। त्यसले डेंगुको संक्रमण प्रकोप झन् बढ्न सक्छ। दूषित पानीका कारण लेप्टोसपाइरोसिसको पनि जोखिम छ।’

डेंगु अहिले पनि मुलुकका ७६ जिल्लामा फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. मरासिनीका अनुसार, लेप्टोपाइरोसिस पनि सिन्धुली जिल्लामा आउटब्रेक हुँदा केही व्यक्तिको ज्यानसमेत गएको थियो। ‘हातगोडामा घाउ भएका व्यक्तिहरूलाई भलको धमिलो पानी परेको खण्डमा लेप्टोसपाइरोसिस छालाबाट संक्रमण हुन जान्छ,’ डा. मरासिनी भने।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो ८ महिनायता काठमाडौं जिल्लामा मात्रै ८ सयभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण पुष्टि भएको छ। त्यस्तै भक्तपुरमा २ सय ६५ र ललितपुरमा २ सय ६० भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ। केही दिनयताको बाढीका कारण डेंगु नियन्त्रण हुनुको साटो झन्झन् बढ्ने जोखिम चुलिएको छ।

भवन निर्माणमा चुक्दा डुबान

डुबानमा परेका स्वास्थ्य संस्थाको कम्पाउन्डमा लामखुट्टेले बासस्थान गराउन सक्छ।  समयमै सचेत नहुने हो भने डेंगुले प्रकोपको रूप लिन सक्छ। डा. बाबुराम मरासिनी, वरिष्ठ जनस्वास्थ्य विज्ञ 

स्वास्थ्य संस्थाहरूमा भवन संहिताको कार्यान्वयनमा एकरूपता छैन। मापदण्ड अपर्याप्त वा नमिलेको अवस्थामा रहेकोले स्वास्थ्य संस्थाहरू बाढीमा डुबान प्रभावित भएका हुन्।

स्वास्थ्य भवन निर्माणमा सरकार र निजी क्षेत्रका सञ्चालकहरूले ध्यान नदिँदा डुबानमा परेको विज्ञहरू बताउँछन्। डा. मरासिनीका अनुसार, भवन निर्माण विभाग र स्वास्थ्य मन्त्रालयबीच समन्वय नहुँदा भवन निर्माणमा हेलचक्र्याइँ भएको हो। ‘स्वास्थ्य संस्था भवन निर्माणको जुन डिजाइन गरियो। त्यो गलत भयो। भवन निर्माण विभागले स्वास्थ्य संस्थामा सिफारिस गरेको डिजाइन नै त्रुटिपूर्ण भयो,’ डा. मरासिनी भन्छन्, ‘बाढी आउने, डुबान पर्ने अवस्थामा रहेका स्थानहरूमा स्वास्थ्य भवनको पहिलो तल्लामा शय्या, उपकरणहरू दोस्रो तलामा राख्नुपर्छ। भुइँतला खाली हुनुपर्छ।’ यस सम्बन्धमा आफूले सरकारी सेवा छँदा सुझाव दिएको भए तापनि भवन निर्माण विभागले वेवास्ता गरेको डा. मरासिनीले बताए।

नागरिकको जीवन जोगाउ

वर्षाका कारण काठमाडौं प्रवेश गर्ने पृथ्वी राजमार्ग र बीपी राजमार्गमा क्षतिग्रस्त छन्। सबै प्रदेशका साना–ठूला राजमार्गमा क्षति पुगेका कारण उपचारका लागि काठमाडौं आउन सकस छ। आंशिक क्षति पुगेका थिए। ठाउँ–ठाउँका पुल बगेका छन्। यातायात प्रणाली नै अवरुद्ध बनेको छ।

अहिले स्वास्थ्य संस्थाहरूको भुईंतला बाढी पसेका कारणभित्र पस्न सक्ने अवस्था छैन। यहीं अवस्थामा संक्रामक रोगले प्रकोपको रुप लिएमा ज्यान जोगिन सक्ने खालका बिरामी पनि मृत्युवरण गर्नुपर्ने अवस्थामा पुग्ने जोखिम बढेको छ। शुद्धीकरण गरेको वा उमालेको पानी नपिउने हो भने जो कोहीलाई झाडापखाला, हैजा संक्रमण हुने जोखिम रहेको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। भन्छन्, ‘स्वास्थ्यमा हेलचक्याइँ गर्दा चाडवाडको मुखमा थला पर्न सकिन्छ।’

डुबान प्रभावित स्वास्थ्य संस्थालाई यथाशीघ्र संक्रमणरहित बनाउनुपर्छ। अहिलेदेखि नै सरकारले ध्यान दिनुपर्छ। डा. सुधा शर्मा, पूर्वस्वास्थ्य सचिव

पूर्वस्वास्थ्य सचिव डा. सुधा शर्मा स्वास्थ्य संस्थाभित्रको फोहोर निकालेर सरसफाइ गर्नुपर्नेमा जोड दिन्छिन्। डा. शर्मा भन्छिन्, ‘डुबानमा परेका स्वास्थ्य संस्थाभित्र पाउडर छर्कने कि वा अन्य उपाय अपनाउनु हो त्यसमा जोड दिएर संक्रमण रहित गर्नुपर्छ।’ स्वास्थ्य संस्थालाई यथाशीघ्र संक्रमणरहित गराउन नसकिएमा विकल्पका रूपमा विगतमा निर्माण गरिएका क्वारेन्टाइन बनाइएका भवनलाई व्यवस्थित गराएर उपचारस्थलका रूपमा पनि विकास गर्न सकिने डा. शर्माले सुझाइन्। ‘जनताको स्वास्थ्य उपचारका लागि वैकल्पिक उपाय के अपनाउन सकिन्छ ? त्यसमा अहिलेदेखि नै सरकारले ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘स्थानीय र प्रदेश सरकारले गर्न नसकेको अवस्थामा संघीय सरकारले सहयोग गर्नुपर्छ। औषधि, उपकरण पु¥याउने काम अहिलेदेखि नै गरिहाल्नुपर्छ।’ बाढी प्रभावित स्थानहरूमो जनचेतनाका लागि महिला स्वास्थ्य सेविका, स्थानीय स्वास्थ्यकर्मी, शिक्षकहरूलाई परिचालन गर्नुपर्ने सुझाव डा. शर्माले दिइन्।

घरबारविहीन बालबालिका, गर्भवती महिला र दीर्घरोगी ज्येष्ठ नागरिकहरू सबभन्दा बढी प्रभावित भएका छन्। स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले कुन–कुन निकायसँग के कसरी सहयोग लिन सकिन्छ यथाशीघ्र बैठक बसेर सहकार्य गरि अघि बढ्नु पर्ने बताउँछन्। ‘यथाशीघ्र आवश्यक औषधिसहित पानी शुद्धीकरणको व्यवस्था गर्नुपर्छ, ‘डा. प्याकुरेल भन्छन्, ‘सरकारको कमजोरीका कारण उपचार नपाएर नागरिकले जीवन गुमाउनुपर्ने अवस्था सिर्जना नहोस। हरेक नागरिकको जीवनको मूल्यबोध सरकारमा बस्नेले गर्ने पर्छ। सम्भावित महामारितर्फ अर्जुनदृष्टि लगाउँदै नागरिकको ज्यान जोगाउन सरकारले सम्पूर्ण शक्ति लगाउनुपर्छ।’

स्वास्थ्यमन्त्रीको अपिल ‘रोग फैलन नदिऊँ’

बाढी–पहिरोबाट बढी प्रभावित काभ्रेप्लाञ्चोक, सिन्धुपाल्चोक, कोशी, मधेस तथा गण्डकीलगायत प्रदेशका स्वास्थ्य सचिवहरूले पानी प्रदूषित भएकाले रोग फैलने जोखिम रहेको चिन्ता व्यक्त गरेका छन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँगको छलफलमा प्रदेशका स्वास्थ्य सचिवहरूले पानीको शुद्धीकरण तथा सचेतना फैलाउन मन्त्रालयको सहयोग माग गरेका थिए।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्पछि संक्रामक रोग फैलन नदिन सतर्कता अपनाउनका लागि सरोकारवालालाई अपिल गरेका छन्। मन्त्रालयमा सरोकारवाला निकायसँग छलफलका क्रममा मन्त्री पौडेलले बाढी पहिरोपछि पानीका स्रोत प्रदूषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका संक्रामक रोग लाग्न नदिन आफ्नो तर्फबाट तयारी बढाउन र आवश्यक परेका सहयोगबारे जानकारी गराउन आग्रह पनि गरे। खानेपानीको शुद्धता बढाउन र कुनै पनि संक्रामक रोग फैलन नदिन स्थानीय तहसम्मै खानेपानी मन्त्रालय र प्रदेश तथा स्थानीय सरकारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए। बैठकमा बोल्दै खानेपानीमन्त्री प्रदीप यादवले पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध पानी दिनका लागि शुद्धीकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने बताए। मन्त्री पौडेलले संघीय राजधानी उपत्यकामा जनसंख्या पनि बढिरहेको र अहिले संक्रमणको जोखिम बढी रहेकाले बढी प्राथमिकता दिएर संक्रमण रोक्न सचेतनासँगै रोकथामका उपाय अपनाइने प्रतिबद्धता व्यक्त गरे ।

सरकारको कमजोरीका कारण उपचार नपाएर नागरिकले जीवन गुमाउनुपर्ने अवस्था सिर्जना नहोस्। हरेक नागरिकको जीवनको मूल्यबोध सरकारमा बस्नेले नै गर्नुपर्छ। सम्भावित महामारीतर्फ अर्जुनदृष्टि लगाउँदै नागरिकको ज्यान जोगाउन सरकारले सम्पूर्ण शक्ति लगाउनुपर्छ। डा. सुशीलनाथ प्याकुरेल, पूर्वप्रमुख विशेषज्ञ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

हस्पिटल अक्वायेर संक्रमणको जोखिम : डा. शेरबहादुर पुन

बाढीको कारणले आगामी केही दिन संक्रामक रोगको उच्च जोखिम देखिन्छ। विशेषः गाँस, बास र कपासमा विशेष केन्द्रित हुँदा स्वास्थमा विशेषः प्रकोपको जोखिम उच्च हुन्छ। विभिन्न प्रकारका ब्याक्टेरिया, भाइरस लगाएतका संक्रमणले झाडापखाला, ज्वरो, छालामा समस्याहरू देखिने सम्भावना बढ्ने गरेको धेरै देशहरूको अनुभवले देखाउँछ। काठमाडौंमा लामो समयपछि आएको बाढी अप्रत्याशित ठूलो र धेरैको ज्यानै लिने अपत्यारिलो अवस्था सिर्जना भएको थियो। अझ बिरामीको उपचार गर्ने अस्पतालमा पनि बढीको हिलाम्म्य पानी पस्दा विपद्बाट प्रभावितको उपचार मात्र होइन अस्पतालमा भर्ना भएका बिरामीलाई समेत अन्यत्र सार्नुपर्ने अवस्था सिर्जना भएको थियो। काठमाडौंमा योभन्दा पहिले एकैपटक धेरै अस्पतालमा बढीको हिलाम्म्य पानी पसेको सम्भवत पहिलो पटक हुनुपर्छ। यसबाट आगामी दिनमा उपचार गर्न जाने बिरामीलाई कस्तो जोखिम होला भन्ने चासो पनि बढेर गएको छ। के साच्चिनै उपचारमा जोखिम देखिने सम्भावना होला ?

समान्यतया हरेक अस्पतालमा संक्रमण नियन्त्रण गर्ने छुट्टै युनिट नै हुन्छ। सो युनिटले अस्पतालमा संक्रमण नफैलियोस् भन्नका लागि विशेषत ध्यान दिने गर्दछ। तर, गर्दा गर्दै पनि उपचार गर्न एक कतिपय बिरामीमा अस्पतालमा नै संक्रमण हुने गर्दछ जसलाई हस्पिटल अक्वायेर संक्रमण वा नोजोकोमियाल संक्रमण भन्द छौं। यो मेडिकल वा शल्यक्रियाको प्रक्रियामा बिभिन्न कारणले हुन सक्छ।यस्तो समस्या सामान्यदेखि घातकसम्म हुने गर्दछ। अनुसन्धानहरूले बिभिन्न देशमा फरक फरक तथ्यांकहरू देखाउने गरेको पाउँछौं ।

नेपालमा पनि यस्तो अनुसन्धानहरू भएको र हस्पिटल अक्वायेर संक्रमण वा नोजोकोमियाल संक्रमण फरक–फरक अस्पतालमा फरक फरक तथ्यांक देखिन्छ। विशेषः हिलाम्म्य पानी र बाढी अस्पतालमा पस्दा पक्कै पनि पानी सँगै जीवाणुहरूको आगमन नहोला भन्न सकिँदैन। कतिपय अस्पतालहरूमा बिरामीलाई प्रयोग गरिने कपडा र तन्ना , चमेना गृह, मेडिकल औजारहरू स्टेयाल गर्ने मेसिन आधी हुने गर्दछ। र, ती समानहरू राम्ररी डीस–इन्फेक्सन गरिएन वा फेरिएन भने संक्रमण फैलन सक्ने सम्भावना रहन्छ। हिलाम्म्य पानीरबाढी पसेको ठाउँबाट मानिस वा कर्मचारीहरू आवतजावत गर्दा पनि अरू बाढी नपसेको ठाउमा रहेका बिरामीसम्म पनि संक्रमण नपुग्ला भन्न सकिँदैन। मुख्यतया जटिल रोगको उपचार गर्न आएका बिरामीमा यस्ता संक्रमणले आक्रमण गरे थप जटिलता निम्तन सक्ने जोखिम उच्च हुन सक्दछ। तर, यदि संक्रमण नियन्त्रण युनिट लगाएत सबैले सरसफाई र बिरामीमा प्रयोग हुने औजारमा विशेष ध्यान दिनसके संक्रमणको सम्भावित जोखिमलै धेरै हदसम्म कम गर्न सकिने छ।

डा. पुन, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.