बाढीले २१ पुलमा क्षति,  जनजीवन कष्टकर

बाढीले २१ पुलमा क्षति,  जनजीवन कष्टकर
त्रिशूलीले बटारेको धवादीघाटको पुल। तस्बिर : विजय रुपाखेती।

उत्तरी रामेछाप र दोलखा जिल्लाकै लाइफलाइनका रूपमा रहेको खुर्कोट पुल सुनकोशी नदीमा आएको बाढीले बगाउँदा करोडौंको क्षति भएको छ। पुलको रामेछापतर्फको आधा भाग पूरै बगाएको छ। सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोर सेलेघाट जोड्ने उक्त पक्की पुल गत सुनकोशी नदीले शनिबार बगाएको हो।

पुल बगाएपछि पूर्वी नेपाल र तराई मधेसका साथै छिमेकी राष्ट्र भारतबाट आउने यात्रु र उनीहरूका सरसामान ओसारपसारमा समस्या भएको छ। ०७१/७२ मा १७ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको पुल १० वर्ष नबित्दै बाढीले तहसनहस बनाएको हो। खुर्कोट–मन्थली जोड्ने यस पक्की पुल रामेछाप र दोलखा जिल्लाको विकासका लागि मेरुदण्डका रूपमा लिइएको थियो।

उक्त स्थानमा रहेको झोलुंगे पुलसमेत बाढीले बगाएको छ। खुर्कोट पुल बगेसँगै रामेछाप र दोलखाको विकासको सम्भावनासमेत बगेको छ। रामेछापको संघीय राजधानी काठमाडौंसँगको यातायात ठप्प जस्तै छ। यस पुल निर्माण हुँदा रामेछाप जिल्लाको सदरमुकाम मन्थलीबजारबाट काठमाडौं जान ७५ किलोमिटर दुरी छोट्टिएको थियो।

बनेपा–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग र खुर्कोट–घुर्मी मध्यपहाडी लोकमार्गसँग जोडिएको खुर्कोट पुलसँगै सिन्धुलीमा मात्र बाढी र पहिरोले १४ वटा पुलमा क्षति पुगेको छ।

लगातारको वर्षाका कारण रोशी खोला र सुनकोशी नदीमा आएको बाढीले मात्र सिन्धुलीमा १४ वटा पुलमा क्षति पुगेको हो। यस्ता पुलहरूमा क्षति पुग्दा सिन्धुली, रामेछाप, दोलखा र ओखलढुंगा जिल्ला जोड्ने छोटो दुरीका सबै नाकाहरू बन्द जस्तै भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार खुर्कोट–मन्थली पक्की पुल, खुर्कोट झोलुंगेपुल, ग्वाल्टारको कुडुले–रामेछाप जोड्ने झोलुंगे पुल, रातमाटा बेलघारी रामेछाप जोड्ने झोलुंगे पुल, फिक्कल माझीगाउँ–सोखुबेंसी–ओखलढुंगा जोड्ने पुल, फिक्कल खाङसाङ्ग–ओखलढुंगा जोड्ने पुल, दुम्जा लुभुघाट–सुनापति रामेछाप जोड्ने बेलिब्रिज, घ्याम्पेखोला–देविस्थान कल्भर्ट, गोलन्जोर कुखुरेटार–रामेछाप जोड्ने झोलुंगेपुलमा सुनकोशी नदीमा आएको बाढीले क्षति पु¥याएको छ।

यस्तै गोलन्जोर ग्वाल्टार–रामेछाप जाने झोलुंगेपुल, गोलन्जोर बलेनी–रामेछाप जोड्ने झोलुंगे पुल, फिक्कल पंन्चकन्या–ओखलढुंगा जोड्ने झोलुंगे पुल, फिक्कल तीनखण्डे– ओखलढुंगा जोड्ने झोलुंगे पुल र रातामाटा–सित्खा रामेछाप जोड्ने पुल पनि बाढीले बगाएको छ।

यी पुलहरू प्राय पूर्णरूपमा क्षति भएका छन्। जसमध्ये कतिपयको त जगसमेत छैन। कुनै पनि तत्काल सुचारु गर्न नसकिनेगरी क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए।

बीपी राजमार्ग हुँदै सिन्धुलीको नेपालथोकबाट रामेछापको राकाथुम, सुनापति प्रवेश गर्ने खैरेनीघाट पुल पनि सुनकोसीले बगाएको छ। पुलहरूसँगै बाढीले बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग, खुर्कोट–मन्थली सडकमा क्षति पु¥याएको छ।

रामेछाप, ओखलढुंगा र दोलखाका जिल्लामा दैनिक उपभोग्य वस्तुका साथै निर्माण सामग्रीहरूसमेत बीपी र मध्य पहाडी राजमार्ग हुँदै तराईबाट ढुवानी गर्ने गरिएको थियो। काभ्रेमा बगायो एक दर्जन बढी पुल काभ्रेको पनौती नगरपालिकाका मोटर गाडी गुड्ने ७ वटा पुल बाढी पहिरोले बगाएको मेयर रामशरण भण्डारीले जानकारी दिए। बाढी पहिरोले क्षति पु¥याएको वडा नं ८ को झोलुंगे पुल तत्काल नगरले मर्मत गरेर मान्छे हिँड्न सक्ने बनाएको मेयर भण्डारीले जनाए। मोटर चल्ने पुल बगाएका स्थानहरूमा तत्काल सवारी आवागमन सञ्चालनका लागि बैकल्पिक बाटो निर्माण गरेर मोटर चलाउन सकिने गरि नगरले मर्मत गरिरहेको मेयर भण्डारीले बताए।

त्यसैगरी जिल्लाको रोशी गाउँपालिकामा दुइटा मोटरेबल पुलमा क्षति पुगेको छ। रोशी गाउँपालिका १ खहरे पाँगुमा रहेको फलामेसाँघु पक्की पुल र वडा नम्बर ५ सिपाली चल्ने पक्की पुल पूर्ण क्षति भएको गाउँपालिका उपाध्यक्ष मिम बहादुर लामाले जानकारी दिए। ‘रोशीमा मात्र पक्की मोटर चल्ने दुइटा ठूला पुल पूर्णरूपमा क्षति भएको छ। पक्की पुलसँगै रोशी गाउँपालिकामा दुइटा झोलुंगे पुलमा पनि क्षति पुगेको छ’, लामाले भने। रोशी १ मा रहेको पटुवाल पुल र थाङसिङ बेसीस्थित मान्छे हिँड्ने पुलमा पनि क्षति पुगेको गाउँपालिका उपाध्यक्ष लामाले जानकारी दिए।

जिल्लाकै खानीखोला गाउँपालिकाबाट मकवानपुर जोड्ने वडा नं ६ र ७ मा रहेको झोलुंगे पुलमा पनि बाढीले पूर्णरूपमा क्षति पु¥याएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए। ‘मोटर नचले पनि हेटांैडा जान आउन बागमती नदीमा रहेको झोलेङ्गे पुलमार्फत ओहोर दोहोर गर्न सकिन्थ्यो, तर दुईटै पुलमा क्षति भएका कारण तत्काल मान्छे हिँड्न सक्ने अवस्था छैन,’ पालिका अध्यक्ष थिङले भने।

महाभारत गाउँपालिकामा रहेका धेरै पुलहरूमा क्षति पुगे पनि टेलिफोन सञ्चालन नभएका कारण क्षतिको विवरण आउन नसकेको गाउँपालिका अध्यक्ष कान्छा लाल जिम्बले जानकारी दिए। तेमाल गाउँपालिकाको रोशी खोला र सुनकोशी खोलाको बीचमा रहेका धेरै पुलहरूमा क्षति भएको छ। गाउँमा सञ्चार सेवा बन्द रहेका कारण कुन–कुन ठाउँमा कति पुल क्षति भयो भन्ने बारेमा पालिकासँग कुनै जानकारी नभएको उपाध्यक्ष दलमान लामाले बताए। त्यसैगरी जिल्लाकै चौरी देउराली गाउँपालिका र बेथानचोक गाउँपालिकामा पनि पुलमा क्षति भए पनि बिवरण आउन सकेको छैन।

पुल भत्किँदा खासामै अड्किए १०० कन्टेनर

खासा–तातोपानी जोड्ने दुइटा पुल बाढीले बगाएको छ। तातोपानी भन्सार र खासाको सम्पर्क टुटेको छ। छिमेकी देश चीनलाई जोड्ने उत्तरी नाका तातोपानी ठप्प भएको छ।

बाह्रबिसेदेखि तातोपानी नाकाबीचमा रहेको सडक र पुल भत्किएर सम्पर्क विच्छेद भएपछि दसैंका लागि फलफूल र लत्ताकपडा बोकेर आएका १ सय कन्टेनर खासामा अडकएका छन्। चिनियाँ सामान आउन नपाएकाले तातोपानी नाका पूर्णरूपमा बन्द छ। जसकारण दसैंका लागि ल्याइएका सामग्री अलपत्र परेको तातोपानी भन्सारले जनाएको छ।

तातोपानीका प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले पानीको सतह घटेपछि लार्चामा ह्युमपाइप राखेर खासामा रोकिएका कन्टेनर भन्सारमा ल्याइने योजना रहेको बताए। ‘हामी नाका छिटो सुचारु गर्न लागिरहेका छौं। केही दिनमै भोटेकोशी नदी र लिपिङ खोलामा ह्युमपाइप राखेर सडक सम्पर्क स्थापित गरिनेछ’, उनले भने।

तर, फेरि पानी पर्ने हो भने दसैंअघि नाका पूर्णरूपमा सञ्चालनमा ल्याउन समस्या हुने भट्टराई बताउँछन्। ‘मौसमविद्हरूको अनुसार फेरि पानी पर्ने सम्भावना छ, फेरि पानी परे भोटेकोशी नदीको सतह बढ्ने छ’, उनले भने, ‘नदीको सतह बढेपछि फेरि सडकमा क्षति पुग्न सक्ने देखिन्छ। यसले खासामा रोकिएका कन्टेनर ल्याउन थप समस्या हुन सक्छ।’

कन्टेनर काठमाडौं पु¥याउन नाका सुचारु गरेर मात्रै पुग्दैन। बाह्रबिसे नगरपालिकाको सिरिसे, खागदल र जम्बुआसपास पहिरोले पुरेको सडकसमेत सुचारु गर्नुपर्ने हुन्छ। भोटेकोशी गाउँपालिका क्षेत्रमा पनि ठाउँठाउँमा पहिरो गएकाले लार्चासम्मको सडक छिटो सञ्चालन गर्नुपर्ने बाध्यता छ।

‘लिपिङ र कोदारी बजार जोड्ने लिपिङ पुल छेउको भाग लिपिङ खोलामा आएको बाढीले ध्वस्त बनाएपछि जोखिमपूर्ण अवस्था बनेको छ,’ भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठ भन्छन्, ‘चीन जोड्ने कोदारी राजमार्गको तातोपानी–हिन्दी खण्डमा ३५ मिटर सडक भास्सिएको छ। जसका कारण यातायात चल्न सक्ने अवस्था नै छैन।’ लार्चामा पुल बगाएपछि सो ठाउँमा ह्युमपाइप राख्न सुरु गरिएको उनले जनाए।

राजन गाउँले/सिन्धुली
रोजन तामाङ/काभ्रे
सुन्दर शिरीष/सिन्धुपाल्चोक
शिव उप्रेती/गोरखा
अजबी पौडेल/काठमाडौं

       
 
 
 
 
 
 
 
 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.