‘अघोषित रूपमा’ दसैंको अग्रिम बुकिङ बन्द

‘अघोषित रूपमा’ दसैंको अग्रिम बुकिङ बन्द

काठमाडौं : भीषण बाढी र पहिरोले देशका राजमार्गहरू ठप्प छन्। यसैकारण यातायात व्यवसायीले दसैंका लागि खुलाएको अग्रिम बुकिङ सेवा बन्द गरेको छ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले अघोषित रूपमा अग्रिम बुकिङ बन्द गरिएको बताए। उनी भन्छन्, ‘सरकारसँग सहमति गरेर, निर्णय नै गरेर बन्द गरिएको होइन। तर, काठमाडौंबाट देशैभर छुटेका गाडी सडककै कारण ३ दिनसम्म पनि सम्बन्धित ठाउँमा पुग्न सकेका छैनन्। जिल्लाबाट गाडी नआउँदासम्म हामीले यताबाट अन्य गाडी पठाउन सक्ने वातावरण छैन। यसैले पनि अग्रिम बुकिङ बन्द गरिएको हो। हरेक दिनका लागि सोही दिन नै टिकट लिन भने पाइन्छ।’ 

सिटौला भन्छन्, ‘अप्रत्यासित रूपमा आएको विपत् र प्रकोपले गर्दा अग्रिम बुकिङ बन्द गर्नुपरेको हो। यो कसैको हातमा छैन, मौसम विभागका अनुसार बिहीबारदेखि पुनः पानी पर्ने सम्भावना रहेकाले कहाँको सडक अवरुद्ध हुन्छ ? कहाँ पहिरो जान्छ भन्नै सकिन्न। टिकट काटिसकेपछि सबै यातायात व्यवसायी जिम्मेवार हुनुपर्ने बाध्यता छ। गाडी समयमा नआएपछि टिकट दिएर के गर्ने ? गाडी आएपछि मात्रै टिकट दिने भनेर निर्णय गरेका छौं।’ 

यसैबीच गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर संगठनबीच बुधबार मन्त्रालयमा छलफल भएको छ। बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग सडक पुनः सञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल भएको हो। यातायातको सहज र सुरक्षित सञ्चालन गर्ने, विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडबाडका बेला सुरक्षित यात्राका बनाउने विषयमा छलफल भएको थियो।

विपद्को स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ। यसैले पनि दसैंका लागि अग्रिम बुकिङ सहज कार्यान्वयन गर्न नसकिएको सरोकारवालाले बताएका थिए। छलफलमा बीपी राजमार्गअन्तर्गत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। 

गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरहरूलाई तत्काल राहत उपलब्ध गराउन मातहतलाई निर्देशन दिएका छन्। मन्त्री लेखकले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मीसमेत सक्रिय रहेको बताएका छन्। 

गृहमन्त्री लेखक भन्छन्, ‘पृथ्वी राजमार्गको झ्याप्ले खोलालगायत पहिरोको जोखिम रहेका क्षेत्रमा ट्राफिक र प्रहरी परिचालन गरिएको छ।’ उनले भने, ‘चाडबाडका बेला आएको विपत्को सामना गर्दै सहज र सुरक्षित यात्राका लागि गम्भीर भएर लागेका छौं।’

सुरक्षा निकाय हाइअलर्टमा 
यसैबीच गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्टमा रहन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र र स्थानीय तहहरूलाई निर्देशन दिएका छन्। 

गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन्।  

‘वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोशी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई हाइअलर्टमा रहन निर्देशन दिएको छु’, उनले भने।

थप समन्यव र सोसम्बन्धी आवश्यक काम कारबाहीका लागि गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुख र विपद् प्राधिकरण तयारी अवस्थामा रहन निर्देशन दिएको गृहमन्त्री लेखकले बताए। मन्त्री लेखकले यसअघिको बाढी र पहिरोले मुलुकक धेरै राजमार्गहरू अवरुद्ध रहनुका साथै पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन सबैमा आग्रह गरेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.