सुपथ पसल खुलेका छन्, किनमेल गर्न छुट्नु होला नि !

सुपथ पसल खुलेका छन्, किनमेल गर्न छुट्नु होला नि !

काठमाडौं : सामान्यतया महँगोमा भन्दा सस्तो मूल्यमा सामान कहाँ पाइएला भन्नेबारे आम उपभोक्ताको चासो हुन्छ। यही कारणले पनि सहुलियत मूल्यमा उपभोक्ताको आकर्षण बढी देखिन्छ। यतिबेला चाडपर्व (दसैं, तिहार, नेपाल संवत् र छठ पर्व) लक्षित गरेर सरकारले चामल र चिनीलगायतका खाद्यान्न एवं अत्यावश्यक वस्तुको अभाव हुन नदिन सुपथ मूल्यका पसलहरूको व्यवस्थापन गरेको छ। देशभर रहेका करिब ४२ जिल्लामा असोज ३ गतेबाट साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र डीडीसीको संयोजनमा सुपथ पसलहरू सञ्चालनमा छन्। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट सञ्चालन  भएको चाडपर्व लक्षित सुपथ मूल्यपसल यही २०८१ असोज ३ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए। सरकारको पूर्ण स्वामित्वमा स्थापित कम्पनीको देशभर रहेका करिब ४२ जिल्लाका ६३ बिक्री केन्द्रहरूबाट सञ्चालित सुपथ मूल्य पसलहरूबाट खाद्यान्नलगायतका वस्तुबिक्री भइरहेको छ। यसबाट आम उपभोक्ताले खरिद गरी लाभान्वित लिन सक्नेछन्। यसपटक ‘सुपथ मूल्य पसल सञ्चालन कार्यक्रम २०८१’ अन्तर्गत कम्पनीलाई कुल तीन करोड रुपैयाँबराबरको सरकारबाट स्वीकृत बजेट प्राप्त भएको थियो। यसअनुसार कम्पनीले ५० क्विन्टल खाद्यवस्तु बिक्री गर्ने लक्ष्य राखेको छ।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश आचार्य  कम्पनीले ४२ जिल्लाका ६३ स्थानबाट धेरै खाद्यवस्तु बिक्री गरिरहेकोमा काठमाडौं प्रादेशिक कार्यालयबाट मात्रै करिब २२ प्रकारका खाद्यवस्तु बिक्री भइरहेको बताए। ‘यस बाहेकका राजधानी बाहिरका कुनै जिल्लामा ६ वटामात्रै खाद्यवस्तु सुपथ मूल्यमा बिक्री गरिएको छ भने कुनैमा दुई थरीमात्रै बिक्री गरिएका छन्। विशेष गरेर जिल्ला र त्यहाँका उपभोक्ताको उपभोग्य क्षमतालाई हेरेर खाद्य सामग्री बिक्री गरिएको हो। विशेष गरेर कम्पनीले विभिन्न प्रकारका चामलहरू र चिनी बिक्री गरेको छ। यससँगै साल्ट ट्रेडिङबाट तेल किनेर बिक्री गरेको छ,’ सीईओ आचार्यले अन्नपूर्णसँग भने।  

कम्पनीले मात्रै गत ३ गतेदेखि १३ गतेसम्मको १० दिन अवधिमा मात्रै ७ हजार ३ सय ४७ क्विन्टल खाद्यवस्तु बिक्री गरिसकेको बताएको छ। यसका साथै ११ हजार ५ सय १४ लिटर तेल बिक्री भएको छ। सबै गरेर कम्पनीमार्फत सुपथ मूल्यमा कुल ३६ लाख ३१ हजार २ सय ४२ रुपैयाँ बराबरका उपभोग्य बस्तु बिक्री भएका छन्। सामान्यतया बाहिर खुद्रा पसललगायतको बजार मूल्यभन्दा दाल, चामललगायतका सुपथ मूल्य कम छ।  कम्पनीसँग बिक्रीका लागि पर्याप्त स्टक छ। कम्पनीले सुपथ मूल्यमा बिक्री गरेका कारण बजारमा चर्को मूल्य बढ्न नपाउने हँुदा सुधार्न मद्दत पुगेको सीईओ आचार्य बताउँछन्। उनी भन्छन्, ‘हामीले बजार मूल्यभन्दा हामीले बेच्ने चामल नै प्रतिबोरा ३ सय रुपैयाँदेखि ५ सय रुपैयाँ सस्तो छ। यसो हुँदा सुपथ पसलले बजार मूल्य नियन्त्रण गर्न पनि सहयोग पुगेको छ।’ 

कुन–कुन जिल्लामा सुपथ पसल ?     

कम्पनीले ४२ जिल्लामा ६३ ओटा बिक्री केन्द्र राखेकोमा काठमाडौं, ललितपुर र भक्तपुरबाहेकका जिल्लामा विभिन्न प्रकारका चामल मात्रै बिक्रीमा राखिएको छ। उक्त खाद्यान्न सुपथ मूल्यमा बिक्री भएका जिल्लाहरूमा मोरङ, झापा, ताप्लेजुङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, ओखलढुंगा, दिक्तेल खोटाङ, सिरहा, धनुषा र पर्सामा छन्। यसबाहेक क्रमशः कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रूपन्देही, गुल्मी, बाँके, दाङ, बर्दिया, रोल्पा, रुकुमपूर्व, सुर्खेत, रुकुम पश्‍िचम, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, बाजुरा, बझाङ, अछाम, दार्चुला र कञ्‍चनपुरमा सुपथ मूल्यमा खाद्यान्न बिक्री भइरहेका छन्। 

काठमाडौं, ललितपुर र भक्तपुरका सुपथ पसलहरूमा भने सात थरीका चामलबाहेक अन्य २२ प्रकारका खाद्य वस्तुहरू बिक्री भइरहेका छन्। चामलअन्तर्गत बासमती चामल, अरुवा मोटा चामल, जिरा चामल ‘एफआरके’, अरुवा सोना मन्सुली चामल, लङ ग्रेन चामल, स्टिम जिरा चामल, अरुवा सोना मन्सुली चामल ‘एफआरके’ सुपथ मूल्यमा बिक्री भइरहेका छन्। 

प्रायः चामलमा बजार 

मूल्यभन्दा अधिकतम पाँच सय रुपैयाँसम्म छुट दिइएको कम्पनीले जनाएको छ। यसैगरी राजधानीका यी तीन जिल्लाका सुपथ पसलमा क्वाँटी, चना, चिउरा, मासको दाल, मुगी खोष्टा, मसुरो दाल, रहरको दाल, कर्णाली सिमी, चिनो चामल, कागुनो, चामल मार्सी, आँटा, उवा, चिनी उपलब्ध छन्। यस्तै, तेलहरूमा शान्ति तोरीको तेल, तोरीको तेल, भटमासको तेल, सन्फ्लावरको तेल र डीडीसी घिउ सुपथ मूल्यमा बिक्रीमा राखिएका छन्। तेलमा लिटरमा ७ रुपैयाँ र घिउमा १० रुपैयाँसम्म छुट दिइएको छ।

कम्पनीले मात्रै दसैंमा १४ सय खसीबोका र तीन सय च्याङ्ग्रा बिक्रीमा राख्ने दसैंमा मासुको खपत अधिक हुने भएकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटक काठमाडौंमा मात्रै १ हजार ४ सय हाराहारीमा खसीबोका बिक्रीका लागि भित्र्याइँदै छ। यो प्रायः मकवानपुर (हेटौंडा), तुल्सीपुर र नवलपुरबाट खरिद गरेर ल्याइन्छ। 

यससँगै, मुस्ताङबाट तीन सय च्याँग्रा राजधानी ल्याइँदै छ। कम्पनीले यसपटक खसीबोका र च्याङ्ग्रा खरिदका लागि ४ करोड रुपैयाँबराबरको बजेट तोकेको जनाएको छ। जबकि गत वर्षको दसैं लक्षित गरेर कम्पनीले १ हजार ६ सय ५९ वटा खसीबोका र ५ सय ४२ वटा च्याङग्रा खरिद गरेको थियो। त्यतिबेला सबै बिक्री भएको थिएन। करिब ३० च्याङ्ग्रा कुकुरले टोक्दा कतिपय मारिए र घाइते भएका थिए। उक्त च्याङ्ग्रालाई लामा गुरुहरूले कम मूल्यमा किनेर हिमाली भेगमा फर्काएका थिए। 

यद्यपि यतिबेला कम्पनीले खरिद प्रक्रिया सुरु गरेको र घटस्थापनाको भोलिपल्ट अर्थात् द्वितीयाको दिनदेखि बिक्री मूल्य तय गरी बिक्री सुरु गर्ने योजनामा रहेको छ। यसपटक खसीबोका र चाङ्ग्राको मूल्य निर्धारणका लागि सिडियोसँगको समितिले तय गर्न बाँकी रहेको सीईओ आचार्य बताउँछन्। सीईओ आचार्यका अनुसार जीवित खसीबोका प्रतिकेजी ५ सय ४० रुपैयाँदेखि ५ सय ६० रुपैयाँ हाराहारीमा पर्न जाने अनुमान गरिएको छ। यससँगै च्याङ्ग्राको प्रतिकेजि १ हजार १ सय रुपैयाँ लागत पर्ने भएकाले यसमा केही मार्जिन राखेर बिक्री गरिने उनले जानकारी दिए। 

बर्सेनि राजधानीमा करिब ५० हजार खसीबोका बिक्री

खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाहेक पनि राजधानीमा निजी क्षेत्रबाट खसीबोका र च्याङ्ग्रा ल्याइँदै छ। निजी क्षेत्रको संगठित संस्था नेपाल चौपाया बजार तथा वधशाला प्राइभेटका अनुसार करिब २२ हजार ५ सय खसीबोका  र ५ हजारको संख्यामा च्याङग्रा भित्रिने अनुमान छ। समग्रमा विगतका वर्षहरूलाई पनि विश्लेषण गर्दा दसैंको सिजनमा राजधानीमा करिब ५० हजारको संख्यामा खसीबोकाको व्यापार हुने गरेको पशु सेवा विभागले जानकारी दिएको छ। यद्यपि चाडपर्वबाहेक उपत्यकामा मासुको खपत राम्रै परिमाणमा हुने गर्छ। विभागका अनुसार सामान्य अवस्थामा पनि राजधानीमा दैनिक १ हजार २ सयको संख्यामा खसीबोका खपत हुने गरेको छ। 

विभागले राजधानी भित्रिने खसीबोका, च्याङ्ग्रा र राँगालगायतका जनावरको स्वास्थ्य परीक्षणपछि मात्रै बिक्रीको व्यवस्था गरेको जनाएको छ।  विभागले स्वास्थ्य परीक्षण गरी स्वस्थ खसीबोकालाई मात्रै बिक्री गर्नका लागि क्षेत्र तोकेको छ। उपत्यकाको ११ स्थानमा यसको बिक्री हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.