सडक भत्केका छन्, होसियार भएर यात्रा गरौं

सडक भत्केका छन्, होसियार भएर यात्रा गरौं

काठमाडौं : दसैंका लागि घर फर्किंदै हुनुहुन्छ ? होसियार भएर यात्रा गर्नुहोला। किनकि केही दिनको अविरल वर्षाले मुख्य सडक भत्केका छन्। ठाउँठाउँमा पहिरो गएको छ। अझै केही दिन पानी पर्ने स्थिति देखिँदैछ। 

सडक मार्गबाट दसैं मनाउन घर जानेहरूका लागि यसपटक परिस्थिति सहज छैन। अझै वर्षाको पूर्वानुमान भइरहँदा सडक यात्रा झनै अन्योलमा परेको छ।
असोज १० गते रातिदेखि असोज १२ गतेसम्म आएको अविरल वर्षा र त्यसपछिको बाढी र पहिरोले कुल ८० राष्ट्रिय राजमार्गहरूमा २३ राजमार्गका विभिन्न ६४ स्थानमा सडक अवरुद्ध भएको थियो। केही राजमार्ग र स्थानमा मर्मत र बाढी पहिरो पन्छाइएको छ। तर, अझै पनि १४ राजमार्गका ४२ स्थानको सडक अवरुद्ध रहेको छ। अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग, मदन भण्डारी राजमार्ग, कालीगण्डकी कोरिडोरलगायतका राजमार्गका विभिन्न स्थानका सडक अवरुद्ध नै रहेका छन्। सडक तथा पुल मर्मतका लागि २ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी लाग्ने विभागको तथ्यांक छ।

बाढीले पाँच पुलहरू सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार र फोक्सिङटार र अरनिको राजमार्गको लिपिङ पुल र इलाम माईपोखरी सडकको राते खोला पुल बगाएको छ। यस्तै लार्चा र हेवा खोला पुल पनि बगाएको छ। राजमार्ग र पुलहरू नै नहुँदा यात्रुहरूको सडकको यात्रा सहज नहुने भएको हो।

सरकारले पनि अति आवश्यक बाहेक यात्रा नगर्न अनुरोध गरेको छ। अझै वर्षाको सम्भावना रहेकोले सुरक्षित रहनका लागि सरकारले अनुरोध गरेको यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु बताउँछन्। बाटोमा अलपत्र पर्ने गरी यात्रा नगर्न नै राम्रो भन्दै पनेरूले यात्रा गर्नै पर्ने अवस्था भएमा आफू जाने सडकको अवस्था बुझेर मात्र यात्रामा निस्कन अनुरोध गरेको बताए। यातायात व्यवसायीहरूलाई पनि सडकको अवस्था नबुझी यात्रा नगराउन भनिएको उनले जानकारी दिए। 

  • ठाउँठाउँमा पहिरो गएको छ। अझै केही दिन पानी पर्ने स्थिति देखिँदैछ। 
  • अनलाइन टिकेटिङको सुविधा भए पनि भौतिक उपस्थितिमा नै टिकट काट्ने चलन छ । 
  • दसैंमा १५ लाख बढीले उपत्यका छोडथे यस पटक भन्न सकिने अवस्था छैन् । 

दसैंका लागि लक्षित गर्दै सरकारले असोज १२ गतेबाट अग्रिम बुकिङ खुल्ला गरेको थियो। वर्षाका बाबजुद पनि बुकिङ भने आक्रामक नै थियो। तर, सोही दिन नै वर्षाका कारण राजधानीलगायत राजमार्गहरू अवरुद्ध भए। अब फेरि पनि पानी परेन भने असोज १८ गतेबाट केही सहज हुन सक्ने नयाँ बसपार्क व्यवस्थापनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पंकज मल्लले बताए। अहिलेसम्म बसपार्क आएर नै करिब ३२ हजारले विभिन्न गन्तव्य टिकट काटिसकेको उनी बताउँछन्। अनलाइन टिकेटिङको सुविधा हुँदा पनि भौतिक उपस्थितिमा नै टिकट काट्ने चलन हुँदा यसलाई व्यवस्थित गर्न सरकारले नियमन गर्नुपर्ने उनले बताए।

अघिल्ला वर्षको तुलनामा यस वर्ष यात्रुको संख्या धेरै नै घटेको उनको भनाइ छ। सडक, राजमार्गहरू अवरुद्ध हुँदा सबै यात्राका लागि निस्किने अवस्था छैन। पहिला दसैंको समयमा सात सयभन्दा बढी सार्वजनिक सवारी एकैदिन छुट्थे। तर, अहिले २–३ सय हाराहारीमा बस छुट्ने गरेको मल्ल बताउँछन्। 

अघिल्ला वर्षका दसैंमा यो बेला उपत्यका छोड्नेहरूको भीडभाड देखिन्थ्यो। नयाँ बसपार्क होस् या कलंकी, कोटेश्वर वा जडीबुटी पोकापन्तरा बोकेर आफ्नो गाडीको पर्खाइमा बसेका यात्रु देखिन्थे। घटस्थापनादेखि अधिकांश विद्यालय, कलेज र संघसंस्था बन्द हुने हुँदा त्यसपछि नै घर जाने यात्रुको घुइँचो बढ्थ्यो। रोजगारी तथा उच्च शिक्षाका लागि उपत्यका आएकाहरू पनि दसैंका लागि बाहिरिने गर्थे। काठमाडौं उपत्यकामा स्थायी र बाह्य जिल्लाबाट आएका गरी करिब ६० लाख जनसंख्या बसोबास गर्ने सरकारी तथ्यांक छ।

दसैंमा करिब १५ लाख बढीले उपत्यका छोड्ने गर्थे। तर, यो पटक कति बाहिरिन्छन् भन्न सक्ने अवस्था नरहेको काठमाडौं ट्राफिक उपत्यका कार्यलयका प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताए। मंगलबार र बुधबार गरी ५० हजारले उपत्यका छोडेका छन्। अघिल्ला वर्ष आजको दिनको डेढ लाखले उपत्यका छोड्ने गर्थे। शुक्रबारदेखि सोमबारसम्म लामा दूरीको सवारी नै चलेनन्। नभए अहिलेसम्म ३–४ लाखले उपत्यका छोड्ने गरेको कार्की बताउँछन्।

तर, वर्षा, बाढी, पहिरोका कारण यो दसैंको यात्रा सहज नहुने देखिन्छ। कुनै पनि परिस्थितिमा उपत्यका छोड्ने यात्रुहरूको गन्तव्य सहज र सर्वसुलभ यात्राका लागि यातायात व्यवसायी, यातायात व्यवसायी महासंघ, बसपार्कका व्यवस्थापक, नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायत सबै निकायसँग यातायात व्यवस्था विभागले समन्वय गरेर अघि बढेको बताएको छ। उपत्यकाको कलंकी, स्वयम्भू, नयाँबसपार्क, सातदोबाटो, गौशाला, चाबहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुंगा, जगातीलगायत स्थानबाट यात्रुहरू बाहिरिने हुँदा त्यहाँ यात्री सहायता कक्ष राखिएको छ। नयाँ बसपार्कमा लामो तथा छोटो दूरीका सवारी चालक तथा सहचालकहरूको स्वास्थ्य परीक्षणका लागि डेस्क खडा गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। 

यता, अरनिको यातायात हुँदै १३ जिल्लामा लामो तथा छोटो दूरीका सार्वजनिक सवारी सञ्चालनमा छन्। काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलु, सल्लेरी, सिन्धुलीलगायतका जिल्लामा जान सकिन्छ। तर, यो वर्षको दसैंमा सिन्धुपाल्चोक, काभ्रे, दोलखा र रामेछापसम्मका लागि मात्र यात्राको व्यवस्था गर्न सकिने पूर्वअरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री बताउँछन्। अन्य राजमार्ग र सडकका तुलनामा कम क्षति भएको र सहजै यात्रा गर्न सकिने भएकोले अग्रिम बुकिङ पनि यथावत् नै राखेको क्षेत्रीले जानकारी दिए।

तर, सिन्धुपाल्चोकमा अवरुद्ध रहेको सडकलाई खुलाउनका लागि सरकारले काम नगर्दा एकतर्फीबाट मात्र यात्रा भइरहेको उनी बताउँछन्। एउटा डोजरले बाटो खुलाउने हो भने यस क्षेत्रमा सडकमा ठूलो समस्या नरहेको क्षेत्रीले बताए। ‘खुर्कोटको बाटो अवरुद्ध भए पनि सिन्धुपाल्चोक हुँदा जान सकिन्छ। यात्रुहरूलाई हामी बढी भाडा पनि लिँदैनौं। यो बाटो १–२ घण्टा बढी घुमाउरोमात्र पर्ने हो।’ क्षेत्री बताउँछन्। गाडी, सुमो, इलेक्ट्रिक गरी करिब ७ सय सवारी छन्।


 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.