क्रसरको खाल्डोमा डुबेर एकै परिवारका नाबालक दाजुभाइको मृत्यु

क्रसरको खाल्डोमा डुबेर एकै परिवारका नाबालक दाजुभाइको मृत्यु

विराटनगर : मोरङमा क्रसरको खाल्डोमा डुबेर बिहीबार एकै परिवारका नाबालक दाजुभाइको मृत्यु भएको छ। केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर २ नाबालकले ज्यान गुमाएका हुन्। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले क्रसरको पानी जमेको खाल्डोमा डुबेर केराबारी–८ का तोयानाथ चौलागाईंका छोराहरु ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईंको मृत्यु भएको जानकारी दिए। 

मृत फेला परेका नाबालकका बुवा तोयानाथ त्यही क्रसरका कामदार रहेको प्रहरीले जनाएको छ। नाबालकहरु क्रसरको खाल्डोमा डुबेर बेपत्ता भएको जानकारी प्रहरीले दिउँसो ३:४० बजेतिर पाएको थियो। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले सुरुमा ६ वर्षीय रामचरणको शव खाल्डोबाट निकालेको थियो। पानी जमेको खाल्डोमा घोप्टो परेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको हो। 

खोजी गर्ने क्रममा रामचरणका दाजु १० वर्षीय भूपेनको शवसमेत साँझ त्यही खाल्डोमा फेला परेको डीएसपी जोशीले बताए। ‘नाबालक दाजुभाइको मृत्यु एउटै खाल्डोमा डुबेर भएको पाइयो,’ उनले भने, ‘भाइको शवलाई बाहिर निकालेर पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।’

दाजुको शव भने आफन्त र स्थानीयले खाल्डोबाट निकाल्न दिएका छैनन्। क्रसरको चरम लापरबाहीले घटना भएको आरोप स्थानीयको छ। छानबिन गरेर सत्यतथ्य पत्ता लगाउँदै दोषीमाथि कारबाही नभएसम्म शव निकाल्न नदिने अडान आफन्त र स्थानीयको छ। डीएसपी जोशीका अनुसार पौडी खेल्न खाल्डोमा पसेका नाबालकहरुको बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान छ। यद्यपि, घटनाको अनुसन्धान सुरु गरिएको र अनुसन्धानपछि मात्रै वास्तविकता पत्ता लाग्ने जानकारी जोशीले दिए। 

स्थानीयका अनुसार क्रसरको कम्पाउण्डबाट केही दिनअघि ‘मिक्स गिट्टी’ निकालिएको थियो। गिट्टी निकाल्दा ४ फिटभन्दा गहिरो खाल्डो बनेको थियो। तर, क्रसरले उक्त खाल्डो नपुरेर त्यत्तिकै छाडेका कारण २ नाबालकले अकालमा ज्यान गुमाएको स्थानीय बताउँछन्। खाल्डोको वरिपरि बालुवा, गिट्टी र मिक्स गिट्टी भण्डारण गरेर राखिएको छ। भण्डारणको बीचमा रहेको खाल्डोमा डुबेर २ नाबालकको मृत्यु भएपछि स्थानीय आक्रोसित बनेका छन्। उनीहरुले दोषीमाथि कारबाही हुनुपर्ने, मृतक पक्षलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका छन्। 

उक्त क्रसरमा केराबारी गाउँपालिका पूर्वअध्यक्ष रोहित कार्कीसहित रोशन सुब्बा, विशाल खरेललगायतको लगानी रहेको स्थानीय बताउँछन्। स्थानीय लीलानाथ घिमिरेका अनुसार क्रसरले ठुल्ठूला भौडी (खाल्डा) बनाएको छ। ‘क्रसरले उत्खनन् गरेपछि भौडी पुर्नुपर्ने थियो। अजंगका भौडी बनाएर त्यत्तिकै छाडेको छ,’ उनले भने, ‘यो चरम लापर्बाही हो। क्रसर संचालकलाई कारबाही हुनुपर्ने माग स्थानीयले गरेका छन्।’ घिमिरेका अनुसार स्थानीयले क्रसर हटाउनुपर्ने र संचालकलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.