योग पर्यटन प्रवर्द्धन : पोखरामा योगा महोत्सवको तयारी
पोखरा : योग पर्यटन प्रवर्द्धनका लागि पोखरामा योगा महोत्सवको तयारी गरिएको छ। पोखराको भकुण्डेस्थित योगा रिट्रिट सेन्टरमा अक्टोबर १६ देखि १९ सम्म योगा महोत्सवको आयोजना हुन लागको हो।
होटल संघ नेपाल र पोखरास्थित पूर्ण योगा रिट्रट सेन्टरको आयोजनामा योग पर्यटन प्रवर्द्धनका लागि योगा महोत्सवको तयारी गरिएको हो। महोत्सवमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त योग विज्ञहरूको जमघट हुने आयोजक मनोहर श्रेष्ठले बताए।
योगा महोत्सवमा स्वदेशी तथा विदेशी गरेर ३ सय जना सहभागी जनाउने प्रतिबद्धता जनाए पनि विदेशबाट नेपाल आउने जहाज भाडा महँगो भएकोले विभिन्न देशका गरी ५५ विदेशी र नेपालीसहित १ सय ७० जनाको सहभागिता रहने उनले सुनाए। विभिन्न देशका १६ जना योग गुरु पनि योगा महोत्सव सहभागी रहने छन्। योगा रिट्रिट सेन्टरले सन् २००० देखि योगा पर्यटनको रूपमा योगा गराउँदै विभिन्न क्षेत्रको पदयात्रा पर्यटकलाई लग्दै आएको पनि उनले बताए।
योगको सुरु भएको देश नेपालमा योगा पर्यटनको सम्भावना भएर पनि त्यसअनुसार लाभ लिन नसकिएकोले योगा महोत्सवको आयोजना गरिएको आयोजक संस्थाकी लता तुलाचनले बताइन्। प्रकृति संरक्षण गर्दै योगा पर्यटनको प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिइन्।
नेपालमा आउने पर्यटकहरूमा धेरै पर्यटक हिमाली क्षेत्रको पदयात्राका लागि आउने भएकोले योगा पर्यटकको रूपमा पनि विभिन्न देशका पर्यटक आकर्षण गर्न सकिने अर्को आयोजक संस्था होटल संघ नेपालका महासचिव साजन शाक्यले बताए। पोखरामा हुने योगा पर्यटनबाट पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने उनले सुनाए।