यसपटक दक्षिणामा सुकिला नोट

यसपटक दक्षिणामा सुकिला नोट
फाइल तस्बिर।

काठमाडौं : दसैं तिहारमा नयाँ नोट प्रयोग गर्ने चलन छ। तर यसपटक नेपाल राष्ट्र बैंकले नयाँ नोटको सट्टा सफल तथा सुकिला नोटको मात्रै सटही गरिरहेको छ। यसअघिका वर्षमा नयाँ नोट साट्नेको भिड लाग्ने गरे पनि यसपटक खासै घुइँचो छैन। 

दसैंलाई लक्षित गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सबै दरका नोट (रु ५, १०, २०, ५० र १००) गरेर प्रतिव्यक्ति साढे १८ हजार रुपैयाँसम्म साट्न सकिने व्यवस्था राष्ट्र बैंकले मिलाएको जनाएको छ। सो सुविधा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिनेछ। साथै, राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्त्र र धनगढीबाट नोट सटहीको सुविधा लिन सकिनेछ। यससँगै, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत नोट सटही गर्न सकिनेछ। 

विगतका वर्षमा दसैं लक्षित सटहीको अवधिमा मात्रै करिब ३० अर्ब रुपैयाँ सटही भएको देखिन्छ। तर यो सटही सबै दसैं खर्चका लागि मात्रै नभई अन्य भुक्तानीका लागि पनि हुने गरेको थियो। यसपटक बजारमा कति सुकिला नोट पठाउने भन्ने निश्चित नतोके पनि मागअनुसार पूरा गर्न सकिने केन्द्रीय बैंकको भनाइ छ। 

हुन त राष्ट्र बैंकको सफा नोट नीति छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार गत असारसम्ममा चलनचल्तीमा सबै दरका नोट गरेर ६ खर्ब ८० अर्ब ४ करोड ८८ लाख २ हजार ७ सय १ रुपैयाँबराबरको छ। यो बैंक तथा वित्तीय संस्थाको ढुकुटी, सहकारी संस्थाहरू, गैरबैंकिङ संस्था र आम नागरिकसँग भएको रकम हो। यसरी चलनचल्तीमा रहेका नोटहरू बजारबाट बैंकमा फर्किन्छन्। त्यसलाई राष्ट्र बैंकले चलाउन योग्य नोट र अयोग्य भनेर सटही गर्छ। चलनचल्तीमा फेरि पठाउन मिल्ने (केरमेट नभएका,नच्यातिएका, झुत्रा नभएका) सफा नोट हुन्। तर केरमेट भएका, च्यातिएका, झुत्रा नोटहरू चलनचल्तीका लागि अयोग्य हुने भएकाले तिनलाई जलाउने गरिन्छ। राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलका अनुसार सफा नोटहरू पछिल्लोसमय राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थासँग सुकिला नोटको स्टक बढ्दै गएकाले यसलाई दसैंमा प्रयोग गरौं भनेर यसपटक यस्तो निर्णय गरेको हो। ‘प्रत्येक वर्ष दसैंमा सटही हुने गरेको नोटभन्दा दुई गुणा बढी सफा नोट स्टकमा रहेका कारणले त्यसलाई व्यवस्थापन गर्न खोजेका हौं, डा. पोखरेलले अन्नपूर्णसँग भने, ‘यसो गर्दा थुप्रिएको सफा नोटलाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने लगायतको व्यवस्थापन लागत खर्च पनि घट्ने छ र नयाँ नोटमा लागत पनि हुँदैन। यसकारण राष्ट्र बैंकले यसपटक सफा नोट व्यवस्थापन नीति लिएको हो।’ 

मोबाइल बैंकिङ फस्टाउँदा सुकिला नोट व्यवस्थापन गर्न हम्मे

पछिल्लो समय मोबाइल बैंकिङ कारोबार फस्टाउँदै जाँदा नगद कारोबार कम भएको केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार गत साउनसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको खाता संख्या २ करोड ४९ लाख ६१ हजार नाघेको छ। जसबाट ४ करोड ७४ लाख ६० हजार हाराहारी पटक कारोबार भएको छ। यस्तै, कनेक्ट आईपीएसका प्रयोगकर्ता १२ लाख ९९ हजार प्रयोगकर्ता पुगेका छन्। यसबाहेक, क्यूआर कोडमार्फत ट्रान्जेक्सन, इन्टरनेट बैंकिङ, वालेटलगायतका डिजिटलहरूका प्रयोगकर्ताहरू बढने क्रममा छन्। सोही अनुसार कारोबार पनि बढिरहेको केन्द्रीय बैंकको तथ्यांकमा पनि देखिन्छ। 

राष्ट्र बैंकका सहायक प्रवक्ता पोखरेल डिजिटल कारोबारलाई प्रोत्साहन गरेका कारणले पनि नगद कारोबार तुलनात्मक रूपमा कम हुन गई सुकिला नोट थुप्रिएको बताउँछन्। उनका अनुसार क्यूआर (क्विक रेस्पोन्स)कोडमार्फत ट्रान्जेक्सन गतवर्षको भन्दा १०८ प्रतिशतले बढेको छ। ‘बैंकिङ प्रणालीमा कारोबार गर्ने शैली डिजिटाइज हुँदै गएको छ। यसकारण पछिल्लो समय चलनचल्तीमा नोटहरू कम हुनुको एउटा कारण विद्युतीय कारोबारको भूमिका पनि ठूलो भएर हो,’ डा.पोखरेलले अन्नपूर्णसँग भने। राष्ट्र बैंकको सफा नोट नीति वास्तवमा मुलुकभर सफा नोटमात्र चलनचल्तीमा ल्याउनुका साथै नोट व्यवस्थापन खर्च न्यूनीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०६७÷०६८ को मौद्रिक नीतिमार्फत सफा नोट नीति ल्याएको थियो। सर्वसाधारण जनतामा गुणस्तरीय र सफा नोट चलनचल्तीमा ल्याउने, च्यातिएको, फोहोर नोटहरू चलनचल्तीबाट हटाउँदै जानु सफा नोट नीतिको प्रमुख उद्देश्य रहेको छ। 

आार्थिक कारोबारको सिलसिलामा बजारमा सफा नोट मात्र प्रयोग गर्ने र कारोबारको क्रममा पुराना, मैला नोटहरू फिर्ता लिएर जलान गर्ने नीतिगत व्यवस्था नै सफा नोट नीति हो। जसअन्तर्गत बंैक तथा वित्तीय संस्थाहरूको माध्यमबाट सुकिला भुक्तानीयोग्य नेपाली नोटहरू मात्र ग्राहकहरूलाई भुक्तानी गर्ने र पुराना मैला नोटहरू राष्ट्र बैंकमा दाखिला गर्न पठाउने कार्य पर्छन्। 

केन्द्रीय बैंकको अनुसार सर्वसाधारणले प्रयोग गर्ने नोट कत्तिको सफा छ भन्ने कुराले त्यस देशका जनताको चेतनाको स्तर तथा सभ्यताको चिनारी दिन्छ। यसैगरी, नोट विभिन्न किसिमका काम गर्ने मानिसको हातमा पुग्ने र एक हातबाट अर्को हातमा कारोबारको सिलसिलामा सर्दै जाने हुनाले नोटमा विभिन्न किसिमका रोगका कीटाणुहरू र फोहोरमैला पनि लागेको हुन्छ। यो स्वास्थ्यका लागि हानिकारक हुन्छ। नेपाली नोटप्रतिको संवेदनशीलताबारे जनतालाई जागरुक बनाउन, नोटको आकर्षण कायम राख्न पनि सफा नोट नीति आवश्यक हुन गएको छ। नेपाली नोट कागजबाट बनेको नोट हो। यसलाई जतनसाथ प्रयोग गरेमा यसको आयु बढ्दछ।

लेनदेन तथा आर्थिक कारोबारका लागि हामीलाई नोट आवश्यकता पर्दछ। अहिले विश्वमा प्रायः कागजी नोट प्रचलनमा रहेका छन्। यी नोटको व्यवस्था राज्यले गर्दछ। सोको जिम्मेवारी कानुनले नै केन्द्रीय बैंकलाई प्रदान गरेको हुन्छ। त्यसैले विश्वका प्रायजसो सबै राष्ट्रले मुद्रा निष्कासन र व्यवस्थापन गर्ने जिम्मेवारी केन्द्रीय बैंकलाई प्रदान गरेका हुन्छन्। नेपालमा पनि यो जिम्मेवारी केन्द्रीय बैंकको रूपमा नेपाल राष्ट्र बैंकले बहन गर्दै आएको छ। एउटा सभ्य नागरिकको कर्तव्य राज्यले व्यवस्था गरेको नोट तथा सिक्काहरूको सुरक्षा गर्नु, त्यसलाई जतन एवं सुझबुझपूर्ण ढंगले प्रयोग गर्नु र नोटलाई सफा राख्न प्रयास गर्नु पनि हो। यस्तो बानी गरेमा यसबाट व्यक्ति तथा राज्य दुवै लाभान्वित हुन्छन्। 

नयाँ नोटको जति जतन ग¥यो त्यति आयु बढ्दछ। यसले नोट छाप्ने, वितरण गर्ने तथा मैला झुत्रा नोट पुनः जम्मा गरी त्यसलाई धुल्याउने कार्यमा भएको खर्च न्यूनीकरण हुन गई राज्यको साधन बचत हुन जान्छ र राज्यलाई फाइदा पुग्दछ। राज्यलाई फाइदा पुग्दा हामी सबै लाभान्वित हुन्छौं। 

नगदमा व्यक्तिसँगै मुलुकको सम्पत्ति, नोटको प्रयोगमा सजग हुन अनुरोध

नोट व्यक्तिको सम्पत्तिमात्रै होइन मुलुकको पनि हो। जति धेरै पैसा त्यति धेरै धनी व्यक्ति भएझै मुलुक पनि हुन जरुरी छ। सम्पूर्ण नेपाली नोटहरू विदेशमा छाप्ने गरिन्छ। छापिएको नोट नेपालमा ल्याउन, नेपालका गाउँठाउँसम्म पु¥याउन, पुरानो नोट विभिन्न ठाउँहरूबाट नेपाल राष्ट्र बैंकमा फिर्ता ल्याउने कार्यमा राज्यले ठूलो खर्च बेहोर्नु परिरहेको छ। यति मात्र होइन, नोटमा नेपाली राष्ट्रिय प्रकृति, संस्कृति, सभ्यता, अंकित हुन्छन्। यसर्थ हामीले नोटलाई आफ्नै सम्पत्ति र राष्ट्रको गौरव ठानेर जतनसाथ प्रयोग गरेमा हाम्रो मन प्रसन्न रहने, नेपाल र नेपालीको सभ्यता उच्च राख्न मद्दत पुग्न जानुका साथै राज्यको खर्च पनि न्यूनीकरण हुन गई नोट छपाइमा प्रयोग हुने स्रोतसाधन अन्य काममा खर्च गर्न पाइने हुन्छ। 

नोट जति पुरानो भयो स्वास्थ्यलाई हानि गर्छ। मुलुकमा आर्थिक कारोबारमा भएको वृद्धिसँगै अटोमेटेड टेलर मेसिन (एटीएम) को प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ। त्यस्ता मेसिनमा पुराना, थोत्रा नोट राख्दा सो मेसिनको कार्यक्षमतामा ह्रास आउने, चाँडै बिग्रिने र भनेको बेलामा पैसा ननिस्कने सम्भावना हुन्छ। अझ महŒवपूर्ण पक्ष कुनै पनि विदेशी नागरिक नेपाल आइपुग्ना साथ उसले गर्ने पहिलो काम भनेको विदेशी मुद्रा दिएर नेपाली मुद्रा सटही गर्नु हो। विदेशी मुद्राको सट्टामा झुत्रो, पुराना नोटहरू मात्र सटही गरिदिनाले विदेशीको मनमस्तिष्कमा पहिलो प्रभाव नै नकारात्मक प¥यो भने त्यसबाट अन्य क्षेत्रमा पनि सोही किसिमको नकारात्मक प्रभाव पर्दछ। तसर्थ, मुलुकको पहिचान दिने, सभ्यताको स्तर इंगित गर्ने विद्यार्थीसँग नेपाल राष्ट्र बैंक माध्यम भनेको नेपाली मुद्रा पनि हो। त्यसैले, विश्वसामु नेपाली मुद्रा सफा र राम्रो देखिनु उत्तिकै आवश्यक रहन्छ। नोटलाई पट्ट्याउने, कच्याककुचुक पार्ने, पोको पारेर धान मकैको भकारीभित्र राख्ने, माटोमा गाड्ने, नोटमा जथाभावी लेख्ने वा केरमेट गर्ने, आगोले पोल्ने, च्यात्ने, भिजाउने गर्दा नोटको आयु घट्नेमात्र होइन यसबाट माथि भनिएझैं राष्ट्रको अमूल्य सम्पत्तिको दुरुपयोग हुने, जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले नोटको जतन र सुरक्षण गर्नुपर्ने कर्तव्य प्रत्येक नागरिकको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.