सोह्र श्राद्धमै मुस्ताङ भित्रिए साढे २० हजार पर्यटक

सोह्र श्राद्धमै मुस्ताङ भित्रिए साढे २० हजार पर्यटक

जोमसोम : सोह्र श्राद्ध तिथिको १५ दिनमा कुल २० हजार ४ सय ४६ पर्यटक मुस्ताङ भित्रिएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार सोह्र श्राद्ध तिथिअन्तर्गत असोज २ गतेदेखि असोज १६ गते साँझसम्ममा बेनी—जोमसोम सडकमार्ग हुँदै आन्तरिक तथा बाह्य गरी उक्त संख्यामा पर्यटक मुस्ताङ भित्रिएका हुन्।

बर्सेनि चैते दसैं औंसी र बडादसैँ औंसी तिथिमा हजारौं श्रद्धालु भक्तजन पितृ उद्धारका लागि श्राद्ध, तपर्ण र पिण्डदान गर्न मुस्ताङको बारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा आउने गर्छन्। मुस्ताङको कागबेनी दिवंगत पितृ उद्धार गर्नका लागि निकै महत्त्वपूर्ण धार्मिकस्थलको रूपमा लिने गरिन्छ। राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमार्गअन्तर्गत प्रहरी चौकी घाँसाले संकलन गरेको पर्यटक तथ्यांकअनुसार सोह्र श्राद्ध तिथिको १५ दिनको अवधिमा आन्तरिक तथा बाह्य गरी कुल २० हजार ४ सय ४६ पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए। यसमा आन्तरिक पर्यटक १४ हजार ८ सय ५० र सार्क तथा अन्य राष्ट्रको ५ हजार ५ सय ९६ पर्यटक मुस्ताङ भित्रिएको प्रहरी निरीक्षक सुवेदीले बताए। उनका अनुसार सोह्र श्राद्ध तिथि सुरु भएदेखि औंसी तिथिसम्म आन्तरिक पर्यटक ९ हजार २ सय ६५ पुरुष र ५ हजार ५ सय ८५ महिला पर्यटक मुस्ताङ भित्रिएका हुन्। यस्तै, सार्क राष्ट्रका ५ हजार २ सय ३६ र अन्य राष्ट्रका २ सय ७० जनाले सोह्र श्राद्ध अवधिमा मुस्ताङको भ्रमण गरे।

विगतको चैतेदसैं र बडादसैंको सोह्र श्राद्ध तिथि अवधिभर करिब १० हजारभन्दा बढी सवारीसाधन मुस्ताङ भित्रिने गर्थे। यसवर्ष अविरल वर्षाले सडक अवरुद्ध हुने र सवारी यात्रा गर्दा जोखिम हुने सम्भावना रहेका न्यून संख्यामा सवारीसाधन मुस्ताङ भित्रिएका हुन्। चालु वर्षको बडादसैं सोह्र श्राद्ध तिथिको १५ दिनको फेरोमा कुल ४ हजार ४४ सवारीसाधन मुस्ताङ भित्रिएको प्रहरी चौकी घाँसाको इन्ट्रीमा उल्लेख छ। यसवर्ष बर्खेदसैं तथा सोह्र श्राद्ध तिथि परेकाले विगतको तुलनामा आंशिक रूपमा कम पर्यटक मुस्ताङ भित्रिएको अनुमान गरिएको छ। सोह्र श्राद्धअन्तर्गत औंसी तिथि नजिकिँदै गर्दा अविरल वर्षाका कारण बाढी पहिरो र नदी कटानले ठाउँठाउँमा सडक अवरुद्ध हुँदा यस वर्ष कम पर्यटक मुस्ताङ भित्रिएका हुन्। वर्र्षाले देशका कतिपय स्थानमा मानवीय तथा भौतिक क्षति भएकाले पनि यस वर्ष विगतको भन्दा कम धार्मिक पर्यटक मुस्ताङ भित्रिएको होटल मेजस्टीका प्रोपाइटर निशान तुलाचनले उल्लेख गरे। बडादसैंअघिको सोह्र श्राद्ध तिथिमा मुस्ताङमा पर्यटक थेगी नसक्नु हुन्थ्यो, होटलहरू सबै भरिभराउ हुन्थे, प्रोपाइटर तुलाचनले भने, ‘यसवर्ष बर्खेदसैं प¥यो, जताततै निरन्तरको वर्षाले सडक अवरुद्ध हुँदा पर्यटक केही कम आएका हुन्।’ यस वर्ष औंसीको अघिल्लो दिन मंगलबार ४ हजार ७ सय २० पर्यटक मुस्ताङ भित्रिएकोमा औंसी तिथिको दिन बुधबार घटेर ८ सय ४९ जनामा सीमित भएको प्रहरीको तथ्यांकले देखाउँछ। मंगलबार र बुधबार बिहान कागबेनी तीर्थ गर्न आउने श्रद्धालु भक्तजनको घुइँचो रहेको थियो। त्यहाँ तीर्थालु सवार सवारीसाधनको पार्किङले कागबेनी कागबेनी खेलमैदान ढाकिएको थियो। 

परापूर्वकालमा काग भुसेण्डे ऋषिले मनाङको तिलिचोमा तपस्या गरी कागखोलामा आएर स्नान गरी पितृहरूको नाममा तर्पण र पिण्ड दिएको हुनाले कागबेनीधाममा पितृ उद्धारका लागि श्राद्ध, तर्पण, पिण्ड आदि दिने चलनको सुरुआत भएको हिन्दु शास्त्रमा उल्लेख छ। परापूर्वकालमा कागबेनीधाम आसपास ठूलो सरोवर थियो। त्यही सरोवरमा एकदिन दुईवटा कागहरू कुण्डमा खसेर मरे। कुण्डमा खसेर मरेका दुईवटा कागहरू तत्काल चमत्कारिक रूपमा हंसको रूपमा हाँस भई प्रकट भएकाले कागबेनीधामलाई हंस तीर्थसमेत भन्ने गरिएको छ। भगवान्को दैवी शक्ति प्रकट भएकाले यस स्थानमा आएर पितृको नाममा श्राद्ध, पिण्ड र तर्पण दिनाले पितृ उद्धार हुने धार्मिक किवंदन्ती रहेको पर्वतकी भक्तजन यशोदा आचार्यले बताइन्। 

ठूला नदीको संगमस्थललाई बेनी भनिन्छ। कागबाट हंस रूप धारण गरेकाले यस स्थानलाई कागबेनी भनिएको हो। कागबेनीमा पितृको नाममा श्राद्ध तथा पिण्ड दिनाले मोक्ष प्राप्ति हुने र पितृ उद्धार हुने हिन्दु शास्त्रहरूमा उल्लेख छ। कागबेनी धाममा श्राद्ध गर्न आउने तीर्थालुहरू पितृ उद्धारका विभिन्न कर्म गरेपछि मात्र मुक्तिनाथ दर्शन गर्न जाने चलन छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.