उल्झनमा मेलम्चीको पानी, मन्त्रालय र संघर्ष समितिबीच टकराव

उल्झनमा मेलम्चीको पानी, मन्त्रालय र संघर्ष समितिबीच टकराव

सिन्धुपाल्चोक : बाढी गएको ३ वर्ष बितिसक्दा पनि सरकारले बाढी पीडितको माग सम्बोधनमा कुनै चासो नदिएको भन्दै मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समितिले चरणबद्ध आन्दोलनको सुरु गरेको जनाएको छ।

संघर्ष समितिले खानेपानी आयोजनाविरुद्ध विभिन्न नारासहितको प्लेकार्ड बोकेर र्‍याली गर्दै आन्दोलनको सुरुवात गरेका छन्। यसअघि १७ बुँदे माग राख्दै सम्बोधनको लागि अपील गरिएको भए पनि त्यसको वेवास्था गरिएको भन्दै बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको संघर्ष समितिका अध्यक्ष पासाङ लामाले बताए। आन्दोलनको सुरुवातमा खानेपानी आयोजनासँग सम्बन्धी सम्पूर्ण सवारी साधन प्रवेशमा निषेध गर्ने योजना रहेको संघर्ण समितिले जनाएको छ।

संघर्ष समितिका उपाध्यक्ष नवराज गुरागाईँले समितिको मागपत्र सिंगो मेलम्ची खानेपानी आयोजना पीडितको अधिकार भएको समितिको आन्दोलनलाई ख्याल ख्याल नसोच्न चेतावनी दिए। उनले मेलम्ची सुरुङबाट निकालिएको डम्पिङबाट हेलम्बुवासीको घरखेत गएको भन्दै हेलम्बुका २५ प्रतिशत व्यक्तिलाई समस्या भएको जनाए। 

मेलम्ची आयोजना प्रभावित र बाढी पीडितले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढीअघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएको घर-व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति १० लाख क्षतिपूर्ति दिइनुपर्ने, स्थानीय सरकारमार्फत खानेपानीको ‘लेबी’ उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि २० लाख रुपैयाँ अनुदान दिनुपर्ने लगायतका आफ्ना माग सम्बोधन नभएपछि संघर्ष सुरु गर्नुपरेको समितिका सचिव छिरिङ ग्याल्बोले बताए। 

स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौं लैजान नपाइने उनीहरूको भनाइ छ। उनीहरूले बाढी पीडितलाई आयआर्जनका कार्यक्रम लागू गर्नसमेत माग गरेका छन्। समितिले आफूहरूको माग सम्बोधन नगरी जबरजस्ती पानी लैजाने प्रयास नगर्न अपिल गरेको छ। स्थानीयको माग सम्बोधन नगरी जबरजस्ती सुरुङमा पानी हाल्ने प्रयत्न गरिए थप आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ। 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा सञ्चालित मेलम्ची खानेपानी आयोजना र यसबाट प्रभावित क्षेत्रमा २०७८ साल असार १ र साउन १६ र १७ गते आएको भीषण बाढीका कारण आयोजनाको मुख्य हेडव्रर्कसभन्दा तल्लो तटीय क्षेत्रका मूख्य सडक मार्ग, झोलुङ्गे पुल, पुल पुलेसा, सिञ्चाई कुलो, पाटी पौवा, मठमन्दिर, हेलम्बु इलाका प्रहरी कार्यालय, हेलम्बु गाउँपालिका वडा नं. २ को कार्यालय, घरगोठ, नागरिकका जीविकोपार्जनसँग जोडिएको हजारौं रोपनी खेतियोग्य फाँटहरू, विद्यालय, क्याम्पसका पूर्वाधार तथा दर्जनौं व्यावसायिक फार्म तहसनहस भएको उनीहरुले जनाएका छन्।

दसैंअघि मेलम्चीको पानी ल्याउँछौं : मन्त्री यादव
खानेपानी मन्त्री प्रदीप यादवले मेलम्चीवासीका जायज माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र स्थानीयहरूले पनि पानी पथान्तरणका लागि कुनै समस्या सिर्जना नगर्नेमा आशावादी रहेको बताए। उनले मनसुन सफा भए दसैं अगाडि नै मेलम्चीको पानी काठमाडौं पथान्तरण हुने उनले बताए। 
 
स्थानीय आपूर्तिकर्ता, खानेपानी प्रभावित स्थानीय, संघर्ष समिति, जनप्रतिनिधिहरू र राजनीतिक दलका प्रतिनिधिहरूसँगको छलफलका क्रममा मन्त्री यादवले माग सम्बोधनको लागि प्रयत्न भइरहेको जनाए। स्थानीयका माग सम्बोधनका लागि मन्त्रालयका कर्मचारीहरू मेलम्ची पुगिसकेको उनले बताए। 

‘पानी खोल्नु भन्दा अगाडि एउटा ठूलो महाभारत छ। त्यो भनेको मेलम्चीका स्थानीयहरूको आन्दोलन। त्यहाँ बाढी, पहिरो पीडितहरूको आन्दोलन छ। त्यसले समस्या गरेको छ,’ उनले भने, ‘पीडितहरूको विमत्ति र मागप्रति मन्त्रालय गम्भीर छ। उहाँहरूको जायज मागमा सम्बोधन गर्नेतर्फ हामी लागेका छौं। पानी छोड्न उहाँहरूले कुनै कठिनाई गर्नुहुन्न भन्ने मलाई विश्वास छ। दुई तीन दिनपछि पानी खोल्नेछौं।’

मन्त्री यादवले विपद्को बेलामा सबैले सहयोग गर्नुपर्ने भन्दै काठमाडौंमा पानीको हाहाकार भएको बेलामा स्थानीयहरूले पानी पठाउन अवरोध नगर्नेमा आशावादी रहेको बताए। यादवले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गर्ने जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी (सिएमसी)लाई सामग्री आपूर्ति गर्ने स्थानीय आपूर्तिकर्ताले पाउनुपर्ने रकम तथा घर जग्गाको भाडा दिलाउन पहल गर्नेसमेत बताए। 

‘सिएमसीले काम छोडेर गएपछि ठेक्का पनि तोडिएको छ। तपाईँहरूले पाउनुपर्ने रकम तथा घर जग्गाको भाडा दिलाउन म सहित सिङ्गो मन्त्रालय पहल गर्ने छ,' उनले भने। यसैगरी मन्त्री यादवले मेलम्चीको सुरुङ निर्माण गर्ने जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनी (सिएमसी) ले भाडा नदिएका कारण मेलम्ची क्षेत्रका जनताहरूलाई दुःख भएको विषयमा आफू निकै चिन्तित बनेको बताए। 

‘जल तथा मौसम विज्ञान विभागले अबको दुई/तीन दिन अति वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने तयारी गरेका छौं’, मन्त्री यादवले भने, ‘मेलम्चीको पानी खोल्ने वित्तिकै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान हुन्छ।’ उनले २०७८ सालको बाढी, पहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति भएको र त्यसबाट स्थानीयहरू त्रसित रहेकाले केही समस्या रहेपनि सरकारले चाँडै स्थानीयका समस्या समाधान गरी काठमाडौंका नागरिकलाई पानी वितरण गर्ने जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.