क्रसरमा नाबालक दाजुभाइको मृत्यु प्रकरण: पैसामा मिलाइयो घटना, अघि बढाइएन कारबाही

क्रसरमा नाबालक दाजुभाइको मृत्यु प्रकरण: पैसामा मिलाइयो घटना, अघि बढाइएन कारबाही

विराटनगर : मोरङको केराबारी गाउँपालिका–८ स्थित कृष्ण क्रसरको खाल्डोमा डुबेर नाबालक दाजुभाइको मृत्यु भएको घटना पैसामा मिलाइएको छ। 

क्षतिपूर्ति र राहतका नाममा पैसा दिने सर्त राखेर घटना सामसुम पारिएको हो। घटनालाई कारबाहीको प्रक्रियामा लैजान छाडेर मिलाउनका लागि स्थानीय सरकारका प्रमुख, अन्य जनप्रतिनिधिदेखि प्रहरीसम्मले साथ दिएका छन्। क्रसर परिसरको खाल्डोमा जमेको पानीमा डुबेर केराबारी–८ का तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र ८ वर्षीय भूपेन चौलागाईंको बिहीबार मृत्यु भएको थियो। 

क्रसरको चरम लापर्बाहीले एउटै परिवारका २ नाबालकले ज्यान गुमाएको गम्भीर एवं पीडादायी तथ्यलाई लुकाएर पैसा दिने सर्तमा घटना मिलाइएको हो। घटनाका विषयमा शुक्रबार केराबारी गाउँपालिका कार्यालयमा सर्वपक्षीय छलफल भएको थियो। छलफलमा गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ, उपाध्यक्ष मनमाया मगरलगायतका जनप्रतिनिधि, पीडित पक्ष, क्रसरका सञ्चालक एवं गाउँपालिकाका पूर्वअध्यक्ष रोहित कार्कीसहित क्रसर व्यवसायीका प्रतिनिधि, इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री, इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सइ मानबहादुर जिम्बालगायत उपस्थित थिए।

वडाध्यक्ष कमलकुमार बस्नेतका अनुसार पीडितलाई क्षतिपूर्ति दिने सहमति भएको छ। ‘गाउँपालिकामै सर्वपक्षीय छलफल भयो। आगामी दिनमा क्रसरले यस्तो कमजोरी नदोहोर्याउने सहमति भएको छ,’ उनले भने, ‘गाउँपालिकाले पनि कार्यपालिका बैठकबाट निर्णय गरेर मृतकका अभिभावकलाई राहत रकम उपलब्ध गराउने कुरा छ। गाउँपालिकाले क्रसरको अनुगमनमा टोली पठाएर सत्यतथ्य पत्ता लगाउने विषयमा गहन छलफल भयो।’

बस्नेतका अनुसार पीडित पक्षलाई किरिया खर्चबापत तत्काल १ लाख रुपैयाँ क्रसर सञ्चालकले उपलब्ध गराएका छन्। अपुग भएमा थपिदिने सहमति छ। क्षतिपूर्ति र राहतबापत २५ लाख दिने र मृतक बालकहरूका नाममा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने सहमति भएको जानकारी वडाध्यक्ष बस्नेतले दिए। जग्गा उपलब्ध गराएमा क्रसर सञ्चालकले घर पनि बनाइदिने उनले बताए। 

छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केराबारी–८ का सभापति दीपक बस्नेतका अनुसार मृतकका अभिभावकको पारिवारिक आर्थिक अवस्था अति नै कमजोर छ। ‘उनीहरू सुकुम्वासीजस्तै हुन्। अर्काले दिएको जग्गामा बसेका छन्। शौचालयसमेत गाउँलेले नै बनाइदिएका थिए,’ बस्नेत भन्छन्, ‘मृतक नाबालकहरूका बाबु तोयानाथ शारीरिक रूपमा अपांगता छन्। त्यही क्रसरमा काम गर्छन्। सबै हिसाबले नाजुक अवस्थाकै कारण पैसा दिने सर्तमा घटना मिलाइएको छ।’ 

तोयानाथको सन्तानका रूपमा अब एउटी छोरी मात्रै रहेको उनले बताए। उनका अनुसार आगामी दिनमा कम्पाउण्डलाई घेराबारा गरेर र खाल्डाखुल्डी पुरेर मात्रै क्रसर चलाउने सहमति भएको छ। पीडितको पक्षमा मजवुत ढंगले कुरा राखिदिने नहुँदा लापर्बाही गर्ने क्रसरलाई भने कारबाही नहुने अवस्था उत्पन्न भएको छ। ‘पीडित पक्षलाई पैसामा मिलाइसके। तर, २ नाबालकको ज्यान जाने गरी गम्भीर लापर्बाही गर्ने क्रसरलाई कारबाही हुने देखिएन,’ छलफलमा सहभागी १ जनाले भने, ‘विभिन्न क्रसरमा गाउँपालिका अध्यक्ष, उनका परिवारदेखि पूर्वअध्यक्षसमेतको लगानी छ। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का स्थानीय नेताहरूले लगानी गरेका छन्।’
 
गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ आफैं क्रसर व्यवसायी हुन्। २ नाबालकको मृत्यु भएको कृष्ण क्रसरमा उनका बुवा नवीन थापामगरदेखि गाउँपालिकाका पूर्वअध्यक्ष रोहित कार्की, रोशन सुब्बा, विशाल खरेललगायतको लगानी रहेको स्थानीय बताउँछन्। केराबारी–८ को खदम खोलामा ४ वटा क्रसर छन्। कृष्ण, माहादेव मिनरल उद्योग, शिवम् एग्रिगेट र जय माता दी सम्राटसमेतका क्रसर उद्योगहरू रहेका हुन्। स्थानीयका अनुसार कुनै पनि क्रसरहरू मापदण्डअनुरूप चलेका छैनन्।

मनपरी ढंगबाट चलिरहेका क्रसरको पीडा सहन नसकेपछि स्थानीयले बेलबखत विरोध गर्छन्। तर, पेलेरै उनीहरूको आवाज दबाउने काम हुन्छ। स्थानीयको मागको सुनुवाइ नै हुँदैन। क्रसरको अनियन्त्रित दोहनका कारण केराबारीको अस्तित्व संकटमा पर्दै गएको स्थानीयको गुनासो छ। 
केराबारी–८ का पूर्ववडाध्यक्ष मनोज खड्का महादेवका देखिने सञ्चालक हुन्। त्यसमा गाउँपालिका अध्यक्ष मिरिङचिङको सेयर रहेको स्थानीय बताउँछन्। शिवम् एग्रिगेटमा नरेन्द्र चापागाईंलगायत र जय माता दी सम्राटमा अरुण गुरुङलगायतको लगानी रहेको गाउँपालिकाले जनाएको छ। 
क्रसर सञ्चालकले पैसा दिने सहमति जनाएपछि मृतक २ नाबालकको शव बुझेर अभिभावकले अन्त्येष्टि गरेका छन्। दुवै शवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो। 

स्थानीय लीलानाथ घिमिरेले क्रसरको चरम लापर्बाहीले घटना भएको बताए। उनका अनुसार क्रसरको कम्पाउण्डबाट केही दिनअघि ‘मिक्स गिट्टी’ निकालिएको थियो। गिट्टी निकाल्दा ४ फिटभन्दा गहिरो खाल्डो बनेको थियो। तर, क्रसरले उक्त खाल्डो नपुरेर त्यत्तिकै छाडेका कारण २ नाबालकले अकालमा ज्यान गुमाएको घिमिरे बताउँछन्। 

खाल्डोको वरिपरि बालुवा, गिट्टी र मिक्स गिट्टी भण्डारण गरेर राखिएको छ। भण्डारणको बीचमा रहेको खाल्डोमा डुबेर २ नाबालकको मृत्यु भएको जानकारी घिमिरेले दिए। ‘क्रसरले अनियन्त्रित हिसाबबाट दोहन गरिरहेका छन्। प्राकृतिक स्रोतमाथि गरेको अत्याचार हेरिनसक्नु छ। क्रसरले ठुल्ठूला भौडी (खाल्डा) बनाएका छन्। नदीजन्य पर्दा उत्खनन् गरेपछि भौडी पुर्दैनन्। चरम लापर्बाहीले घटना भयो,’ उनी भन्छन्। 
घिमिरेका अनुसार राज्य संयन्त्रकै मिलेमतोमा क्रसर सञ्चालकले मनपरी गरिरहेका छन्। खदम खोलालाई नियन्त्रणमा लिएर जथाभावी उत्खनन् गरिएको उनले बताए। अवैध उत्खननले मानव बस्ती, जंगल र प्राकृतिक सम्पदालाई ठूलो असर गरिरहेको घिमिरेको भनाइ छ। 

‘गाउँपालिका अध्यक्ष आफैं क्रसर व्यवसायी हुन्। एउटा क्रसरले लापरबाही गर्दा कारबाही गर्ने आँट गर्दैनन्। किनभने भोलि आफ्नो क्रसरतर्फ पनि औंला उठ्नसक्छ भन्ने उनलाई परेको छ। उनीहरूका बुवा–छोरा नै क्रसरका लगानीकर्ता हुन्,’ अर्का १ स्थानीयले भने। उनका अनुसार स्थानीय सरकार र वनसँगको मिलेमतोमा क्रसरले अवैध उत्खनन तीव्र पारेका छन्। 

प्रचलित कानुनको धज्जी उडाएर प्राकृतिक स्रोतमाथि अनियन्त्रित दोहन भइरहँदा पनि छानबिन र कारबाहीको कुनै प्रक्रिया अघि बढाइएको छैन। स्थानीय सरकारका प्रमुख नै क्रसर सञ्चालक भएपछि कारबाही गर्ने आँट कसैले नगरेको हुनसक्ने सबैको बुझाइ छ। यस विषयमा बुझ्न खोज्दा गाउँपालिका अध्यक्ष मिरिङचिङ सम्पर्कमै आउन चाहेनन्। पटक–पटक गरेको फोन उठाएनन्। मिरिङचिङ एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। स्थानीय तह निर्वाचनमा उनले कांग्रेसका उम्मेदवार एवं कृष्ण क्रसरका लगानीकर्ता रोहित कार्कीलाई पराजित गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.