बाढी र पहिरोले सिन्धुलीमा मात्र २५ विद्यालयमा क्षति, १८ हजार विद्यार्थी प्रभावित

बाढी र पहिरोले सिन्धुलीमा मात्र २५ विद्यालयमा क्षति, १८ हजार विद्यार्थी प्रभावित

सिन्धुली : असोजको पहिलो साता सिन्धुलीका विद्यालयहरूमा प्रथम त्रैमासिक परीक्षा चलिरहेको थियो। प्रथम त्रैमासिक परीक्षा सकिएसँगै दसैँ र तिहारसम्म झण्डै एक महिना विद्यालय बिदा दिने तयारीमा थिए। तर, एक साताअघि आएको बाढी र पहिरको कारण विद्यालय भवनहरू नै तहसनहस भएपछि परीक्षा नसकिंदै यहाँका विद्यालयहरू अनिश्चित बन्द भएका छन्। 

गत १० गतेबाट परेको अविरल वर्षाका कारण रोशी र सुनकोशी नदीमा आएको बाढीका कारण सिन्धुलीका तीनवटा पालिकाका विद्यालयहरू परीक्षा नसकिँदै अनिश्चितकालका लागि बन्द भएका हुन्। बाढीले विद्यालय भवनहरू पूर्णरुपमा क्षति हुँदा जिल्लाको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाका २५ वटा विद्यालयहरूमा क्षति पुगेको छ। तीमध्ये पाँच वटा विद्यालयका सबै भवनहरू पूर्ण रुपमा क्षति पुगेको छ। २० वटा विद्यालयमा आंशिक क्षति भए पनि पठनपाठन गर्न सक्ने अवस्थामा छैनन्। ती विद्यालय र असपासका बस्तीहरूका विद्युत, खानेपानी तथा यातायात सेवा एक सातादेखि अवरुद्ध छन्।

विद्यालय भवनहरूमा क्षति पुग्दा तीनवटा पालिकाका मात्र झण्डै १८ हजार विद्यार्थीहरू प्रभावित भएका छन्। बाढीका कारण सबैभन्दा बढी सुनकोसी गाउँपालिकाका विद्यालय भवनहरूमा क्षति पुगेको बताइएको छ। उक्त गाउँपालिकाका १३ वटा विद्यालय भवनमा क्षति पुगेको हो। 

‘गाउँपालिकाका विभिन्न १३ वटा विद्यालयमा बाढी र पहिरोले क्षति पुर्‍याएको छ। तीमध्ये एउटा विद्यालय पूर्णरुपमा क्षति भएको छ भने अन्य विद्यालयहरूमा समेत पठनपाठन गराउन सक्ने अवस्थामा छैनन्,’ दर्जीले भने।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीका अनुसार सुनकोसी गाउँपालिका ५ मुलकोटको पशुपति आधारभूत विद्यालयका तीनवटै भवन सुनकोशी नदीको डुवानमा परेका छन्। भवनहरू पूर्णरूपमा डुवान हुँदा विद्यालय सञ्चालन अनिश्चित बनेको हो। विद्यालयको एकतलासम्म सुनकोसी नदीको बाढीले पुरेको छ। विद्यालयका फर्निचर, लगायतका प्रशासनिक कागजातसमेत नष्ट भएका छन्। 

यस्तै सुनकोशी गाउँपालिका १ को नेपालथोक आधारभूत विद्यालय, वडा नम्बर ६ को गणेश मावि थुम्का, ज्वालादेबी मावि लगायतका विद्यालयहरुमा क्षति पुगेको छ। सुनकोशी १ दुम्जामा रहेको आदी लिङ्गेश्वर कुशेश्वर महादेव गुरुकुल विद्यालय बाढीको चपेटामा परेको छ। त्यहाँको गुरुकुलमा अध्ययनरत २६ बटुक तथा गुरुहरुसहित रोशी र सुनकोशी नदीको बाढीमा फसेका ३३ जनालाई २५ घण्टापछि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गर्नु परेको थियो।  

यस्तै जिल्लाको गोलन्जोर गाउँपालिका स्थित सुनकोशीगढतीर क्षेत्रका तीनवटा प्राथमिक तहका विद्यालयहरूमा सुनकोशी नदीमा आएको बाढीले पूर्णरुपमा क्षति पुर्‍याएको छ। गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार)का अनुसार गाउँपालिकाको वडा नम्बर १ को आधारभूत विद्यालय च्याकुटारवेसी-३ को आधारभूत विद्यालय मुर्गीवेसी र वडा नम्बर ६ को आधारभूत विद्यालय बलेनी सुनकोशी नदीमा आएको बाढीका कारण डुवानमा पर्दा पूर्णरुपमा क्षति भएको हो।

‘यी विद्यालयको पुनर्निर्माण गर्ने कि नयाँ भवन बनाउनु पर्ने हो एकिन भएको छैन। तर गत शुक्रबारबाट विद्यालय अनिश्चितकालका लागि बन्दगर्नुपर्ने अवस्था आयो,’ उनले भने।

बाढी र पहिरको कारण गाउँपालिकाका अन्य केही विद्यालयहरूमा समेत आंशिक क्षति पुगेको छ। ‘गाउँपालिका स्थित मध्य पहाडी लोकमार्ग र अन्य सहायक सडकहरूमा क्षति पुगेपछि गत शुक्रबारदेखि गाउँपालिकाका सबै विद्यालयहरू बन्द छन्। प्रथम त्रैमासिक परीक्षासमेत अनिश्चित कालका लागि रोकिएका छन्,’ उनले थपे।

यस्तै फिक्कल गाउँपालिकामा बाढी र पहिरको कारण ९ वटा विद्यालयमा क्षति पुगेको छ। तीमध्ये फिक्कल गाउँपालिका ६ रत्नावती स्थित आधारभूत प्रावि तीनखण्डेको भवन पूर्णरुपमा क्षति पुगेको स्थानीय तथा नेकपा एमाले फिक्कल गाउँ कमिटिका सचिव नवराज पहाडीले जानकारी दिए। 

आधारभूत प्रावि तीनखण्डेको भवनमा पनि सनुकोशी नदिमा आएको बाढीले क्षति गरेको छ। ‘उक्त विद्यालयको भवनको एकतलासम्म बाढीले बालुवा र माटो थुपारेर पुरेको छ। अन्य विद्यालयको भवनहरूमासमेत बाढी र पहिरोले क्षति पुर्‍याएको छ। गाउँपालिकाका ८ वटा विद्यालयहरू बाढी र पहिरको जोखिममा छन्। यिनको पुनर्निर्माण र नयाँ निर्माण नगरेसम्म पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था छैन,’ पहाडीले भने।

सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाका विद्यालयहरू एक सातादेखि पूर्णरुपमा बन्द छन्। परीक्षा चलिरहेको समयमा विद्यालय भवनसँगै कतिपय विद्यार्थीहरूको अवाससमेत क्षति भएपछि विद्यार्थीको कापी किताबसमेत नष्ट भएका छन्। 

बाढी र पहिरको कारण तीनवटै पालिकाका विद्यालयका झण्डै १८ हजार विद्यार्थीहरू प्रभावित भएका छन्। विद्यालय भवनहरूमा क्षति भयो, सुनकोसीको दुम्जा, मुलकोट, गोदन्जोरको खुर्कोट, बलेनी,  रत्नावती तथा रामेछापको सित्खा लगायतका क्षेत्रका बस्तीहरु नै बाढीले बगाएपछि शिक्षक र विद्यार्थीहरू नै प्रभावित भएका छन्। ‘घरहरू डुबाउँदा धेरै विद्यार्थीहरूका किताब तथा कपीसमेत नष्ट भएका छन्। अव परीक्षा सँगै विद्यालयहरू कहिलेबाट सञ्चालन गर्न सकिन्छ भन्ने कुरा नै अन्यौंल भयो,’ सुनकोशी गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत दर्जीले भने। 

जिल्लाका कतिपय विद्यालयहरू पुनर्निर्माण नगरी सञ्चालन गर्न सक्ने अवस्थामै नरहेको बताइएको छ। उता जिल्लाको हरिहरपुरगढी गाउँपालिका समेत बाढी र पहिरको कारण प्रभावित गाउँपालिका भए पनि त्यहाँ भने विद्यालय भवनहरूमा भने कुनै पनि क्षति नभएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख यमकुमार आछामीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.