उदयपुरका मुख्य सबै सडक दसैंअघि नै सञ्चालन हुने
उदयपुर : उदयपुरका राजमार्ग र ग्रामीण क्षेत्रका मुख्य सडकहरू दसैंअघि नै सञ्चालन हुने भएका छन्। असोज १२ गतेको अविरल वर्षाका कारण भत्किएका सडकहरू सञ्चालन गर्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको म्यानडेट अनुसार सम्बन्धित क्षेत्रका सबै निकायले तयारी तीव्र बनाएका हुन्।
बैठकले दसैंअघि सबै सडक सुचारु गर्ने र जिम्मेवारी पाएका निकायले चाडपर्वमा समेत आलोपालो गरी सडक मर्मत गर्ने निर्णय गरिएको छ। बैठकले खासगरी मदन भण्डारी, सिद्धिचरण र सगरमाथा राजमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्ने गरी मेसिन र आवश्यक जनशक्ति तयारी अवस्थामा राख्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी हरी प्रसाद घिमिरेले बताए।
त्यसैगरी सगरमाथा राजमार्गको फोक्सीनटारमा लगाइएको पक्की पुल सुनकोशी नदीले बगाएकाले विकल्पमा रुसुवाघाटमा रहेको झोलुङ्गे पुल सञ्चालन गर्ने र त्यहाँसम्म पुग्ने सडक रौतामाई गाउँपालिकाले मर्मत गर्ने निर्णय भएको उनले बताए। बैठकले विषयगत कार्यालयहरू विद्युत प्राधिकरण, खानेपानी तथा सरसफाइ, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, स्वास्थ्य, पूर्वाधार विकास कार्यालय, कृषि, भेटेरिनरी लगायतले मनसुनजन्य विपद्का कारण अवरुद्ध भएको सेवा प्रवाह अविलम्ब सुचारु गर्न पहल गर्ने र क्षतिको विवरण सम्बन्धित पालिकासँग समन्वय गरी संकलन गर्ने निर्णय गरेको प्रजिअ घिमिरेले बताए।
त्यस्तै विपदमा परेकाहरूलाई राहत उपलब्ध गराउन केन्द्र, प्रदेश र स्थानीय तहले माग गरेको खण्डमा जिल्ला प्रशासन कार्यालयले स्थानीय विपद् व्यवस्थापन समितिको निर्णय र प्रहरी सर्जमिन मुचुल्कासहित पठाउने निर्णय भएको समितिका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले बताए।
बैठकले बेलका नगरपालिका-८ स्थित एलकेखोज आसपासका विभिन्न तीन स्थानबाट सप्तकोशी नदीको पानी मानव बस्तीमा प्रवेश गरी धनजनको क्षति भएकाले उक्त स्थानमा सप्तकोशी नदी नियन्त्रणका लागि आवश्यक व्यवस्था गर्न केन्द्रीय विपद् व्यवस्थापन समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत सम्बन्धित निकायमा पहल गर्न सिफारिस गर्ने निर्णय भएको उनले बताए।
त्यस्तै त्रियुगा र बेलका नगरपालिकाका विभिन्न खोलाहरूमा नदीजन्य पदार्थ थुप्रिन गई नदीको सतह उच्च भएर बाढी तथा कटानको जोखिका कारण बस्ती, बजार र सडकमा क्षति हुने सम्भावना देखिएकाले जोखिम मूल्यांकन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नदीजन्य सामग्री स्थानीय तहले व्यवस्थापन गर्ने निर्णय गरिएको छ।
बैठकले साउन १ देखि असोज १५ गतेसम्म विपद् व्यवस्थापन कोषबाट आगलागी, बाढिपहिरो र हावाहुरीबाट पीडित तथा मृतकलाई वितरण गरिएको राहत नौ लाख ८३ हजार खर्च अनुमोदन गरिएको रेग्मीले बताए।