हवाई टिकट लिन रातभर जाग्राम
हुम्ला : राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्लाका नागरिकहरू जहाजको टिकट खरिदका लागि रातभर जाग्राम बस्न थालेका छन्। दशैं- तिहार नजिकिएसँगै जिल्लाबाट बाहिर जान टिकट नपाउँदा सरकारी स्वामित्व रहेको नेपाल वायु सेवा निगमको जहाज टिकटका लागि राति २ बजेदेखि लाइन बस्न बाध्य छन्।
नेपाल वायु सेवा निगमले जहाज उडान कम गरेपछि हुम्लाबाट नेपालगन्ज सुर्खेत झर्न यात्रुलाई सास्ती भएको हो। निजी एयरलाइन्स समिटले दैनिक एक /दुई उडान मात्रै भर्ने गरेको छ। निजी एयरलाइन्स सीता,ताराले नियमित उडान नभरेपछि चाडबाडको बेलामा जिल्लाबाट बाहिरिने यात्रुहरूले थप सास्ती व्यहोर्नु परेको हो।
रातको दुई बजे लाइन बसेर मात्रै जहाजको टिकट पाएको सिमकोट गाउँपालिका-५ भिमबहादुर रोकायाले दुखेसो पोखे। टिकटका लागि नेपाल एयरलाइन्सको कार्यालयमा राति दुई बजेबाट जाग्राम बसेको रोकायाले बताए। जहाजको टिकट नपाएपछि दशैं मनाउन नेपालगन्ज झर्न नपाइएको चंखेली गाउँपालिका-४ का अर्जुन रावलले बताए।
बाढी-पहिरोले अधिकांश सडक भत्काएपछि यातायात सेवा प्रभावित भएको छ। सडक सुचारु नभएपछि दशैंमा घर जानेहरू अलमलमा परेका छन्।