प्रसूति गृहमा नवजात शिशुको वंशानुगत रोगजन्य परीक्षण सेवा सुरू
काठमाडौं : काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य परीक्षण सेवा शुभारम्भ भएको छ ।
आइतबार अस्पतालमा आयोजित एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वंशाणुगत रोगजन्य परीक्षण सेवा शुभारम्भ गरेका हुन्। सो क्रममा मन्त्री पौडेलले हेर्दा सानोजस्तो देखिए पनि यो महत्वपूर्ण प्रयास भएको उल्लेख गरे।
बालबालिकाको मृत्युदर घटाउन र वंशाणुगत रोगको समयमै उपचार गर्नका लागि यो सेवा महत्वपूर्ण रहेको उनको भनाइ छ। प्रसूति अस्पतालमा देशमै ख्याती कमाएको अस्पतालमा अरु सेवा पनि विस्तार गर्ने सोच मन्त्रालयको रहेको उनले जानकारी दिए।
मन्त्री पौडेलले अस्पतालमा जनशक्ति पर्याप्त नभएको गुनासो सुनेको भन्दै आफू मन्त्रालय आउनासाथ त्यसको समाधानका लागि प्रयास थालेको र तत्कालका लागि छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई खटाउने घोषणा गरे।
त्यस्तै मन्त्री पौडेलले अस्पतालमा गर्भवती महिलाका लागि मासिक परामर्शसम्बन्धी बहिरंग सेवाको समेत उद्घाटन गरे। मातृशिशुको स्वास्थ्य सुधारका लागि सेवा बढाउने गरि काम भइरहेको उनले बताए।