सिन्धुपाल्चोकको लार्चामा अस्थायी पुल निर्माण, सवारी साधन चल्न थाले
सिन्धुपाल्चोक : बाढीका कारण भोटेकोशी नदीले सिन्धुपाल्चोकको लार्चास्थित बेलिब्रिज बगाउँदा अवरुद्ध बनेको अरनिको रार्जमार्ग सुचारु भएको छ । लार्चामा अस्थायी पुल निर्माण भएसँगै सवारी साधनहरू सुचारु भएको हो ।
निरन्तर वर्षापछि आएको बाढीले गत शनिबार बेलिब्रिज बगाएको थियो । अरनिको राजमार्गको तातोपानी नाकाअन्तर्गत पर्ने लार्चा खोलामा भोटेकोसी गाउँपालिकाले अस्थायी पुल बनाएको हो । अस्थायी पुल नजिकै सर्वसाधारणलाई पैदल आवतजावत गर्नका लागि बाँसको अर्को अस्थायी पुल समेत बनाइएको छ ।
स्थानीय जनप्रतिनिधिहरूले पक्की पुल निर्माणको लागि सम्बन्धित निकाय गम्भीर हुनुपर्ने जनाएका थिए । बाढीपहिरोका कारण अरनिको राजमार्गका अन्य स्थानमा पनि ठूलो क्षति भएको भन्दै अधिकांश स्थानमा सडक खुलाइसकिएको प्रहरीको भनाई छ। खागदलमा बेलिब्रिज बगाएको स्थानमा पनि नयाँ बेलिब्रिज राख्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ।
यसअघि भूकम्प र बाढीपछि नाका खुलाउन पहल भइरहेका बेला २०७३ असारमा भोटेकोशी बाढीले सडक र सीमा क्षेत्रका बस्ती बगाएको थियो । ०७४ मा लार्चाको मोटरबेल पुल बगाएपछि बेलिब्रिज हालिएको थियो । उक्त लार्चाको बेलिब्रिज हालैको बाढिले बगाएको थियो ।