बार र बेञ्चबीच ठूलो मतभेद छैन, न्यायपालिकालाई समृद्ध बनाउने प्रयत्न गर्छु : नवनियुक्त प्रधानन्यायाधीश
काठमाडौं : नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई गरिमामय र समृद्ध बनाउने प्रयत्न गर्ने बताएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च पुगेर पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश राउतले अबको न्यायपालिका गरिमामय, समृद्ध र निष्ठापूर्ण हुने बताएका हुन्।
उनले सबै न्यायाधीशहरु अहोरात्र खटेर न्यायालयलाई लयमा फर्काएको जिकिर गरे। आफूले बार र बेञ्चबीच ठूलो मतभेद रहेको नठानेको भन्दै उनले आगामी दिनमा बार र बेञ्चबीचको सम्बन्धमा सुधार आउने विश्वास व्यक्त गरे।
छिटो छरितो गुणस्तरीय न्याय, सहज रुपमा न्यायमा पहुँच, न्यायिक सुशासन, जनआस्थामा अभिवृद्धि लगायतका लक्ष्यका साथ आफू अघि बढ्ने उनले बताए।